काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन भौतिक, डिजिटल र ऊर्जा सञ्जालको विस्तार आवश्यक रहेको बताएका छन्।
भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले नेपाल–भारत साझेदारीलाई समयसापेक्ष बनाउन दुवै देशबीच कनेक्टिभिटी र ऊर्जा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। सम्बोधनका क्रममा उनले नेपालले हालै भोगेको प्राकृतिक विपद् र त्यसबाट भएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटका बेला भारत सरकार र भारतीय जनताले गरेको सहयोगप्रति आभार व्यक्त गरे। विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’ अवधारणा कार्यान्वयन गरिरहेको उनले जानकारी दिए।

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले यसको ठूलो असर खेपिरहेको उल्लेख गर्दै वाग्लेले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा नेपाल र भारतले मिलेर अघि बढाउनुपर्ने बताए। परम्परागत सहायता प्रणालीभन्दा माथि उठेर विकास वित्त, हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।
व्यापार र लगानी विस्तारमा जोड

अर्थमन्त्री वाग्लेले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गरी व्यापार घाटा न्यूनीकरण तथा गैरभन्सार अवरोध हटाउनुपर्ने बताए।नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार भइरहेको उल्लेख गर्दै उनले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधिको क्षेत्रमा भारतीय लगानी बढाउन आह्वान गरे।

सुशासन र आर्थिक रूपान्तरण सरकारको प्राथमिकता
वाग्लेले वर्तमान सरकार नेपाली जनताको बलियो जनादेशबाट बनेको उल्लेख गर्दै तीव्र विकास र आर्थिक रूपान्तरणको जनआकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
“हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,” उनले भने, “वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन कायम गर्न दृढ छ। पारदर्शी र जवाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो।”
गोलमेच संवादमा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको सहभागिता थियो। कार्यक्रमको आयोजना स्थल इन्डिया इन्टरनेसनल सेन्टरका अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्व विदेश सचिव श्याम शरणले संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्यसभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरण, अर्थशास्त्री प्रा. डा. दीपक नायर, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टीको विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत सहभागी थिए।
छलफलका क्रममा सहभागी भारतीय विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाबारे धारणा राखेका थिए। सहभागीहरूले नेपाल–भारतबीचको साझा समृद्धिका लागि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी र पारस्परिक विश्वासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।




