नेपाल खानेपानी पाइपमा आत्मनिर्भरतातर्फ अघि बढ्दै स्वदेशी उद्योगको प्रतिस्पर्धामा चम्किँदै डल्फिन

२९ असोज ८३, बिहीबार
Share this
661shares

२९ असोज , काठमाण्डौ ।

Advertisement

घर बनाउँदा मानिसहरू जग्गा, नक्सा, सिमेन्ट, छड, टायल्स र फर्निचरमा लाखौँ रुपैयाँ खर्च गर्छन्। घरलाई आकर्षक बनाउने सामग्रीको छनोटमा महिनौँ बिताउँछन्।

तर त्यही घरमा खानेपानी पुर्‍याउने, तातो पानी वितरण गर्ने र ढल निकास गर्ने पाइप छान्दा भने धेरैले पर्याप्त ध्यान दिँदैनन्।

Advertisement

भित्ताभित्र, भुइँमुनि वा कङ्क्रिटभित्र जडान गरिने पाइपको गुणस्तरबारे उपभोक्ता अनभिज्ञ हुँदा निर्माण सम्पन्न भएको केही वर्षपछि चुहावट, पाइप फुट्ने र मर्मतका नाममा फेरि ठूलो खर्च गर्नुपर्ने अवस्था आउन सक्छ।
यही उपभोक्ता आवश्यकता नेपाली पाइप उद्योगका लागि बजार विस्तारको अवसर बनेको छ।

कुनै समय फलामे पाइपमा निर्भर नेपाली बजारमा अहिले पीभीसी, यूपीभीसी र सीपीभीसी पाइपको प्रयोग व्यापक हुँदै गएको छ।

Advertisement

स्वदेशी उद्योगहरूले आधुनिक प्रविधि अपनाउँदै उत्पादन बढाइरहेका छन्।

बजारमा स्थापित ब्रान्डसँगै नयाँ उद्योगहरू पनि प्रतिस्पर्धामा उत्रिएका छन्।

यही प्रतिस्पर्धाबीच डल्फिन पोलिप्लास्ट इन्डस्ट्रिज प्रालिले गुणस्तरमा सम्झौता नगरी तुलनात्मक रूपमा सुलभ मूल्यमा पाइप तथा फिटिङ्स उपलब्ध गराउने लक्ष्यसहित बजारमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहेको छ।

पछिल्लो समय नेपालमा आवश्यक पर्ने हरेक सामग्रीहरूको उत्पादनमा करोडौँ लगानी गर्न उद्योगीहरू अघि बढिरहेका छन्।

जसका कारण उपभोक्ताहरूले सुलभ मूल्यमा आफ्नै देशमा बनेको गुणस्तरीय सामान उपभोग गर्न पाउन थालेका छन्।

कच्चा पदार्थको आयातमा निर्भरता, खुला सीमाबाट हुने व्यापार, भन्सारको प्रभावकारिता, गुणस्तर प्रमाणीकरणमा देखिएका विभिन्न खाले समस्याका बाबजुद नेपाली उत्पादनले उपभोक्ताको मन जितिरहेको छ।

केही दशकअघिसम्म खानेपानी तथा अन्य संरचनामा फलामे पाइपको प्रयोग व्यापक थियो।

समयसँगै प्लास्टिकजन्य पाइपको प्रविधि र उपलब्धता विस्तार भएपछि निर्माण क्षेत्रमा यसको प्रयोग बढ्दै गयो।

तुलनात्मक रूपमा हलुका, जडान गर्न सहज र उपयुक्त अवस्थामा खिया नलाग्ने भएकाले पीभीसी तथा यूपीभीसी पाइपले बजारमा आफ्नो स्थान बनाउन सफल भए।

पीभीसी अर्थात् पोलिभिनाइल क्लोराइडबाट बनाइने पाइप विभिन्न प्रकारका पानी आपूर्ति, ढल निकास र अन्य प्रयोजनमा प्रयोग गरिन्छ।

यूपीभीसी पीभीसीकै एक प्रकार हो, जसमा प्लास्टिसाइजर प्रयोग गरिएको हुँदैन।

सीपीभीसी अर्थात् क्लोरिनेटेड पोलिभिनाइल क्लोराइड भने तातो पानी वितरण प्रणालीमा समेत प्रयोग गर्न मिल्ने सामग्री हो।

तर कुन पाइप कहाँ प्रयोग गर्ने भन्ने कुरा त्यसको प्राविधिक मापदण्ड, दबाब सहने क्षमता र उत्पादकले तोकेको प्रयोगमा निर्भर हुन्छ।

घर निर्माण, सहरीकरण, खानेपानी आयोजना र पूर्वाधार विस्तारसँगै यी सामग्रीको माग बढेको छ।

बजारमा डल्फिन पोलिप्लास्ट, पञ्चकन्या, मंगलम्, नेपाटप, रिजालको पाइप, हिलटेक लगायत विभिन्न ब्रान्डका उत्पादन उपलब्ध छन्।

यसले नेपाली उद्योगबीच प्रतिस्पर्धा बढाएको छ भने उपभोक्तालाई छनोटको अवसर पनि दिएको छ।

उद्योगीहरूले नेपाली बजारको ठूलो हिस्सा स्वदेशी उत्पादनले धान्न सक्ने अवस्था बनेको दाबी गर्दै आएका छन्।

नेपाली पाइप उद्योगमा डल्फिन पोलिप्लास्ट इन्डस्ट्रिज प्रालि छोटो समयमै आफ्नो ब्रान्ड स्थापित गर्ने प्रयासमा रहेको उद्योग हो।

उद्योगले करिब अढाइ वर्षदेखि डल्फिन ब्रान्डमा पाइप तथा फिटिङ्स बजारमा ल्याउँदै आएको सञ्चालक राकेश अग्रवाल बताउँछन्।

अग्रवालका अनुसार गुणस्तरमा सम्झौता नगरी उपभोक्तालाई बजार मूल्यको तुलनामा सुलभ मूल्यमा सामान उपलब्ध गराउन सकेकै कारण उद्योगले छोटो अवधिमा बजारमा राम्रो उपस्थिति बनाउन सफल भएको हो। डल्फिनका उत्पादन देशभर पुगिसकेका छन्।

“हामीले गुणस्तरमा सम्झौता नगरी सुलभ मूल्यमा उपभोक्तालाई सामान दिन सकेकै कारण आज बजारमा अग्रणी स्थानमा पुग्न सफल भएका छौँ,” अग्रवालको भनाइ छ।

उद्योगको बजार विस्तारमा मूल्य र गुणस्तरलाई एकसाथ अघि बढाउने रणनीति महत्त्वपूर्ण देखिन्छ।

निर्माण सामग्रीको बजारमा उपभोक्ताले एउटै प्रयोजनका लागि फरक–फरक मूल्यका सामान पाउँछन्।

तर सस्तो मूल्य नै राम्रो उत्पादनको प्रमाण होइन, महँगो मूल्य नै गुणस्तरको ग्यारेन्टी पनि होइन।

उत्पादनको वास्तविक गुणस्तर प्राविधिक परीक्षण, मापदण्डको पालना र दीर्घकालीन कार्यसम्पादनबाट निर्धारण हुन्छ।

त्यसैले डल्फिनजस्ता नयाँ उद्योगका लागि बजारमा टिकिरहन मूल्य प्रतिस्पर्धासँगै उत्पादनको गुणस्तर प्रमाणित गर्ने प्रणाली, बिक्रीपछिको सेवा र उपभोक्ताको विश्वास निर्माण गर्नु महत्त्वपूर्ण हुन्छ।

उद्योगले आफ्नो उत्पादनका प्राविधिक विवरण, गुणस्तर परीक्षणको प्रमाण र प्रयोगसम्बन्धी जानकारी उपभोक्तासम्म पुर्‍याउन सके ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउन सक्छ।

एकातर्फ आफ्नै देशमा करोडौँ लगानी गरी रोजगारी समेत दिइरहेका उद्योगीहरू, अर्कोतर्फ खुला सीमाबाट अवैध रूपमा भित्रिने सामानसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको अवस्था छ।

यति मात्र होइन, भन्सारमा शुल्क तिरेर आउने सामानको गुणस्तर परीक्षणसमेत हुँदैन।

जसले गर्दा बजारमा गुणस्तरहीन सामग्रीहरू छ्यापछ्याप्ती पाइन्छन्।

वैधानिक रूपमा भन्सारबाट आयात भएका सामानको गुणस्तर मापन गर्ने संयन्त्र नेपालतर्फ छैन।

जबकि नेपालका कुनै पनि उद्योगीले भारततर्फ सामान निर्यात गर्नु पर्यो भने भारतको गुणस्तर चिह्न लिनै पर्ने व्यवस्था छ।

तर नेपाल आउने कुनै पनि भारतीय सामानले नेपाल गुणस्तर चिह्न लिनु पर्ने व्यवस्था नै छैन।

नेपालको अर्को कमजोर पाटो भनेको यहाँका धेरैजसो उपभोक्ताहरूमा सचेतनाको पनि कमी छ।

आफूले प्रयोग गर्ने पाइप खरिद गर्दा उत्पादकको नाम, उत्पादनको विवरण, लागू हुने नेपाल गुणस्तर (एनएस) चिह्न वा अन्य आवश्यक प्रमाणीकरण, बिल तथा वारेन्टीसम्बन्धी जानकारी जाँच गर्नु पर्छ भन्ने सामान्य ज्ञान समेत भएको पाइँदैन।

अर्कोतर्फ निर्माण व्यवसायी, इन्जिनियर र प्लम्बरको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ।

उनीहरूले उपभोक्तालाई उपयुक्त सामग्री छनोट गर्न सहयोग गर्नुपर्छ।

तर कमिसन, सस्तो मूल्य वा उपलब्धताका आधारमा मात्रै पाइप छनोट गरिएमा दीर्घकालीन जोखिम बढाउने काम गरिरहेका हुन्छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top