न ठूलो औजार, न लामो तयारी ! यस्तो छ डोल्पा जेलब्रेकको भित्री कथा

१६ कात्तिक २०८३, सोमबार
Share this
727shares

१६ कार्तिक , काठमाण्डौ।

Advertisement

गोप्य सुचना चुहावट तथा बिचौलिया संग प्रहरीका उच्चअधिकारीको सम्बन्धलाई लिएर यतिवेला तरङ उत्पन्न भइरहेका बेला शुक्रबार राती डोल्पा जिल्ला कारागारबाट ८ जना कैदी सुरुङ खनेर फरार भएको घटनाले देशभर सुरक्षा व्यवस्थामाथि अझ गम्भिर प्रश्न उठाएको छ ।

कारागारमा १५ जना सुरक्षाकर्मी खटिएका थिए। कैदीबन्दीको संख्या जम्मा १७ थियो। तर यति थोरै कैदी रहेको र सुरक्षाकर्मीको निगरानीसमेत रहेको कारागारबाट एकैपटक ८ जना कसरी बाहिरिए ? ८ कैदी फरार प्रकरणमा रड, चक्कु र पाइपका टुक्राले खनेको बाटो बाट प्रहरीको आँखा छलेर कसरी ८ कैदीे भागे ? घटना कसरी सफल हुन पुग्यो, सुरुङ खन्नेदेखि भाग्ने योजनासम्म के भएको थियो? भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ।

Advertisement

सुरुमा घटनालाई हेर्दा कैदीहरूले लामो समय लगाएर ठूलो सुरुङ खनेको अनुमान गरिएको थियो। तर घटनाबारे प्रारम्भिक अनुसन्धान र जिल्ला प्रशासनको भनाइ सार्वजनिक हुँदै जाँदा यसको भित्री पाटो केही फरक देखिएको छ। भाग्नका लागि उनीहरूले कुनै आधुनिक उपकरण वा बाहिरबाट ल्याइएका ठूला औजार प्रयोग गरेका थिएनन्।

कारागारभित्रै उपलब्ध साना पाइपका टुक्रा, फलामका रड र भान्सामा प्रयोग हुने चक्कुजस्ता सामग्रीको सहायताले बाहिर निस्कने बाटो बनाएको पाइएको छ। यसरी सामान्य सामग्री प्रयोग गरेर सुरक्षाकर्मीको निगरानी छल्दै ८ जना कैदी फरार हुन सफल भएको घटनाले डोल्पा कारागारको संरचना, सुरक्षा प्रणाली र कैदीबन्दीको गतिविधिमाथि नयाँ प्रश्न खडा गरेको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार फरार कैदीहरूले प्रयोग गरेको बाटो बाहिर चर्चा गरिएजस्तो १४ फिट वा चार मिटर लामो सुरुङ मात्र थिएन। उनीहरूले आफ्नो बस्ने कोठाको पर्खाल भत्काएर बीचमा रहेको सेफ्टी ट्याङ्की हुँदै अर्को पर्खालसम्म पुगेका थिए।

उनका अनुसार वास्तविक रूपमा पर्खाल भत्काएर बाटो बनाइएको भाग करिब चार फिटजति रहेको प्रारम्भिक जानकारी छ। बीचमा रहेको करिब तीन मिटरको भाग सेफ्टी ट्याङ्की भएकाले त्यसलाई पूरै सुरुङ भन्न नमिल्ने उनको तर्क छ।

घटनामा प्रयोग भएका सामग्री पनि आश्चर्यजनक रूपमा सामान्य थिए। कारागारभित्रै रहेका साना पाइपका टुक्रा, फलामका रड तथा भान्सामा प्रयोग हुने चक्कु र चुलेसीजस्ता सामग्रीबाट पर्खाल भत्काइएको प्रारम्भिक विवरण आएको छ।बाहिरबाट कुनै ठूलो खन्ने उपकरण ल्याइएको प्रमाण अहिलेसम्म नदेखिएको प्रशासनको भनाइ छ।

माटो र ढुंगाबाट बनेको पर्खाल भएकाले साना औजारबाटै भत्काउन सम्भव भएको हुन सक्ने अधिकारीहरूको प्रारम्भिक आकलन छ।यसले घटनामा ठूलो प्राविधिक तयारीभन्दा पनि कारागारको संरचनागत अवस्थाको फाइदा उठाइएको हुन सक्ने देखाएको छ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार कैदीहरूले लामो समयसम्म लगातार काम गरेर सुरुङ खनेको जस्तो देखिँदैन। सुरक्षा निरीक्षणमा देखिने गरी उनीहरूले बढीमा दुई रात मात्रै सक्रिय रूपमा पर्खाल भत्काउने काम गरेको हुन सक्ने उनको अनुमान छ।

यसको अर्थ उनीहरूले केही समयदेखि बाहिरिने सम्भावित बाटोबारे सोचिरहेका हुन सक्ने भए पनि वास्तविक रूपमा पर्खाल भत्काउने काम छोटो अवधिमै अघि बढाएको देखिन्छ। कारागार प्रशासनले नियमित रूपमा निरीक्षण गर्ने गरेको भए पनि कैदीहरूले आफ्नो गतिविधि लुकाउन सफल भएको देखिन्छ। सुरक्षाकर्मीको नियमित निगरानीका बीच पर्खाल भत्काउने काम कसरी सम्भव भयो भन्ने विषय अहिले अनुसन्धानको मुख्य पाटो बनेको छ।

तर कैदीहरूले कुन समयमा, कसरी र कसको सहयोगमा काम अघि बढाए भन्ने विषयमा आधिकारिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भइसकेको छैन। त्यसैले घटनाको वास्तविक योजनाबारे थप विवरण आउन बाँकी नै छ। यो घटनाको समय पनि अनुसन्धानका लागि महत्वपूर्ण देखिएको छ।

कारागारको सुरक्षा कमान्डर घटना हुनुभन्दा तीन दिनअघि मात्रै परिवर्तन गरिएको थियो। त्यसैगरी दसैँ–तिहारको बिदाका कारण जेलर पनि कारागारबाहिर रहेको समयमा घटना भएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार सुरक्षा नेतृत्व परिवर्तन भएको र नियमित प्रशासनिक जिम्मेवारीमा समेत परिवर्तन आएको समयमै कैदीहरू फरार भएका हुन्।

यद्यपि उनले घटनालाई सुरक्षाकर्मीको ठूलो लापरबाही मात्रै भन्न नमिल्ने बताएकी छन्। कैदीहरूले कारागारको संरचना र उपलब्ध परिस्थितिको फाइदा उठाएर बाहिरिने सजिलो बाटो पहिचान गरेको हुन सक्ने उनको भनाइ छ।

घटनापछि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टरको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको छ। समितिले सुरक्षा व्यवस्थामा कहाँ कमजोरी भयो, कैदीहरूले कसरी बाटो बनाए र घटनाको समयमा ड्युटीमा रहेका कर्मचारीको भूमिका के थियो भन्ने विषयमा अध्ययन गरिरहेको छ।

डोल्पा कारागारको अर्को विशेषता यसको खुला संरचना हो। यो कारागार ‘ओपन जेल’ अवधारणाअन्तर्गत सञ्चालन हुँदै आएको छ।यहाँ अन्य परम्परागत कारागारमा जस्तो कैदीबन्दीलाई छुट्टाछुट्टै कोठा वा च्याम्बरमा सधैँ थुनेर राखिँदैन।

उनीहरू कारागारको कम्पाउन्डभित्र खुला रूपमा आवतजावत गर्न सक्छन्। सबै कैदीबन्दी एउटै भान्सामा खाना खाने र एकअर्कासँग घुलमिल भएर बस्ने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताएकी छन्।

उनका अनुसार कारागारको संरचना नै कैदीबन्दीलाई तुलनात्मक रूपमा खुला वातावरणमा राख्ने उद्देश्यले तयार गरिएको थियो।घटनाको समयमा कारागारमा जम्मा १७ जना कैदीबन्दी थिए। तर त्यही खुला वातावरण र पर्खालको कमजोर संरचनाले उनीहरूलाई भाग्ने अवसर दिएको हुन सक्ने आशंका गरिएको छ।

डोल्पा कारागारमा महिला ५० र पुरुष १०० गरी कुल १५० जना राख्न सक्ने क्षमता छ । तर थोरै कैदीबन्दी रहेको अवस्थामा पनि यस्तो घटना हुनु सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि गम्भीर प्रश्न बनेको छ। शुक्रबार राति भएको घटनाबारे सुरक्षा निकायले शनिबार बिहान मात्रै जानकारी पाएको थियो।

कारागारबाट फरार भएकामध्ये पाँच जना जबर्जस्ती करणीसम्बन्धी मुद्दाका कैदी रहेको र अन्य तीन जना चोरीसम्बन्धी मुद्दाका कैदी रहेको प्रशासनले जनाएको छ। घटनापछि फरार कैदीहरूको खोजी तीव्र पारिएको छ।

जिल्ला प्रहरीदेखि अन्तरजिल्ला सुरक्षा संयन्त्रसम्म परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताएकी छन्। फरार कैदीहरू अन्य जिल्ला हुँदै बाहिर जान सक्ने सम्भावनालाई ध्यानमा राखेर प्रदेशभर खोजी भइरहेको छ।

भारततर्फको सीमा क्षेत्रमा समेत निगरानी बढाइएको प्रशासनको भनाइ छ।उता, कारागारभित्र सुरक्षा कमजोरी कसको कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासनले गठन गरेको समितिको प्रतिवेदनपछि थप कारबाहीको प्रक्रिया अघि बढाइने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top