आजबाट सुरु भयो सोह्र श्राद्ध, तिथिमा छ गडबढ

११ असोज ८३, आइतबार
Share this
787shares

११ असोज , काठमाण्डौ ।

Advertisement

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ।

प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।

Advertisement

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउछन्।

Advertisement

सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए। जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउँछन्। कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्।

सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ।

कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राध्यापक डा. भट्टराईले जानकारी दिए।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।

सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए।

असोज ११ गते प्रतिपदा, १२ गते द्वितीया, १३ गते तृतीया र १४ गते चतुर्थी श्राद्ध हुनेछ। असोज १५ गते पञ्चमी तथा षष्ठी, १६ गते सप्तमी, १७ गते अष्टमी र १८ गते नवमी श्राद्ध परेको छ। त्यस्तै, असोज १९ गते दशमी, २० गते एकादशी, २१ गते द्वादशी तथा त्रयोदशी, २२ गते चतुर्दशी र २३ गते महालय अर्थात् अमावस्या श्राद्ध हुनेछ।

असोज २४ गते औँसी श्राद्धसँगै सोह्र श्राद्धको क्रम समापन हुनेछ। यस वर्ष पञ्चमी र षष्ठी तथा द्वादशी र त्रयोदशी एकै दिन परेको छ। त्यसैले सम्बन्धित परिवारले आफ्नो पितृको तिथि र पारिवारिक परम्पराअनुसार श्राद्ध कर्म गर्नुपर्ने हुन्छ।

सोह्र श्राद्धमा दिवंगत आफन्तको मृत्यु भएको तिथिअनुसार श्राद्ध गर्ने परम्परा प्रमुख मानिन्छ। यही कारण एउटै परिवारका सदस्यको श्राद्धसमेत फरक–फरक दिन पर्न सक्छ। तिथिको जानकारी नभएको अवस्थामा वा विशेष परिस्थितिमा भने पारिवारिक परम्परा र धार्मिक मान्यताअनुसार श्राद्ध गर्ने चलन छ।

पूर्णिमा श्राद्धका लागि भने अष्टमी, द्वादशी र औँसीमध्ये कुनै एक दिन श्राद्ध गर्न शास्त्रसम्मत हुने उल्लेख गरिएको छ। त्यसैले श्राद्धको दिन निर्धारण गर्दा केवल अंग्रेजी मिति हेर्नुभन्दा पितृको मृत्यु तिथि, स्थानीय पञ्चाङ्ग र परिवारले मान्दै आएको धार्मिक परम्परालाई आधार बनाउनु महत्वपूर्ण हुन्छ।

सोह्र श्राद्धलाई पितृप्रति कृतज्ञता, स्मरण र श्रद्धा व्यक्त गर्ने समयका रूपमा लिइन्छ। यस अवधिमा तर्पण, पिण्डदान र सिदादानलगायतका कर्म गरिन्छन्। धार्मिक विश्वासअनुसार यस्ता कर्मबाट पितृप्रति सम्मान प्रकट हुने र पितृको आशीर्वाद प्राप्त हुने मान्यता छ।

सोह्र श्राद्धको पहिलो दिन कुश, तिल, जौ तथा द्रव्य प्रयोग गरी ऋषिमुनिप्रति श्रद्धा प्रकट गर्दै ‘अगस्त तर्पण’ गर्ने परम्परासमेत रहेको बताइन्छ। त्यसपछि दिवंगत पितृको तिथिअनुसार श्राद्ध कर्म गरिन्छ। पितृ पक्षका अवसरमा जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीसहित देशका विभिन्न पवित्र जलाशयमा तर्पण र श्राद्ध गर्ने श्रद्धालुको भीड लाग्ने गर्छ।

विशेषगरी मिथिला संस्कृतिमा पितृप्रतिको श्रद्धा र श्राद्ध कर्मलाई महत्वपूर्ण धार्मिक परम्पराका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार पितृको सम्मानमा गरिने कर्मबाट पितृप्रति कृतज्ञता व्यक्त हुने र उनीहरूको आशीर्वाद प्राप्त हुने विश्वास छ।

श्राद्धको विधि, तिथि वा दिनबारे अन्योल भएमा भने स्थानीय पञ्चाङ्ग तथा सम्बन्धित पुरोहित वा धार्मिक जानकारको परामर्श लिनु उपयुक्त हुन्छ। पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ। ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top