काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोनमार्फत विशेष छलफल गरेका छन्। मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल भएको हो।
प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारेका छन्। यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिका कारण नेपाली श्रमिक समस्यामा परेको उल्लेख गर्दै उनले यसको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताए। प्रधानमन्त्री शाहले मलेसियाका श्रममन्त्रीलाई नेपाली श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बसेर सिन्डिकेट तथा बिचौलिया प्रथा अन्त्यका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको बताएका छन्। उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएका छन्। इब्राहिमले यस्तो गलत र शोषणकारी परिपाटी आफूलाई पनि स्वीकार्य नभएको भन्दै समस्या समाधानका लागि नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्ने बताएकाे प्रधानमन्त्री शाहकाे सचिवालयले जानकारी दिएकाे छ ।




