२८ असोज , काठमाण्डौ ।
सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने ।
यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले सूचना जारी गरी चाडपर्वको समयमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएर बिरामी भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाए।

सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता र खाजा खुवाउने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका र न्यून गुणस्तरका खाद्यवस्तु उपलब्ध गराइने भन्दै व्यापक जनगुनासो आएपछि विभागको निर्देशन जारी ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकको निर्णयअनुसार चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई लक्षित गरी सूचना जारी ।

विभागका अनुसार चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने स्थानलाई प्राथमिकता दिनुपर्ने ।
सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रु रोक्नुपर्ने निर्देशनमा उल्लेख ।
खानाको स्वच्छता तथा गुणस्तरमा कमजोरी वा मूल्यमा ठगी भएमा यात्रुलाई तत्काल गुनासो गर्न आग्रह ।
समस्या देखिए नेपाल प्रहरीको हेल्पलाइन १०० मा फोन गर्न सकिने, साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयमा उजुरी दिन सकिने ।



