देशभर २८ खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नति गरिँदै

९ असोज ८३, शुक्रबार
Share this
767shares

काठमाडौं, असोज ८ । सरकारले देशभर फुटबल, क्रिकेट र इन्डोर खेलका २८ वटा खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ। खेलकुद पूर्वाधार निर्माण, सहजीकरण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउने उद्देश्यले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले हस्ताक्षर गरेका छन्।

Advertisement

सम्झौताअनुसार पूर्वाधार विकास मन्त्रालयले खेलकुद संरचना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ भने निर्माण सम्पन्न भएका संरचनाको सञ्चालन राष्ट्रिय खेलकुद परिषद्ले गर्नेछ। निर्माण सम्पन्न भएका खेलकुद पूर्वाधारको स्वामित्व हस्तान्तरण र सञ्चालनको स्पष्ट मोडालिटी नहुँदा विगतमा कतिपय संरचना प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थालाई ध्यानमा राखेर परिषद्सँग समन्वय गरी नयाँ पूर्वाधार निर्माणको काम अघि बढाउन लागिएको मन्त्रालयले जनाएको छ।

योजनाअन्तर्गत देशका प्रमुख शहरमा रहेका तथा प्रस्तावित १३ वटा फुटबल रंगशालाको निर्माण तथा स्तरोन्नति गरिनेछ।झापाको भद्रपुरस्थित मेची रंगशाला र आदिवासी जनजाति रंगशाला, पर्साको वीरगञ्जस्थित नारायणी रंगशाला, चितवन रंगशाला, बाँकेको नेपालगञ्ज रंगशाला, सुर्खेत रंगशाला, कैलालीको धनगढी रंगशाला, काठमाडौंको दशरथ रंगशाला, कास्कीको पोखरा रंगशाला, रुपन्देहीको बुटवल एन्फा कम्प्लेक्स, मोरङको शहीद रंगशाला, सुनसरीको धरान रंगशाला तथा बाँकेको कोहलपुर फुटबल रंगशाला योजनामा समेटिएका छन्।

Advertisement

क्रिकेटतर्फ सातै प्रदेशलाई समेटेर आठ वटा रंगशाला निर्माण तथा स्तरोन्नति गरिनेछ।यसअन्तर्गत जनकपुरको रामजानकी क्रिकेट रंगशाला, विराटनगरको बैजनाथपुर क्रिकेट रंगशाला, बाँकेको कोहलपुरस्थित शहीद सुलभ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सुर्खेतको चाँदनी चोक क्रिकेट रंगशाला, धनगढीको फाप्ला क्रिकेट रंगशाला, काठमाडौंको तल्लो मुलपानी क्रिकेट रंगशाला, कास्कीको पोखरा क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला रहेका छन्।प्रदेशस्तरमा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै करिब ८ हजार दर्शक क्षमताका फ्लडलाइटसहितका क्रिकेट पूर्वाधार विकास गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।

भलिबल, बास्केटबल, कबड्डीलगायतका खेलका फ्रेन्चाइज प्रतियोगिता सञ्चालन गर्न सकिने गरी सातै प्रदेशमा बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गरिनेछ। योजनाअनुसार कोशी प्रदेशमा विराटनगर, मधेश प्रदेशमा सिरहाको लहान, बागमती प्रदेशमा काठमाडौं, गण्डकी प्रदेशमा पोखरा रंगशाला, लुम्बिनी प्रदेशमा बुटवल, कर्णाली प्रदेशमा कर्णाली प्रदेश रंगशाला तथा सुदूरपश्चिम प्रदेशमा फाप्ला खेलग्राममा इन्डोर स्टेडियम निर्माण गर्ने योजना छ।

Advertisement

देशका प्रमुख शहर र सातै प्रदेशलाई समेटेर निर्माण तथा स्तरोन्नति गर्न लागिएका यी खेलकुद पूर्वाधारले व्यावसायिक खेलकुदको विकासमा योगदान पुर्‍याउने सरकारको अपेक्षा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top