आज पश्चिममा वर्षा, कस्तो छ पाँच दिनको मौसम ?

२३ कात्तिक २०८३, सोमबार
Share this
762shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारणले सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने देशका बाँकी हिमाली र पहाडी भू–भागमा पनि आंशिक बादल लागेको छ ।

देशका तराइ भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

Advertisement

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । यस्तै आज राति देशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । महाशाखाले आज बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार भोली मंगलबार दिउँसो देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । यस्तै भोली राति देशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।

बुधबार दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

बुधबार राति देशको हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।

यस्तै बिहीबार देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।

अनि शुक्रबार पनि देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी साथै लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।

यसैबीच यता मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र भुसन यादवले सोमबार सबेरै खसेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको जानकारी दिए ।

नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले राति तीन बजेतिर पहिरो खसेको बताए । राति पनि पहिरो सफा गरिएको र अहिले बिहानबाट फेरि पहिरो पन्छाउन सुरु भएको उनले बताए। पहिरोका कारण मुग्लिन हुँदै काठमाडौं जाने–आउने गाडीहरू चल्न सकेका छैनन् ।

उता भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीयले बताएका छन् । बाढी गएको लामो समय भइसक्दा पनि भूबनोट कमजोर भई पहिरो खस्ने क्रम जारी रहेकाले सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको लिखित माग बुझाइएको छ ।

बाढी र कटानका कारण गाउँमा रहेको एक विद्यालय र प्रहरी चौकी पनि सङ्कटमा परेका छन् । आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बाढी र पहिरोका कारण जोखिममा परेका नागरिकलाई सरकारले सुरक्षित आवासको अधिकार प्रत्याभूत गराउनुपर्ने बताउँदै जोखिमयुक्त बस्तीलाई तत्काल अन्यत्र सार्नुको विकल्प नरहेको उल्लेख गरे ।

यसैबीच, भोटेकोशी बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्ने सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले रसुवाका स्थानीय तहका वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको निर्णयलाई अनुमोदन गरी विस्तृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जोखिममा परेका बस्तीको विषयमा भूगर्भविद्हरूले स्थलगत अध्ययन गरेपछि मात्रै स्थानान्तरणको ठोस निर्णय लिइने जानकारी दिए । बाढीमा बेपत्ता तथा सम्पर्कविहीन नागरिकको वडा तहबाट प्राप्त निवेदनका आधारमा केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढिसकेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top