बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी

१३ कात्तिक २०८३, शुक्रबार
Share this
761shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

पवित्र तीर्थस्थल जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको छ ।

यसको जानकारी नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका हुन् । “प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ,” प्रबन्ध सञ्चालक पराजुलीले भने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।”

Advertisement

उद्घाटनको मिति भने तय भएको छैन । तर, प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले आउँदो मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ । जनकपुरधामबाट अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए ।

नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ । केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

Advertisement

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए ।

विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवद्र्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्नेछ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

यसैबीच नेपालमा भारतीय लगानी बढाउने तथा द्विपक्षीय आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र लगानी बोर्ड नेपालबीच छलफल भएको छ ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित लगानी बोर्ड नेपालको कार्यालयमा भएको बैठकमा प्रधानमन्त्रीको आगामी भारत भ्रमणका सन्दर्भमा प्रस्तावित नेपाल–भारत प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठक आयोजना गर्नेलगायत विषयमा छलफल भएको हो ।

बैठकमा सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्य सुदृढ बनाउने, नेपालमा सफलतापूर्वक सञ्चालन भइरहेका भारतीय लगानीका उदाहरण उजागर गर्ने तथा व्यवसायीबीच लक्षित अन्तरक्रियामार्फत थप लगानी आकर्षित गर्ने सम्भावनाबारे छलफल भएको थियो ।

एनआई सीसी आईका अध्यक्ष कुनाल कायलले भारतीय व्यावसायिक संस्थाहरूसँग संघको व्यापक सञ्जाल र भारतमा रहेको स्थापित उपस्थितिबारे जानकारी गराउँदै नेपालको लगानी सम्भावनाको प्रभावकारी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा कार्यरत भारतीय उद्यमहरूले पु¥याउँदै आएको योगदान उजागर गर्नुपर्ने बताए । संघका उपाध्यक्ष गौरव टायलले विशिष्टीकृत स्वास्थ्य सेवा, उच्च शिक्षा, यातायात सम्पर्क सञ्जाल, ढुवानी तथा आपूर्ति व्यवस्थापन र पूर्वाधारका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए ।

उनले नेपालको विकास प्राथमिकतासँग मेल खाने लगानीका अवसर पहिचान गरी सम्भावित लगानीकर्तालाई त्यससँग जोड्नुपर्नेमा जोड दिए । लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले लगानी सहजीकरणलाई सुदृढ बनाउने, सरोकारवालाबीच समन्वय सुधार गर्ने तथा लगानी प्रवद्र्धनका लागि व्यवस्थित दृष्टिकोण विकास गर्नुपर्ने बताइन् ।

उनले लगानीका अवसर अघि बढाउन निजी क्षेत्रको सक्रिय सहभागिता र पूर्वतयारी गरिएका ठोस प्रस्तावको महत्त्व औँल्याइन् । प्रस्तावित प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठकलाई प्रभावकारी बनाउन स्पष्ट उद्देश्यसहितको कार्यसूची, प्राथमिकतामा राखिएका क्षेत्र र छनोट गरिएका कम्पनीको सहभागिता आवश्यक रहेको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा ज्ञान तथा अनुभव आदानप्रदान र नेपालको लगानी सहजीकरणसम्बन्धी संस्थाहरू तथा भारतीय व्यावसायिक सञ्जालबीच सम्बन्ध थप सुदृढ बनाउने विषयसमेत उठाइएको थियो । एनआईसीसीआईले द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध सुदृढ बनाउन सम्बन्धित सरोकारवालासँग सहकार्य र छलफललाई निरन्तरता दिने जनाएको छ ।

भारतले वीरगन्जदेखि काठमाडौंसम्मको रेलमार्गको डीपीआरको काम समेत गरिरहेको छ । उता चीनले समेत तिब्बतबाट काठमाडौं रेलमार्गबाट जोड्ने योजनालाई छलफलको विषय बनाउदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top