२३ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदान भइरहेको छ । बिहीबारका लागि तय गरिएको मतदान आज भएको हो । महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएकामा विहानैदेखि उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ।
बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । शुक्रबार साँझ ५ बजेसम्म मतदानको सबै प्रक्रिया पूरा हुने दाबी गरिएको छ । मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

शुक्रबार मतदान भएपछि मतपेटिकाहरू मतगणनाका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेमा लगिनेछ । पार्टी कार्यालयमा १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने समितिको तयारी छ । मतगणनाका लागि पाँचसय कानुन व्यवसायी तयारी अवस्थामा राखिएको छ ।
निर्वाचन समितिले बिहीबार साँझ मात्र मतपत्र छपाइको काम सकिएको जनाएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, महाधिवेशनमा ८५० जनाले मनोनयनपत्र दर्ता गराएका थिए ।

उनीहरूको उमेदवारीको वैधता परीक्षण गर्न धेरै समय लागेकाले मतपत्र छपाइमा ढिलाइ भएको हो । कुल २३ वटा मतपत्र डिजाइन गर्दा जम्मा एक लाख ८० हजार आवश्यक पर्ने भए पनि समितिले दुई लाख प्रति मतपत्र छापेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताएका छन् । नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अनुसार नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आज सकिनु पर्ने हो ।
गत आइतबार असोज १८ गतेदेखि काठमाडौँको खुलामञ्च र राष्ट्रिय सभागृहमा चलिरहेको महाधिवेशनमा फितलो व्यवस्थापनका कारण बिहीबार आगामी ४ वर्षे कार्यकालका लागि कार्यसमिति चयन गर्ने निर्वाचन पनि हुन सकेन् ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो । अघिल्ला निर्वाचनमा जस्तै हुन्थ्यो भने बुधबार मतदान हुन्थ्यो तर यो पटक एक दिन प्रचार प्रसारका लागि भन्दै समय राखियो र हिजो बिहान १० बजेबाट मतदानको समय निर्धारण गरियो ।
मतदान गर्न पाउने आसमा मतदानका लागि निर्धारण गरिएका राष्ट्रिय सभा गृह र खुलामञ्चमा प्रतिनिधिहरू बिहानै उपस्थित भएका थिए । १० बजे तयारी नपुगेको भन्दै दिउँसो १ बजेसम्मका लागि सारियो ।
त्यसपछि २ बजे, साढे २ बजे हुँदै शुक्रबार बिहान ७ बजेसम्मका लागि मतदानको समय सारिएपछि महाधिवेशन स्थलमा रहेका प्रतिनिधिहरू निराश देखिन्थे । बुधबार राति प्रकाशित नामावलीअनुसार सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा प्रकाशन गरेको नामावलीअनुसार उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी छ।
कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्य गरी १४३ पदका लागि निर्वाचन हुँदै छ। शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गराएकामा ५५ जनाले मनोनयन फिर्ता गरेका छन्। उपसभापति दुई पदका लागि ७जनाले उमेदवारी दर्ता गराएका निर्वाचन समितिले बताएको छ ।
डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उपसभापति खुलामा उमेदवारी दर्ता गराएका हुन् । उपसभापति समावेशीमा पाँचजनाको उमेदवारी दर्ता भएको छ ।
विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले उमेदवारी दर्ता गराएका छन् । कांग्रेसले समावेशीमा एकजना उपसभापति रहने व्यवस्था गरेको छ । महामन्त्री महिलातर्फको एक पदका लागि तीनजनाले उमेदवारी दर्ता गराएका छन् ।
महामन्त्री महिलामा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय डिनाले उमेदवारी दर्ता गराएका हुन् । महामन्त्री खुला दुई पदका लागि आठजनाको उमेदवारी दर्ता भएको छ । महामन्त्री खुलातर्फ शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज, घिमिरे, अमरसिंह पुन, उदयशमसेर राणा र सन्तोष उपाध्यायले उमेदवारी दर्ता गराएका छन् ।
सहमहामन्त्रीमा खसआर्यतर्फ एक पदका लागि तीनजनाले मानोनयन दर्ता गराएका छन् । खसआर्यबाट सहमहामन्त्रीमा जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले मनोनयन दर्ता गराएका छन् । आदिवासी जनजातिबाट सहमहामन्त्रीमा दुईजनाको मनोनयन दर्ता भएको छ ।
एक पदका लागि बहादुरसिंह लामा र तारामान गुरुङले मनोनयन दर्ता गराएका हुन् । मधेसीबाट सहमहामन्त्रीमा आठजनाको मनोनयन दर्ता भएको छ । मधेसीतर्फ महेन्द्र यादव, अजय चौरासिया, नागिना यादव, किरण यादव, अभिसेक प्रताप साह, रामपल्टन साह, मनिष कुमार मिश्र र मुक्तकुमारी यादवले मनोनयन दर्ता गराएका छन् ।
दलित एक सहमहामन्त्रीका लागि चारजनाको मनोनयन दर्ता भएको छ । दलित सहमहामन्त्रीका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् । थारुबाट तीनजनाको मनोनयन दर्ता भएको छ ।
थारुबाट सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले मनोनयन दर्ता गराएका छन् । अल्पसंख्यक÷अपांगताबाट तीनजनाले मनोनयन दर्ता गराएका छन । एक पदका लागि नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले मनोनयन दर्ता गराएका हुन् ।
मुस्लिमबाट तीनजनाको मनोनयन दर्ता भएको छ । एकपदका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानले मनोनयन दर्ता गराएका हुन् । खुलामा सातजनाको मनोनयन दर्ता भएको छ ।
अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले मनोनयन दर्ता गराएका छन् । पिछडिएको क्षेत्रतर्फ पनि सातजनाको उमेदवारी परेको छ ।
एक पदका लागि कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले मनोनयन दर्ता गराएका हुन् । सहमहामन्त्री महिलामा दुईजनाको मनोनयन दर्ता भएको छ ।
महिला सहमहामन्त्रीमा एक पदका लागि नानु बस्तोला र प्रतिमा गौतमले मनोनयन दर्ता गराएका हुन् । सभापतिमा खड्गीको उम्मेदवारी रहे पनि थापा निर्वाचित हुने निश्चित छ। निवर्तमान सभापति शेरबहादुर देउवाको असहमतिका बाबजुद गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाविरुद्ध खड्गीको उम्मेदवारी राजनीतिक उपस्थिति जस्तो मात्र देखिन्छ।
१५ औँ महाधिवेशनमा सभापति लड्ने लामो तयारी गरेका नेता शेखर कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काले महाधिवेशन बहिष्कार गरेपछि थापा बिनाचुनौती सभापतिमा दोहोरिने पक्का भयो।
महाधिवेशन बाहिर रहेका पूर्वउपसभापति खड्काले आफ्नो टिमलाई अहिले थापाकै नेतृत्वमा व्यवस्थापन गर्न खोजेको चर्चा कांग्रेस वृत्तमा छ। समावेशी उपसभापतितर्फ चौधरी र मन्सुरबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
पछिल्लो समय उनीहरू दुवै जना सभापति थापाका विश्वासपत्र र बलिया सारथी हुन्। उद्योगपति चौधरी १४ औँ महाधिवेशन र विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए भने मन्सुर सहमहामन्त्री थिए। परियार १४ औँ महाधिवेशनमा दलितबाट सहमहामन्त्री बनेका थिए भने गुरुङ केन्द्रीय सदस्य थिइन्।
यादव र कर्ण भने अहिलेसम्म केन्द्रीय कार्यसमितिमा प्रवेश गरिसकेका छैनन्। नेविसंका पूर्वअध्यक्ष कर्ण युवा पंक्तिमा लोकप्रिय छन् भने यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन्। महामन्त्रीद्वय प्रदीप पौडेल र गुुरुराज घिमिरेले पनि थापाकै नेतृत्वमा १५ औँ महाधिवेशनबाट अगाडि बढ्ने नीति लिए।
महामन्त्री पौडेल, महर, राणा, घिमिरे र शर्माबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। पौडेल र घिमिरे महामन्त्रीमा दोहोरिने दौडमा छन्। १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित पौडेल विशेष महाधिवेशनबाट चुनिएका थिए। नेविसंघका पूर्व अध्यक्ष पौडेल महामन्त्रीमा बलिया उम्मेदवार हुन्।
यस्तै नेविसंघका पूर्वअध्यक्ष घिमिरेलाई सुनिल शर्माले चुनौती दिएका छन्। मोरङ निवासी घिमिरेलाई सोही जिल्लाका शर्माको बलियो उपस्थितिका कारण कोसी प्रदेशको मत काटिने चिन्ता छ। महर, राणा र शर्मा पौडेल र घिमिरेबाट महामन्त्री पद खोस्ने रणनीतिमा छन्।
मेडिकल व्यवसायी समेत रहेका शर्मा महामन्त्रीका उम्मेदवारमध्ये सामाजिक सञ्चालमा धेरै चर्चा हुने पात्रका रूपमा चिनिन्छन्। उपसभापति र महामन्त्रीमा सभापति थापा र वरिष्ठ उपसभापति शर्माको आन्तरिक हस्तक्षेप नभए महामन्त्रीमा अप्रत्यासित नतिजा आउन सक्ने कतिपय प्रतिनिधिको अड्कल छ।
सोमबारको बन्दसत्रबाट पारित संशोधित विधान अनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।
त्यस्तै, महामन्त्री ३ जना रहने छन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना हुनेछन् । प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् ।
केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहनेछन् । महिला खुलामा १५ जना हुनेछन् । हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन् । साथै, उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ ।
यस्तै, दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन् । जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन्, भने खस आर्यबार्ट ८ महिलासहित १८ जना हुनेछन् । मधेशीतर्फ पाँच महिलासहित १३ जना हुनेछन् ।
यस्तै, जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन् । पिछडिएको बर्गबाट ३ जना हुनेछन् । थारूबाट २ महिलासहित ६ जना रहेका छन् । श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन् ।
साथै, सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहनेछन् । यस्तै, अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन् । केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनीत गर्नेछ ।





