३ कार्तिक , काठमाण्डौ ।
देशका विभिन्न भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै पछिल्लो मनसुनजन्य विपद्का कारण बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । सडकलाई पुरानै अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँसम्म बजेट आवश्यक पर्ने सम्बन्धित आयोजनाले जनाएको छ।

यसैबीच, नेपाली सेनाको सहयोगमा तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा आएको छ। उता, दसैँमा घर फर्किने यात्रुलाई लक्षित गर्दै भोजपुरको कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पनि पुनः सुरु गरिएको छ।
सुरुमा मौसमी अपडेट सम्बन्धी खबर। देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका केही हिमाली तथा पहाडी भूभागमा मौसम बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली देखिएको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली रहेको छ।
देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको जनाइएको छ।आज मङ्गलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली रहने सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा देशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
उता बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति भएको छ।पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने महत्वपूर्ण सडक मार्ग बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
गत असोज ८ देखि ११ गतेसम्म भएको लगातार वर्षापछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र नदी कटानका कारण सडकका विभिन्न खण्डमा ठूलो क्षति पुगेको हो। सडकलाई पूर्ण रूपमा पुनर्निर्माण गरी पुरानै अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँसम्म बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकी नदीको बाढीले सडकका १० स्थानमा सडक बगाएको वा भत्काएको छ। त्यस्तै, विभिन्न ५० स्थानमा पहिरोका कारण सडकमा क्षति पुगेको छ।प्रारम्भिक अनुमानअनुसार सडकमा ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
विपद्पछि प्रारम्भिक मर्मत गरी करिब दुई साताभित्र सडक सञ्चालनमा ल्याइएको भए पनि सडकलाई पूर्ण रूपमा सुरक्षित र व्यवस्थित बनाउन थप ठूलो लगानी आवश्यक पर्ने आयोजनाको भनाइ छ।यसअघि डीबीएसडी प्रविधिबाट कालोपत्र गरिएको म्याग्दी खण्डमा अब अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने अवस्था रहेको पनि आयोजना प्रमुख शर्माले बताएका छन्।
सडक पुनर्निर्माणसँगै पहिरो नियन्त्रण र नदी कटान रोक्ने कामलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोडिने यो सडकको कुल लम्बाइ २०२ किलोमिटर रहेको छ।
यसमध्ये सबैभन्दा बढी क्षति म्याग्दी खण्डको करिब ३३ किलोमिटर क्षेत्रमा पुगेको छ।पहिले नै पहिरो र कटानको जोखिममा रहेका स्थानमा मात्रै नभई नयाँ ठाउँमा समेत सडक कटान र पहिरोको समस्या देखिएको छ।
पर्वतको फर्से, केराबारी र लामाबगरदेखि म्याग्दीका तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइँठेभिर, खामभित्ता र सुकेबगरलगायत क्षेत्र प्रभावित भएका छन्।
सडक क्षतिग्रस्त भएपछि म्याग्दी खण्ड पार गर्न लाग्ने समयसमेत उल्लेख्य रूपमा बढेको छ। यसअघि करिब एक घण्टा तीन मिनेटमा पार गर्न सकिने उक्त खण्ड पार गर्न अहिले तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ। कालीगण्डकी नदीले बगाएको पोखरेबगर सडक पुलमा अस्थायी मार्ग निर्माण गरी यातायात सञ्चालन गरिएको छ।
पहिरो तथा कटान भएका स्थानमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी बाटो खोलिएको छ। यसका कारण सवारीसाधन फस्ने, लामो जाम हुने र यात्रुले ढिलाइ बेहोर्नुपर्ने समस्या कायम रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ।
केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गरेका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भौतिक संरचनाको पुनर्निर्माणका लागि बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका थिए।
उता खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा आएको छ भने भोजपुरमा जलयात्रा सेवा सुरु गरिएको छ।नेपाली सेनाको सहयोगमा तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
नेपाल र चीनबीचको व्यापारिक तथा यातायात सम्पर्कका लागि महत्वपूर्ण मानिने उक्त सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको हो। सङ्खुवासभास्थित खाँदबारी–किमाथाङ्का सडकखण्डमा गत साउनमा भोटखोला गाउँपालिका–२ को छुम्सुर क्षेत्रमा ठूला चट्टानसहितको पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
पहिरोका कारण सडकमा सवारीसाधन आवतजावत गर्न नसक्दा स्थानीय बासिन्दा, यात्रु तथा सामान ढुवानीमा समस्या उत्पन्न भएको थियो।खसेका विशाल चट्टान सामान्य उपकरण प्रयोग गरेर हटाउन कठिन भएपछि उत्तर–दक्षिण कोशी राजमार्ग आयोजनाले नेपाली सेनाको सहयोग मागेको थियो।
त्यसपछि नेपाली सेनाको नम्बर १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट खटिएको सैनिक टोलीले विस्फोटन प्रविधि प्रयोग गरी ठूला चट्टानलाई साना टुक्रामा विभाजन गरेको थियो।त्यसपछि सडक आयोजनाले चट्टान हटाएर सडक पुनः सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिएका छन्।
किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको छुम्सुर क्षेत्रको अवरोध हटेसँगै उत्तरी सीमावर्ती क्षेत्रमा आवागमन सहज हुने अपेक्षा गरिएको छ। कुल १६२ किलोमिटर लामो खाँदबारी–किमाथाङ्का सडकखण्डको १० दशमलव ८ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो ।
कडा चट्टान र विकट भौगोलिक अवस्थाका कारण निर्माण सामग्री हेलिकप्टरमार्फत ढुवानी गरेर सडक निर्माण सम्पन्न गरिएको थियो। सेनाले उक्त सडक गत वैशाखमा हस्तान्तरण गरेको थियो। चीनसँग जोडिने किमाथाङ्का नाका रणनीतिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालनमा आएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका बासिन्दालाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ। यसैबीच, भोजपुरको दक्षिणी क्षेत्रमा दसैँमा घर फर्किने यात्रुलाई लक्षित गर्दै कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालनमा ल्याइएको छ।
हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म सञ्चालन हुने जेटबोट सेवा आइतबारदेखि सुरु गरिएको हो। दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर सेवा पुनः सञ्चालन गरिएको स्थानीय व्यवसायीले जनाएका छन्।
अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा यस क्षेत्रका बासिन्दाले लामो समयदेखि आवागमनमा कठिनाइ भोग्दै आएका छन्। स्थानीय व्यवसायी मिलन राईका अनुसार कोप्चेदेखि बराह क्षेत्रसम्मको जेटबोट भाडा प्रतिव्यक्ति पाँच सय रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि तीनदेखि चार घण्टासम्म पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेकोमा अहिले करिब १९ किलोमिटर दूरी जेटबोटमार्फत २० देखि २५ मिनेटमै पार गर्न सकिने भएको छ। यसले भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दालाई धरान, इटहरी र विराटनगरजस्ता सहरसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ।
विशेषगरी चाडपर्वका समयमा घर फर्किने यात्रुका लागि यो सेवा उपयोगी हुने देखिएको छ।हतुवागढी गाउँपालिकाले जलयात्रालाई पर्यटनसँग जोडेर स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसमेत राखेको छ।



