१ असोज , काठमाण्डौ।
अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेनटेटिभ्स)ले रुसमाथि थप प्रतिबन्ध लगाउने कडा विधेयक पारित गरेको छ । उक्त विधेयकले रुसी तेल र ग्यास खरिद गर्ने प्रमुख राष्ट्रहरू–विशेष गरी भारत र चीनमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने विशेष अधिकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेको छ ।
बुधबार भएको मतदानमा ’लिन्से ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान बिल’ २०२६’ नाम दिइएको विधेयकको पक्षमा २६२ र विपक्षमा १५९ मत खसेको थियो । गत अगस्ट महिनामा माथिल्लो सदन (सिनेट) ले ८६–११ को भारी बहुमतले पारित गरिसकेको यो विधेयक अब अन्तिम स्वीकृतिका लागि ह्वाइट हाउस पठाइएको छ । राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि यसले औपचारिक कानुनको रूप लिनेछ ।

यो विधेयकको नामाकरण यस नीतिको नेतृत्व गर्ने दिवङ्गत रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको सम्मानमा गरिएको हो । कानुन कार्यान्वयनमा आएपछि रुसी अधिकारीहरू, वित्तीय संस्थाहरू तथा ऊर्जा र रक्षा क्षेत्रमाथिको प्रतिबन्ध थप कडा हुनेछ ।
यसका साथै, पश्चिमी प्रतिबन्धहरू छलेर तेल ओसारपसारमा प्रयोग हुँदै आएका रुसका ’स्याडो फ्लिट’माथि पनि कडा निगरानी र कारबाही गरिनेछ । यता अमेरिकी विधेयकप्रति भारतले कडा आपत्ति जनाएको छ ।

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विज्ञप्ति जारी गर्दै बाह्य दबाबका कारण भारतले आफ्नो ऊर्जा नीति परिवर्तन नगर्ने स्पष्ट पारेका छन्। ’१४० करोड नागरिकको ऊर्जा सुरक्षा र हितलाई सर्वोपरी राखेर निर्णय लिइएको हो, यो निरन्तर जारी रहनेछ,’ उनले भने ।
उक्त विधेयकले रूसबाट तेल खरिद गर्ने शीर्ष पाँच राष्ट्रहरूलाई लक्षित गरेको छ । भारतीय अधिकारीहरूका अनुसार अमेरिकाले जुनसुकै कदम चाले पनि रूससँगको तेल व्यापार नरोकिने बताएको छ। सुरुवाती मस्यौदामा देशको नाम उल्लेख नभए पनि अमेरिकी सांसदहरूले संशोधनमार्फत भारत, चीन, टर्की, युएई, हंगेरीसहित १० देशको नाम किटान गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
विधेयक पारित भएमा भारतबाट अमेरिका निर्यात हुने सामानमा भारी कर लाग्ने जोखिम छ । यद्यपि नयाँ दिल्लीले अमेरिकी नीतिको प्रतिवाद गर्दै आफ्नो राष्ट्रिय हित र ऊर्जा आवश्यकता अनुसार रूसबाट तेल खरिद प्रक्रिया नरोकिने स्पष्ट सन्देश वासिङ्टनलाई दिएको छ ।
उता ट्रम्प क्यानडालाई युरोपेली संघ (ईयू)को एसोसिएट सदस्य बनाउने योजनाप्रति पनि रुष्ट बनेका छन् । ईयूमाथि कडा ‘ट्यारिफ’ लगाउने वा व्यापार रोक्ने उनले चेतावनी दिएका छन् । सञ्चारकर्मीसँग ट्रम्पले क्यानडालाई ईयूको एसोसिएट सदस्य बनाउने कदम आफूलाई ‘शत्रुतापूर्ण कार्य’ लागेमा ईयूमाथि कडा प्रतिबन्ध लगाउने बताएका हुन् ।
उनले क्यानडा ईयूमा सामेल हुने सम्भावनालाई ‘हास्यास्पद’ समेत भने । उनले भने, “यदि, उनीहरूले त्यसो गर्छन् र मलाई यो अलिकति पनि शत्रुतापूर्ण कार्य लाग्यो भने म युरोपमाथि निकै गम्भीर ट्यारिफ लगाउनेछु वा धेरै वस्तुको व्यापार नै रोक्नेछु ।”
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयनले स्ट्रासबर्गस्थित युरोपेली संसद्मा आफ्नो वार्षिक सम्बोधनका क्रममा क्यानडालाई ईयूको पहिलो एसोसिएट सदस्य बनाउने बाटो खोल्ने घोषणा गरेकी थिइन् । ईयूको वर्तमान संरचनामा एसोसिएट सदस्यको व्यवस्था नभएकाले त्यसनिम्ति नयाँ संरचना बनाउनुपर्नेछ ।
ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका–क्यानाडा सम्बन्धमा व्यापारिक तनाव बढेको छ । योसँगै क्यानडा ईयूसित सम्बन्ध विस्तारतर्फ अघि बढेको हो । अमेरिकी ट्यारिफ नीतिबाट प्रभावित क्यानडाले अमेरिकामाथिको निर्भरता घटाउन युरोपलगायत अरू साझेदारसँग व्यापार तथा सुरक्षा सहकार्य बढाउन खोजिरहेको छ ।
गएकोमहिना अमेरिका–क्यानडाबीचको व्यापार वार्ता भंग भएपछि दुई देशबीचको तनाव थप बढेको थियो । यता ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले आगामी साता संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भएमा ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन् ।
अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई लिएर दुई देशबिच तनाव बढिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । लुलाले ब्रासिलियामा आयोजित चुनावी कार्यक्रममा आफू महासभाका क्रममा ट्रम्पसँग कुराकानी गर्न जाने र ‘ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न’ आग्रह गर्ने बताए ।
ब्राजिलको विदेश मन्त्रालयका अधिकारी कार्लोस बिकालो कोजेन्डेले भने दुई नेताबिच विशेष द्विपक्षीय बैठक तय नभएको, तर गत वर्षजस्तै महासभामा भेट हुनसक्ने बताए । अमेरिकाले जुलाईमा ब्राजिलबाट आयात हुने वस्तुमा दुई चरणमा नयाँ शुल्क लगाएपछि लुलाले त्यसलाई आर्थिक दबाबमार्फत चुनाव प्रभावित पार्ने प्रयासका रूपमा आलोचना गरेका थिए ।
ट्रम्प प्रशासनसँगको तनाव सन् २०२५ मा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि चलेको मुद्दालाई लिएर ब्राजिलमाथि पहिलो चरणको शुल्क लगाएपछि सुरु भएको थियो । जाइर बोल्सोनारो ट्रम्पका सहयोगी तथा लुलाका चुनावी प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोका पिता हुन् ।
एएफपीका अनुसार जाइरलाई सत्ता पल्टाउने प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।



