‘ककरोच’लाई रोक्न दिल्लीको सेन्ट्रल पार्क दुई दिन बन्द, निषेधाज्ञा जारी

३० असोज ८३, शुक्रबार
Share this
693shares

३० असोज , काठमाण्डौ ।

Advertisement

भारतको राजधानी नयाँ दिल्लीमा प्रहरीले अघिल्लो प्रदर्शन रोकेको र दुई प्रमुख नेतालाई जेल पठाएको केही दिनपछि हजारौँ ‘ककरोच’ आन्दोलनकारी आज राष्ट्रिय झण्डासहित पुनः सडकमा उत्रिदैछन्। निर्वाचन सुधारको माग गर्दै युवाले सुरु गरेको ‘ककरोच जनता पार्टी’ (सीजेपी)ले समर्थकहरूलाई दिल्लीको व्यस्त व्यापारिक क्षेत्र कन्नट प्लेसस्थित सेन्ट्रल पार्कमा भेला हुन आह्वान गरेको छ।

प्रदर्शनका लागि निषेधित जन्तरमन्तर क्षेत्रमा प्रवेश गरेपछि सीजेपीका दुई नेतामाथि पाँच दिनको जेल सजाय सुनाइएको थियो । त्यसलगत्तै नयाँ प्रदर्शनको आह्वान गरिएको हो । निर्वाचन धाँधलीविरुद्ध सुरु भएको आन्दोलन अहिले प्रदर्शन गर्न पाउने नागरिक अधिकारको लडाइँमा रूपान्तरण भएको छ ।

Advertisement

सेन्ट्रल पार्क पनि प्रदर्शनका लागि स्वीकृत स्थल होइन । एक स्थानीय व्यापारीले ट्राफिक र व्यापारमा अवरोध पुग्ने भन्दै प्रदर्शन रोक्न माग गरी दायर गरेको याचिकामा दिल्ली उच्च अदालतले बिहीबार सीजेपीको प्रदर्शनमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ ।

सीजेपीका संस्थापक अभिजीत दीपकेले प्रदर्शनलाई ‘लहरा दो तिरंगा’ अर्थात् राष्ट्रिय झण्डा फहराऔँ नाम दिएका छन् । उनले आफू पुनः पक्राउ पर्न तयार रहेको बताएका छन् । यद्यपि, आन्दोलनकारीलाई सेन्ट्रल पार्कसम्म पुग्न कठिन हुन सक्ने देखिएको छ ।

Advertisement

गत शनिबार प्रहरीले अवरोध खडा गर्नुका साथै सामूहिक गिरफ्तारी गरेपछि धेरै प्रदर्शनकारी सहभागी हुन पाएका थिएनन् । दीपकेले दिल्ली पुग्न नसक्ने समर्थकलाई आफू रहेकै स्थानबाट भारतीय झण्डा उठाएर विरोध जनाउन आग्रह गरेका छन् ।

गत मे महिनामा भारतका प्रधानन्यायाधीशले बेरोजगार युवालाई ‘ककरोच’ अर्थात् साङ्लोसँग तुलना गरेपछि यो आन्दोलन सुरु भएको थियो । दीपकेले उक्त शब्दलाई आत्मसात् गर्दै अनलाइनमार्फत विरोध अभियान अघि बढाएका थिए । जुलाईसम्म आइपुग्दा परीक्षाको प्रश्नपत्र चुहिएको घटनाविरुद्ध दीपके र उनका समर्थकले सडक अवरुद्ध गरेका थिए ।

उक्त प्रदर्शनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपरेको थियो । केही महिनामै ‘ककरोच’ आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध युवा असन्तुष्टिको प्रमुख प्रतीक बनेको छ । अहिले आन्दोलन भारतको निर्वाचन प्रणालीसँग सम्बन्धित विवादतर्फ केन्द्रित भएको छ ।

यसको मुख्य विषय मतदाता नामावलीको ‘विशेष गहन पुनरावलोकन’ (एसआईआर) प्रक्रिया हो । आलोचकहरूले यस प्रक्रियामार्फत १३ करोडभन्दा बढी मानिसको नाम मतदाता नामावलीबाट हटाइएको आरोप लगाएका छन् । यसले वास्तविक मतदातासमेत मतदानको अधिकारबाट वञ्चित हुन सक्ने उनीहरूको चिन्ता छ ।

सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले सत्तारूढ भारतीय जनता पार्टीको पक्षपोषण गरेको आरोप लगाउँदै उनको राजीनामा माग गरेको छ । निर्वाचन आयोग र सरकारले भने यी आरोप अस्वीकार गर्दै आएका छन् ।

आजको प्रदर्शन गत साताको सामूहिक विरोधलाई प्रहरीले रोकेको, नेताहरूलाई नियन्त्रणमा लिएको र राजधानीभर सुरक्षा व्यवस्था कडा पारेको एक साताभित्र हुन लागेको हो । त्यतिबेला दीपके र दुई वरिष्ठ आयोजक सौरभ दास तथा आशुतोष रान्कालाई दिल्लीमा विमान अवतरण भएपछि जहाजभित्रैबाट नियन्त्रणमा लिइएको थियो ।

प्रदर्शन रोक्न राजधानीमा कडा सुरक्षा व्यवस्था लागु गरिएको थियो । हजारौँ प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएका थिए ।यता दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी)ले प्रदर्शन गर्ने घोषणा गरेपछि कनट प्लेसस्थित सेन्ट्रल पार्क यही अक्टोबर १६ र १७ का निम्ति बन्द गरिएको छ ।

दिल्ली प्रहरीले भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञा समेत जारी गरेको छ । सीजेपीले शुक्रबार बेलुका ५ बजे राष्ट्रिय झन्डा बोकेर पार्कमा भेला हुन आह्वान गरेको छ । आम आदमी पार्टीले पनि आफ्ना कार्यकर्ता र समर्थकलाई प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पार्क र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको दिल्ली प्रहरीकी जनसम्पर्क अधिकारी नेहा यादवले बताइन् । प्रहरीले प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई आग्रह गर्दै कानुनी कारबाही हुन सक्ने चेतावनी दिएको छ ।

सीजेपीको प्रदर्शन रोक्न माग गर्दै अनिलकुमार गुप्ताले दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेका थिए । बिहीबार अदालतमा प्रहरीले प्रदर्शन नियन्त्रण गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको बार एन्ड बेन्चले उल्लेख गरेको छ ।

अदालतले सीजेपीका संस्थापक अभिजीत दीपके, पार्टीका पदाधिकारी र अरू सम्बन्धित व्यक्तिहरूका गतिविधि नियन्त्रण गर्न आवश्यक कदम चालिने जनाएको छ । प्रदर्शनको अघिल्लो दिन बिहीबार सीजेपीले दिल्ली प्रेस क्लबमा पत्रकार सम्मेलन गरेको थियो ।

कार्यक्रममा संस्थापक दीपके, अखिल भारतीय विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष नेहा बोरा, अभिनेता प्रकाश राज, वरिष्ठ अधिवक्ता प्रशान्त भूषणलगायत सहभागी थिए । पत्रकार सम्मेलनमा दीपकेले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना गर्दै त्यसलाई तानाशाही प्रवृत्तिको संज्ञा दिए ।

उनले नागरिकमाथि प्रहरी दमन र गिरफ्तारी भइरहेको आरोप लगाउँदै राष्ट्रिय झन्डा फहराउनु अपराध नभएको बताए । दीपकेले नागरिकमाथि भएको भनिएको अन्याय र पार्टीका नेताहरूको गिरफ्तारीविरुद्ध शुक्रबार बेलुका ५ बजे सेन्ट्रल पार्कमा भेला हुन आह्वान गरे ।

सीजेपीले यसअघि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ४८ घण्टे ‘अल्टिमेटम’ दिएको थियो । दीपकेले आफू बसेको स्थान वरपर सादा पोसाकका प्रहरी परिचालन गरिएको र सेतो स्कोर्पियो गाडीले पछ्याइरहेको आरोप लगाएका छन् ।

बिहीबार राति सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले शुक्रबार ‘लहरा दो तिरंगा’ ¥याली निकाल्ने घोषणा पनि गरेका छन् । सेन्ट्रल पार्क दुई दिन बन्द गर्ने निर्णयप्रति उनले कटाक्ष गरेका छन् । प्रदर्शनका निम्ति १०० ठाउँ घोषणा गरिए सबै स्थान बन्द गर्ने हो ? भन्दै उनले प्रश्न गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top