तिब्बतमा ७  रेक्टरको  विनाशकारी भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३, शुक्रबार
Share this
834shares

६ कार्तिक , काठमाण्डौ ।

Advertisement

भूकम्पमा परेर ठूलो मानवीय क्षति भएको छ भने सयौं घर भत्किएका छन् ।  बिहीबार साँझ गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् ।

चीनका सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बतको उत्तरी क्षेत्रमा पर्ने नाग्कु सहरमा ३०० भन्दा बढी घर भत्किएका छन् । नाग्कु सञ्चार कार्यालयले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार भूकम्पका कारण कम्तीमा ३३९ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

Advertisement

घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी २१ जनालाई सामान्य चोटपटक लागेको सञ्चार कार्यालयले जनाएको छ ।

भूकम्पबाट विस्थापित भएका नागरिकलाई आश्रय दिन प्रहरी र अग्नि नियन्त्रण विभागका उद्धार टोलीले अस्थायी पालहरू निर्माण गरिरहेका छन् । चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पछिल्लो भूकम्प यस क्षेत्रमा पाँच वर्षयताकै सबैभन्दा शक्तिशाली हो ।

Advertisement

भूकम्पको केन्द्रबिन्दु तिब्बतको ल्हासाबाट करिब ४०० किलोमिटर टाढा थियो । शक्तिशाली भूकम्पको धक्कापछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । सयौं घरहरूमा क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको छ ।

सन् २०२४ को जनवरीयता चीनमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । तिब्बतलाई भूकम्पको दृष्टिले निकै संवेदनशील क्षेत्र मानिन्छ। तिब्बतमा भूकम्प जानुको प्रमुख कारण भारतीय र युरेसियन टेक्टोनिक प्लेटबीचको टक्कर हो।

करिब ५ देखि ६ करोड वर्षअघि भारतीय टेक्टोनिक प्लेट उत्तरतर्फ सर्दै युरेसियन प्लेटसँग ठोक्किएपछि तिब्बती पठारको निर्माण भएको थियो। भारतीय प्लेट अहिले पनि प्रतिवर्ष करिब ४ देखि ५ सेन्टिमिटरको गतिमा उत्तरतर्फ सर्दै युरेसियन प्लेटमुनि धसिँदै गएको छ।

यसका कारण पृथ्वीको गर्भमा ठूलो ऊर्जा र तनाव सञ्चित हुन्छ। उक्त तनाव अचानक मुक्त हुँदा भूकम्प जाने गर्छ। तिब्बत र यससँग जोडिएको हिमालय क्षेत्रमा इतिहासमा धेरै विनाशकारी भूकम्प गएका छन्।

सन् १९५० अगस्ट १५ मा आसाम र तिब्बतमा ८.६ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पका कारण ठूलो पहिरो गएको थियो, जसले गर्दा धेरै नदीको बहावसमेत अवरुद्ध भएको थियो।

त्यस भूकम्पमा तिब्बत र आसाममा गरी करिब ४ हजार ८ सयभन्दा बढी मानिसको ज्यान गएको थियो। सन् २००८ मा तिब्बतको डामक्सुङ क्षेत्रमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

सन् २०१० मा तिब्बतको पूर्वी भागमा पर्ने युशु क्षेत्रमा गएको भूकम्पमा २ हजार ६ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो भने सयौँ घर ध्वस्त भएका थिए। सन् २०१५ मा नेपाल र तिब्बतमा भूकम्प गएको थियो।

उक्त भूकम्पमा तिब्बतमा १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यस्तै, सन् २०२५ मा दक्षिणी तिब्बतको टिङ्ग्री काउन्टीमा गएको शक्तिशाली भूकम्पमा १२० भन्दा बढी मानिसको ज्यान गएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top