१ असोज , काठमाण्डौ।
कल्पना गर्नुहोस् त, तपाईं मंगल ग्रहमा उभिएर बिहान सूर्य उदाएको दृश्य हेरिरहनुभएको छ। त्यहाँको आकाश कस्तो देखिएलारु मंगल ग्रहको आकाश पृथ्वीको निलो आकाशभन्दा बिल्कुलै फरक देखिन्छ। नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहबाट यस्तै अनौठा तस्बिरहरू पठाएको छ, जसमा एउटै तस्बिरमा मंगल ग्रहको सूर्योदय र सूर्यास्त देखाइएको छ।
यो विशेष तस्बिर क्युरियोसिटीले मंगल ग्रहमा आफ्नो ५ हजारौँ मार्सियन दिन पूरा गरेको अवसरमा तयार पारिएको हो। तस्बिरमा बिहानको भागलाई निलो र साँझको भागलाई पहेँलो रंगमा देखाइएको छ। मंगल ग्रहबाट हेर्दा सूर्य पृथ्वीबाट देखिनेभन्दा सानो देखिन्छ। त्यहाँ सूर्यास्त र सूर्योदयपछि पनि लामो समयसम्म उज्यालो देखिन सक्छ।

नासाका अनुसार, क्युरियोसिटीले सन् २०२५ नोभेम्बर १८ मा मंगल ग्रहको फरक–फरक समयमा दुईवटा तस्बिर खिचेको थियो। एउटा तस्बिर बिहानको समयमा र अर्को दिउँसो ढिलो खिचिएको थियो। यी दुवै श्वेत–श्याम तस्बिरलाई पछि जोडेर एउटा पानोरमा तयार पारियो।
त्यसपछि बिहानको भागलाई निलो र दिउँसोको भागलाई पहेँलो रंग दिइयो। परिणाम यस्तो देखियो, मानौँ मंगल ग्रहमा एउटै समयमा सूर्योदय र सूर्यास्त भइरहेको छ। तर यो तस्बिर मंगल ग्रहको आकाशको प्राकृतिक रंगको प्रत्यक्ष तस्बिर भने होइन। नासाले तस्बिरमा रहेका सूक्ष्म विवरणहरूलाई अझ स्पष्ट देखाउन कलात्मक रूपमा रंग संयोजन गरेको हो।
मंगल ग्रह सूर्यबाट पृथ्वीको तुलनामा धेरै टाढा छ। त्यसैले मंगलबाट हेर्दा सूर्य पृथ्वीबाट देखिनेभन्दा सानो देखिन्छ । नासाका अनुसार, मंगल ग्रहबाट सूर्यको आकार पृथ्वीबाट देखिने आकारको करिब दुई–तिहाइ मात्र देखिन्छ।तर सबैभन्दा रोचक कुरा सूर्यभन्दा पनि मंगलको आकाश हो। मंगल ग्रहमा सूर्यास्तको समयमा आकाशमा निलो रंग बढी देखिन सक्छ।
यसको कारण मंगल ग्रहको वायुमण्डलमा रहेको अत्यन्तै सूक्ष्म धुलो हो। यो धुलोले निलो प्रकाशलाई सूर्यको दिशातर्फ बढी प्रभावकारी रूपमा देखिने बनाउँछ भने पहेँलो र रातो प्रकाश आकाशभरि बढी फैलिन्छ। यही कारण मंगल ग्रहको सूर्यास्त पृथ्वीको सूर्यास्तभन्दा बिल्कुलै फरक रंगको देखिन सक्छ।
मंगल ग्रहको सूर्यास्तलाई पहिलोपटक नजिकबाट हेर्ने अवसर नासाको वाइकिङ–१ ल्यान्डरले दिएको थियो। सन् १९७६ अगस्ट २१ मा वाइकिङ–१ ले क्राइस प्लानिटिया क्षेत्रमा सूर्यास्त हुनुभन्दा करिब १५ मिनेटअघि तस्बिर खिचेको थियो। त्यतिबेला सूर्य क्षितिजको निकै नजिक थियो।
त्यसैले दिनको समयमा खिचिएका तस्बिरमा स्पष्ट नदेखिने जमिनका धेरै संरचनाहरू पनि देखिएका थिए। मंगलको वायुमण्डलमा रहेको धुलोका कारण सूर्यको प्रकाश फैलिँदा तस्बिरमा देखिएका छायाहरू पनि फरक किसिमका देखिएका थिए। त्यसपछि मंगल ग्रहमा पठाइएका विभिन्न रोबोटिक अभियानहरूले पनि सूर्योदय र सूर्यास्तका तस्बिरहरू पठाउँदै आएका छन्।
सन् २०२३ मा क्युरियोसिटीले मंगल ग्रहमा सूर्यास्त भइरहेका बेला बादलबीचबाट छिर्दै गरेका सूर्यका किरणहरू पनि कैद गरेको थियो। यस्ता किरणलाई ‘क्रेपस्क्युलर रे’ भनिन्छ। मंगल ग्रहमा यस्ता किरणहरू यति स्पष्ट रूपमा देखिएको त्यो पहिलोपटक थियो।
यस्ता तस्बिरहरू केवल सुन्दर दृश्य देखाउनका लागि मात्र खिचिँदैनन्। मंगल ग्रहको बिहान, साँझ र धुमिल समयमा खिचिएका तस्बिरहरूको अध्ययन गरेर वैज्ञानिकहरूले त्यहाँको वायुमण्डलमा रहेको धुलो र बरफयुक्त बादलको उचाइ तथा फैलावट बुझ्ने प्रयास गर्छन्।
मंगल ग्रहको वायुमण्डलमा रहेको धुलो माथिल्लो उचाइसम्म फैलिएको हुन्छ। यही धुलोले सूर्यको प्रकाशलाई छरिरहने भएकाले सूर्य अस्ताइसकेपछि पनि आकाशमा हल्का चमक लामो समयसम्म कायम रहन सक्छ। नासाका अनुसार, मंगल ग्रहमा सूर्यास्तपछि करिब दुई घण्टासम्म यस्तो धुमिल उज्यालो देखिन सक्छ।
सूर्योदयअघि पनि लामो समयसम्म यस्तो प्रकाश रहन सक्छ। अर्थात्, रातो ग्रहमा सूर्यास्त केही मिनेटमै सकिने दृश्य होइन। धुलोले भरिएको मंगल ग्रहको आकाशमा सूर्यको प्रकाश बिस्तारै कमजोर हुँदै जान्छ र त्यसपछि मात्र पूर्ण अँध्यारोमा परिणत हुन्छ।
मंगल ग्रहमा मानिस बस्न सक्ने सम्भावनाबारे वैज्ञानिकहरूले दशकौंदेखि अध्ययन गर्दै आएका छन्। पृथ्वीबाहिर मानव बस्ती बसाउन सकिने सम्भावित स्थानमध्ये मंगललाई महत्वपूर्ण मानिन्छ। तर अहिलेको अवस्थामा मंगलमा मानिसका लागि प्राकृतिक रूपमा बस्न सकिने वातावरण भने छैन।
त्यहाँको वायुमण्डल अत्यन्त पातलो छ र मुख्यतः कार्बन डाइअक्साइडबाट बनेको छ। सतहमा तरल पानी लामो समयसम्म टिक्न सक्दैन भने तापक्रम पनि अत्यन्त न्यून हुन सक्छ। तर मंगलमा पानीको बरफ भने पाइन्छ। वैज्ञानिकहरूले भविष्यमा त्यही पानीलाई पिउन, खेती गर्न, अक्सिजन बनाउन र रकेटको इन्धन उत्पादनमा प्रयोग गर्न सकिने सम्भावना खोजिरहेका छन्।
त्यसैले भविष्यका मानव मिसनका लागि पानीको स्रोत नजिकै अवतरण गर्ने स्थान पहिचान गर्नु महत्वपूर्ण मानिएको छ। मंगलमा मानव जीवन सम्भव बनाउन अहिलेसम्म रोबोटिक मिसनहरूले महत्वपूर्ण काम गरेका छन्। नासाको क्युरियोसिटी र पर्सिभरेन्स रोभरले मंगलको वातावरण, माटो, चट्टान, मौसम र सम्भावित जीवनका संकेतबारे अध्ययन गरिरहेका छन्।
पर्सिभरेन्समा राखिएको मोक्सी उपकरणले मंगलको वायुमण्डलमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन निकाल्ने प्रविधि सफलतापूर्वक परीक्षण गरिसकेको छ । मोक्सीले कुल १२२ ग्राम अक्सिजन उत्पादन गरेको थियो। मानिसलाई मंगलमा पठाउने बाटोमा अझै ठूला चुनौती छन्।
अन्तरिक्ष विकिरण, लामो यात्रा, कम गुरुत्वाकर्षण, धुलोयुक्त वातावरण, अत्यधिक तापक्रम र पृथ्वीबाट ठूलो दूरी प्रमुख जोखिम हुन्। त्यसैले अहिलेको लक्ष्य तत्कालै मंगलमा मानिसको स्थायी बस्ती बसाउनु होइन, मानिस त्यहाँ सुरक्षित रूपमा पुग्न, बस्न, काम गर्न र पृथ्वीमा फर्किन सक्ने प्रविधि विकास गर्नु हो। नासासहित विभिन्न अन्तरिक्ष संस्थाहरू यस दिशामा लगातार अनुसन्धान गरिरहेका छन्।




