३० असोज , काठमाण्डौ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीको मनोबल बढाउदै ७ दशक पूरानो कानूनमार्फत प्रहरी संगठनलाई आधुनिकीकरण गरिने बताएका छन् । प्रधानमन्त्रीले नेपाल प्रहरीलाई सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
यसका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उनको भनाइ छ। ७१औँ प्रहरी दिवसका अवसरमा आज शुक्रबार नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले उक्त धारणा राखेका हुन्।

प्रधानमन्त्रीको सन्देश आईजीपी दानबहादुर कार्कीले पढेर सुनाएका थिए। सन्देशमा प्रधानमन्त्री शाहले भनेका छन्, ‘सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने नेपाल प्रहरीलाई आगामी दिनका सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ।
यसका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। प्रहरी कर्मचारी, तिनका परिवार, सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको छ।’

पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्।
उनले अगाडि भनेका छन्, ‘यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवाप्रदायक तथा डिजिटल वालेटहरूलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढंगले सम्बोधन गर्ने व्यवस्था गरिँदै छ। साथै एआई, एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट र इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापनाको तयारी भइरहेको छ।’
साथै आफ्नो सन्देशमा प्रधानमन्त्री शाहले नेपाल प्रहरी देशको आन्तरिक शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न निरन्तर खटिरहेको उल्लेख गर्दै असली परीक्षा संकटका बेला हुने पनि बताएका छन्।
उनले भनेका छन्, ‘देशको आन्तरिक शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ। राष्ट्रसेवकहरूको असली परीक्षा संकटका बेला हुन्छ। संकटको घडीमा हाम्रो धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै संकट टार्न मद्दत गर्छ।’
यस्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् । शाहले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका हुन् ।
‘नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ । प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बौद्धिकता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको छ,’ सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री शाहले आन्तरिक शान्ति र सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् । सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्नुपर्ने उनको भनाइ छ ।
यस्तै सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी समयसापेक्ष र व्यावसायिक संगठन निर्माणका लागि नयाँ प्रहरी विधेयक अगाडि बढाएको जनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले सरुवा–बढुवालाई प्रणालीगत बनाउँदै हाकिमलाई रिझाउने प्रवृत्तिको अन्त्य गरिने बताए ।
उनले सेवा अवधिसम्बन्धी विषयमा समेत समयानुकूल परिमार्जन गरिने घोषणा गरे । अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण तथा ७१औँ प्रहरी दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत प्रहरीमा आवश्यक दरबन्दी थप गर्न प्रस्ताव अघि बढाइएको जानकारी दिए ।
“अनुसन्धान पद्धतिलाई वैज्ञानिक बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर अनुसन्धान र डीएनए प्रोफाइलिङजस्ता आधुनिक प्रविधिमा लगानी बढाउनु सरकारको पहिलो प्राथमिकता रहेको छ,” गृहमन्त्री गुरुङको भनाइ छ ।
गृहमन्त्रीले हालै नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीस्तरीय बैठक र भारतीय समकक्षीसँगको वार्ताबारे स्मरण गर्दै सीमापार तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सूचना आदानप्रदान र प्रविधि सहकार्यलाई तीव्र बनाइएको उल्लेख गरे ।
बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न क्षेत्रीय संयन्त्रबाट प्राप्त अवसरलाई आन्तरिक सुरक्षा सुदृढीकरणमा अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए । गृहमन्त्री गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने बताए । “प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्छ । साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक छ,” उनको भनाइ छ ।
उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक रहेको जिकिर गरे । प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने गृहमन्त्री गुरुङको भनाइ छ ।
गृहमन्त्री गुरुङले सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहने र गलत कार्यको संरक्षण नगर्ने चेतावनी दिए । “प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ । सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन,” गृहमन्त्री गुरुङले भने ।
७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय यस वर्षको उत्कृष्ट ब्याटन पुरस्कारबाट सम्मानित भएको छ । आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भुपेन्द्र खत्रीलाई उत्कृष्ट ब्याटन पुरस्कारबाट सम्मानित गरेको हो ।
देशभरका प्रदेश प्रहरी कार्यालयहरूमध्ये खत्रीको टिम उत्कृष्ट भएको हो । यस्तै प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी पूर्ण शान्ति पुरस्कारबाट सम्मानित भएका छन् । गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई पुरस्कार प्रदान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रूपमा उत्कृष्ट अनुसन्धान र प्रमाणमुखी काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई पूर्ण शान्ति पुरस्कारबाट सम्मानित गरेको हो ।



