९ असोज , काठमाण्डौ।
एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमै प्रभावशाली जित दर्ता गरेको छ। शुक्रबार भएको समूह चरणको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी हुँदै पूरा गरेको हो। नेपाललाई जित दिलाउन सन्दिप जोराले ३४ र रोहित पौडेलले ३३ रनको योगदान गरे। कुशल भुर्तेल शून्य रनमै आउट भए भने आसिफ शेख पनि २ रन बनाएर पेभेलियन फर्किए।



त्यसपछि आएका जोराले ३५ बलमा ३४ रन बनाएर रनआउट हुनपुगे। कुशल मल्ल पनि ९ रनमा रनआउट भए। रोहितले ३२ बलमा ३३ रन हाने। दीपेन्द्र सिंह ऐरीले १८ बलमा १५ रन जोडे भने गुल्सन झाले १ बलमा १ रन लिँदै नेपाललाई जित दिलाए। नेपाललाई अफगानिस्तानले ९ अतिरिक्त रन दियो।
बलिङतर्फ अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान १ विकेट झारे। अफगानिस्तानले सुरुवात राम्रो गर्न सकेन। पहिले ब्याटिङ गरेको अफगानिस्तानका ओपनर मोहम्मद अक्रमले ८ बलमा २ रन मात्र बनाउँदा अर्का ओपनर हसन आइसाखिलले २ बल खेलेर शून्य रनमा आउट भए।
उसका लागि करिम जनत ९, फैजल खान अहमदजाइ ३०, नजिबुल्लाह जाड्रान ३०, मोम्मद इशकले ७ रनको योगदान गरे। नटआउट नानगेयलिय खानले १७ रन तथा अब्दुल्लाहक अहमदजाइले १ रन बनाए। नेपालले ६ अतिरिक्त रन दिएको थियो। बलिङतर्फ नेपालका ललित राजवंशी र कुशल भुर्तेलले ३ र ४ विकेट लिए।

कसिलो बलिङ गरेका ललितले १३ रन मात्र खर्चिए भने भुर्तेलले २१ रन दिए। अब नेपालले भोलि जापानसँग खेल्नेछ। अफगानिस्तानले यसअघि जापानलाई पराजित गर्दै २ अंक जोडिसकेको थियो। नेपालले पनि जितसँगै समूह ‘ए’ मा २ अंक प्राप्त गरेको छ। समूहमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्।
नेपालले एसियाडमा क्रिकेटबाट पदकको आशा गरेको छ । विगतका तीन संस्करणमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न नसकेको नियतिलाई तोड्दै नेपालले यसपटक कम्तीमा सेमिफाइनल यात्रा तय गरेर ऐतिहासिक पदकको ढोका उघार्ने स्पष्ट लक्ष्य बनाएको छ ।
सिंगापुरमा सम्पन्न एसियाली खेलकुद छनोट प्रतियोगितामा च्याम्पियन बनेर मुख्य प्रतियोगितामा स्थान पक्का गरेको नेपाल यसपटक समूह ‘ए’ मा छ । समूहको सबैभन्दा चुनौतीपूर्ण प्रतिद्वन्द्वी अफगानिस्तान हो । अर्कोतर्फ, समूहको अर्को टोली जापान भने नेपालका लागि अझै ताजा प्रतिद्वन्द्वी हो ।
टी–२० विश्वकपको ग्लोबल छनोटका क्रममा नेपालले हालै मात्र जापानको सामना गरिसकेकाले उसको शक्ति र कमजोरीसँग नेपाली टोली राम्रोसँग परिचित छ । सामथ्र्य, रणनीति र विगतको अनुभवका आधारमा समूहका दुवै टोली नेपालका लागि नयाँ होइनन् ।

यद्यपी अफगानिस्तानले मुख्य सिनियर टिम पठाएको छैन, तर पनि अफगान टोली बलियो नै छ । जापानले भने नियमित टोली मैदानमा उतार्दै छ । नेपालले एक खेल मात्र जित्दा पनि क्वाटरफाइनलको यात्रा लगभग निश्चित हुनेछ । कप्तान दीपेन्द्रसिंह ऐरी पदक जित्ने लक्ष्यका साथ नै जान लागेको बताउँछन् ।
‘सबैजना अनुभवी छन्, टिम पनि राम्रो छ, प्राक्टिसहरू पनि राम्रो नै भएको छ । यसपटक मेडल लिएर आउने लक्ष्यमा छौं’ कप्तान दीपेन्द्रले भनेका छन् । प्रशिक्षक स्टुअर्ट लले जापानमा राम्रो खेल प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन् ।
‘हामी त्यहाँ उपस्थितिका लागि मात्र होइन, हाम्रो स्तर कस्तो छ भन्ने कुरा प्रमाणित पनि गर्न जाँदेछौं । हामीले उत्कृष्ट टिमलाई पनि हराउनुपर्ने छ त्यही हिसाबले उच्च मनोबलका साथ खेल्नेछौं’ प्रशिक्षक लले भने । सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा नेपालले समूह चरणमा कुवेत र माल्दिभ्सलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
क्वाटरफाइनलमा अफगानिस्तानसँग नेपाल आठ रनले पराजित भयो । अफगानिस्तानले दिएको १२० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १११ रन मात्रै बनाउन सकेको थियो । त्यसपछि सन् २०२२ मा चीनमै भएको एसियाडमा नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
तर अन्तिम आठको खेलमा भारतसँग पराजित हुँदै नेपालको यात्रा सकिएको थियो । तीन सहभागिता, तीनपटक क्वाटरफाइनलसम्मको यात्रा । त्यसैले यसपटक नेपालको पहिलो लक्ष्य यही सीमालाई तोड्नु हुनेछ। कप्तान दीपेन्द्रले यसपटक कुनै पदक लिएर आउने सोच राखेको बताएका छन् ।
‘हामीले राम्रो खेलिरहेका छौं । गोल्ड नै जित्न सकिएन भनेपनि अन्य कुनै पदक लिएर आउने लक्ष्य छ’ दीपेन्द्रले भने । प्रशिक्षक लले क्वाटरफाइनल भन्दा अगाडिको यात्रा चुनौतीपूर्ण हुने तर ठूला टिमका अगाडि आफ्नो क्षमता देखाउने अवसर पनि त्यही हुने बताए ।

‘टी–२० क्रिकेटमा जसले पनि राम्रो नतिजा ल्याउन सक्छ, त्यस दिनमा हामीले उत्कृष्ट चाहिँ खेल्नैपर्ने हुन्छ । अगाडि बढ्न उत्कृष्ट टिमहरूलाई हराउनुपर्ने नै छ’ लले भनेका छन् । एसियाली खेलकुदमा नेपालको क्रिकेट यात्रा अहिलेसम्म क्वाटरफाइनलमै रोकिँदै आएको छ। यसपटक भने त्यो इतिहास बदल्ने अवसर नेपालसामु छ।
यसैबीच जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएसँगै नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको हो ।
यसअघि सन् २०२३ मा चीनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाल भारतसँग नै सेमिफाइनलमा पराजित भएको थियो । आजको सेमिफाइनल खेलमा भारतले पहिलो हाफमा ३१–१७ अङ्कको जित निकालेको थियो ।
भारतले दोस्रो हाफमा १७–७ अङ्कले अग्रता लियो । नेपाली महिला कबड्डी टोलीले एसियाडमा पदक जितेको छ । बिहीबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै सेमिफाइनलको यात्रा तय ग¥यो । सेमिफाइनल प्रवेशसँगै नेपालले कांस्यपदक पक्का ग¥यो ।
कबड्डी सेमिफाइनलमा पराजित दुवै टोलीलाई कांस्यपदक दिने प्रचलन छ । यसअघि नेपाली टोलीले १९औँ एसियाली खेलकुदमा पनि कांस्यपदक जितेको थियो । यो संस्करणको सेमिफाइनलमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।
कांस्यबाट माथि बढ्न नसके पनि नेपालले आफ्नो विरासत भने जोगाएको छ । महिला कबड्डी लगातार दुई एसियाली खेलकुदमा पदक जित्ने नेपालको पहिलो र एक मात्र टिम गेम्स हो । यसैले नेपाली टिम गेम्समा महिला कबड्डीको महत्त्वपूर्ण स्थान छ ।
एसियाली कबड्डी प्रतियोगितामा पनि नेपालले कांस्यपदक जितेको थियो । त्यतिबेला नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पछिल्लो समय म्याच एक्स्पोजर पाइरहेकाले नेपाली प्रदर्शनमा सुधार भइरहेको छ । टोलीले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई प्रमाणित गर्दै आएको छ ।



