२३ असोज , काठमाण्डौ ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीको बीमा कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १४ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर ।
असोज २२ गते दर्ता भएको मुद्दामा प्रतिवादीहरूबाट कुल ३ अर्ब ४६ करोड २४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो मागदाबी ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बीमासम्बन्धी कसुरमा १ अर्ब ६९ करोड ८४ लाख ३५ हजार ४४९ रुपैयाँ र सम्पत्ति शुद्धीकरणतर्फ १ अर्ब ७६ करोड ४० लाख रुपैयाँ बिगो माग्यो ।
प्रतिवादीहरूको बैंक खातामा रहेको रकम तथा नाममा रहेको सम्पत्ति जफत गर्नसमेत माग ।

मुद्दामा व्यवसायी दीपक भट्ट, हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक तथा पूर्वपदाधिकारी, तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल र चन्द्रशेखर राममूर्तिसहित विभिन्न व्यक्ति तथा कम्पनीलाई प्रतिवादी बनाइयो ।
विभागको आरोपअनुसार हिमालयन रि–इन्स्योरेन्सबाट एलिएन्ट इन्स्योरेन्स ब्रोकर्सलाई पुनर्बीमा ब्रोकर कमिसन तथा पेस्कीका नाममा रकम भुक्तानी गरी केही रकम कृत्रिम कारोबारमार्फत अन्यत्र पठाइएको थियो।
कम्पनीबाट भुक्तानी भएको रकमको वास्तविक स्रोत लुकाउने र सम्पत्ति खरिदमा प्रयोग गर्ने कार्य भएको विभागको निष्कर्ष ।
दीपक भट्टसँग मात्रै बीमा कसुर र सम्पत्ति शुद्धीकरणतर्फ गरी ४५ करोड ७ लाख ५ हजार ६४ रुपैयाँ बिगो मागदाबी ।





