५ कार्तिक , काठमाण्डौ ।
दशैंको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी रहँदा, आज देशका धेरै ठाउँमा मौसम सफा छ । यद्यपि आज कोशी र गण्डकीका हिमाली र पहाडी एक÷दुई ठाउँमा भने छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरु थोरै ठाउँमा आंशिक बादल छ । काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम केही घटेको छ । जसले गर्दा चिसो बढेको छ । महाशाखाकाअनुसार आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो दशैँको टीकाको मुख्य दिन काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस रहेको थियो । काठमाण्डौ उपत्यकामा बिहान र रातको समयमा चिसो हुन थालेको छ । दिउँसोमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीचमा रहने गरेको छ ।
दिनको समयमा घाम लागे पनि बिहान र राति तापक्रम घट्दा चिसो महसुस हुन थालेको हो । मौसम फेरबदल र अब चिसो बढ्दै जाने भएकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दिर्घरोगीलाई चिसोबाट जोगिन सल्लाह छ ।
यसबीच आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम विभागले जनाएको छ । यद्यपि कोशी र गण्डकीका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कात्तिक ६ गते भने कर्णालीका हिमाली क्षेत्रमा समेत हल्का वर्षा वा हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक ५ गते बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मुख्यतया सफा मौसम रहने अनुमान छ । तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लागेको थियो । आज राति कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
बाँकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने अनुमान छ । भोली शुक्रबार दिउँसो पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । राति कोशी, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने र तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने प्रक्षेपण छ । कात्तिक ७ गते शनिबार दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराईमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
कोशी र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । राति कोशी, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरोको सम्भावना कायमै रहनेछ । महाशाखाले यस बुलेटिनमा कुनै मौसमी चेतावनी जारी गरेको छैन । यद्यपि सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन अनुरोध गरेको छ ।



