६ कार्तिक , काठमाण्डौ ।
बडादशैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन् ।
नेपाली परम्पराअनुसार विजयादशमीका दिनबाट सुरु भएको टीका र जमरा लगाउने यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ । आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ ।

दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । देवीको प्रसाद भएकाले विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका लगाउने शास्त्रीय र सामाजिक परम्परा रहिआएको छ।
दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद मान्यजनबाट ग्रहण गरिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने धार्मिक परम्परा छ ।

नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरी देवी विसर्जन गरेपछि सुरु हुने टीका र आशीर्वाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीका दिन आफन्तकहाँ गएर टीका लगाउन छुटेकाहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सक्छन् ।
दसैँमा परिवारका सदस्य तथा आफन्तजन भेला भएर टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्ने परम्पराले पारिवारिक भेटघाट र पुनर्मिलनको अवसरसमेत प्रदान गर्छ ।लामो समयदेखि भेटघाट नभएका आफन्त तथा परिवारजनसँग भेट हुने र पुनर्मिलन हुने अवसरका रूपमा समेत दसैँलाई लिइने गरिन्छ ।
यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारालाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ । मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको आवागमनका कारण सडक तथा सहर बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।
दशैँ मनाउनका लागि सदरमुकाम तथा सहरबाट बाहिरिएका पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कने क्रम पनि सुरु भएको छ । मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ।
आज हिजो भन्दा सडकमा सवारी साधनको सङ्ख्या बढेको छ। सार्वजनिक यातायातमा यात्रुको चाप बढेसँगै विहानैदेखि भीडभाड पनि देखिन थालेको छ। दशैँ मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
दशैँका अवसरमा काठमाडौं उपत्यकाबाट करिब १० लाख नागरिक बाहिरिएको अनुमान छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जाने भएका छन्।
सभापति लामिछाने आजदेखि तीन दिनका लागि भारत प्रस्थान गर्ने सभापतिको निजी सचिवालयले जनाएको छ । यस अवधिमा उनले भारतका विभिन्न धार्मिक स्थलमा परिवारसहित पूजाआजा गर्ने कार्यक्रम रहेको छ।
तीर्थाटनका क्रममा लामिछानेले उत्तराखण्ड, नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम तय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।



