२ असोज , काठमाण्डौ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।

नेपाली सेनाका अनुसार संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेका ६ शव फेला परेका हुन् ।
उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालेको जनाएको छ।

सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ।
उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्कविहीन भएका थिए।
यसअघि नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री–‘ए’ परियोजनाको सुरुङबाट उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको थियो ।
विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको १० दिनपछि सुरुङबाट जीवितै उद्धार गर्न सफलता प्राप्त भएको थियो ।
त्रिशुली थ्री ए परियोजना प्रमुख आवास ओझाका अनुसार सञ्चालनमा रहेको ६० मेगावाटको यो परियोजना बन्द गरी समग्र मर्मत (ओभरहलिङ) को काम भइरहेको थियो ।
त्यसो हुँदा विद्युत् गृहमा नदीबाट पानी छिर्ने सुरुङ बन्द गरिएको थियो । सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ ।
त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत गृहमा नै रहेको अनुमान थियो ।
नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ ।
बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन् ।
प्राधिकरणअन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदारको वेपत्ता छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारीरकामदारहरुको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जिवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए ।
उनका अनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति कर्मचारीरकामदार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाको लागि बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको शुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता भएका कर्मचारी र कामदारको परिवार सरकारको जिम्मेवारी भएको बताए । ‘हामी एउटै परिवार हो । यो पैसाले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लाउने काम गरोस्,’ उनले भनेका छन् ।
आज ६ शव निकालिएसँगै भोटेकोशी बाढीपछि एक हजार ४१६ जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ छन् । फेला परेका शवमध्ये हालसम्म ११० जनाको सनाखत भएको छ ।
सनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये विभिन्न २७ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना छन् ।
बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ९४४ जनाको डीएनए नमूना संकलन गरिएको छ ।
संकलित डीएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् ।
सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।
भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि अझै सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धारकार्यलाई थप तीव्र बनाइएको छ ।
उता रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ ।
सेनाले हवाई तथा जमिन दुवै मार्गबाट उद्धार कार्य जारी राखेको भन्दै पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हवाई साधनमार्फत हालसम्म ४ हजार १८७ जनाको उद्धार गरिएको छ, जसमा ३ हजार ९०८ जना स्वदेशी र २८३ जना विदेशी नागरिक रहेका छन् ।
बाढीबाट क्षति पुगेका जलविद्युत आयोजनाका सुरुङ टनेलहरूमा उद्धार टोलीले विशेष खोजी अभियान चलाइरहेको छ ।
माथिल्लो त्रिशूली–१ को टनेलभित्र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा फेला परेका शव तथा मानव अङ्गहरू निकाल्ने कार्य गरिरहेको छ ।
यस्तै, त्रिशूली–थ्री ‘ए’ (३) को टनेल र पावरहाउस क्षेत्रमा खोजी भइरहेको छ भने त्रिशूली–थ्री ‘बी’ को पावरहाउस क्षेत्रमा तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गर्दा हालसम्म केही फेला नपरे पनि खोजी कार्य जारी राखिएको छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन् ।
फौजले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी र अवरुद्ध सडक तथा पुल सुचारु गर्ने कार्य गरिरहेको छ ।
रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेत लगायतका स्थानहरूमा अस्थायी बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ ।
स्याफ्रुबेँसी क्षेत्रमा तीनवटा समूह परिचालित छन् । सडक सम्पर्क विच्छेद भएका दुर्गम स्थान तथा साँघुरा टनेलहरूमा ड्रोन प्रविधिको प्रयोग गरी रेकी गर्ने र राहत सामग्री ढुवानी गर्ने कार्य भइरहेको सेनाले जनाएको छ ।
साथै, पीडित परिवारलाई धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक सहयोग र आयोजनाका उपकरण ढुवानीमा समेत सेनाले सहजीकरण गरिरहेको छ ।
सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज थप २८ जनाको उपचार गरिएको छ । योसँगै हालसम्म उपचार सेवा लिनेको सङ्ख्या ३ हजार ९६६ पुगेको छ ।
यसैबीच, बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित शीतल बजारको सडक खुलाउने प्रयास जारी छ ।
यस्तै, बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनासहितका सुरक्षा निकायहरू तीव्र रूपमा जुटिरहेका छन् ।



