२३ कार्तिक , काठमाण्डौ ।
अमेरिकाको मिशिगन राज्यबाट डेमोक्रेटिक पार्टीका उम्मेदवार बनेका ४२ वर्षीय डा. अब्दुलरहमान मोहम्मद एल–सैयद अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बनेर इतिहास रचेपछि लगातार चर्चामा छन् । पछिल्लो समय दीपावली समेत हर्षाेल्लाससहित मनाएपछि उनी अधिक चासो र चर्चामा छन् ।
अब्दुल एल–सैयदले पनि हिन्दु समुदायसँग धूमधामका साथ दीपावली मनाएका छन्। मिशिगनबाट सिनेटर निर्वाचित सैयदले दीपावली उत्सवका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। ती तस्बिरमा उनी दियो बाल्दै र खुसीका साथ ताली बजाउँदै गरेको देखिन्छन्।

उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्यक्त गरेका अभिब्यक्तिका कारण पनि चर्चामा छन् । डेमोक्र्याटिक पार्टीका उम्मेदवार उनले रिपब्लिकन पार्टीका माइक रोजर्सलाई पराजित गर्दै मिसिगनको सिनेट चुनाव जितेका छन् । डेट्रोइटमा आफ्नो विजय मन्तव्य राख्दै इजिप्टबाट आप्रवासी भई आएका परिवारका छोरा अल–सयदले भने, “मिसिगन, हामीले यो गरेर देखायौँ, मिसिगनजस्तो महान् राज्यबाट तपाईँहरूको निर्वाचित सिनेटरका रूपमा यहाँ उभिन पाउँदा मलाई धेरै गर्व र सम्मान महसुस भइरहेको छ।”
अब्दुल अल–सयदको जन्म र हुर्काइ दक्षिण–पूर्वी मिसिगनमा भएको हो। उनका बुबा मोहम्मद इजिप्टबाट आएका आप्रवासी हुन्, जबकि उनकी सौतेनी आमा ज्याकी पुस्ताौंदेखि मिसिगनमा बस्दै आएको परिवारकी हुन्। उनले सार्वजनिक विद्यालयहरूमा शिक्षा हासिल गरे र पछि युनिभर्सिटी अफ मिसिगनबाट उत्कृष्ट नतिजासहित स्नातक गरे।
विद्यालय पढ्ने क्रममा उनी खेलकुदमा पनि उत्तिकै रुचि राख्थे र फुटबल, कुस्ती तथा ल्याक्रोस टोलीको कप्तानसमेत बनेका थिए। त्यसपछि, ुनेशनल इन्स्टिच्युट्स अफ हेल्थुको फेलोसिप सहयोगमा उनले कोलम्बिया विश्वविद्यालयमा चिकित्साशास्त्र (मेडिसिन) को अध्ययन गरे।
साथै, उनी ुरोड्स स्कलरु का रूपमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि (डक्टरेट) उपाधि हासिल गर्न सफल भए। डाक्टर बन्ने प्रशिक्षण लिएका भए पनि पछि उनले सार्वजनिक सेवामा काम गर्ने निर्णय गरे। डेट्रोइट सहर आर्थिक रूपमा टाट पल्टिएपछि उनले त्यहाँको स्वास्थ्य विभागलाई पुनः व्यवस्थित गर्ने काम गरे।
पछि उनले वेन काउन्टीको स्वास्थ्य, मानव तथा भेट्रान सेवा विभागको पुनर्संरचना गर्ने जिम्मेवारी सम्हाले। उनले धेरै सार्वजनिक स्वास्थ्य परियोजनाहरूमा काम गरेः जसमा बालबालिकालाई निस्शुल्क चश्मा प्रदान गर्ने, प्राथमिक विद्यालयहरूबाट सिसा हटाउने र ओपिओइड ओभरडोजलाई कम गर्न प्रयोग गरिने औषधि ’नार्कन’ सजिलै उपलब्ध गराउने कार्यहरू समावेश छन्।
एल–सयदले दुई वर्षमा मिसिगनका लगभग ३,००,००० मानिसहरूको लागि ७० करोड डलरसम्मको चिकित्सा ऋण रद्द गर्ने लक्ष्य राखेको कार्यक्रमको नेतृत्व गरे। उनको कामको कदर गर्दै उनलाई मिसिगन लिग अफ कन्जर्भेसन भोटर्सबाट ’वर्षको सार्वजनिक अधिकारी’ पुरस्कार प्रदान गरियो।
उनी क्रेनको डेट्रोइट व्यवसायको ’४० अन्डर ४०’ सूचीमा समेत परेका थिए। उनले ’मेडिकेयर फर अलः अ सिटिजन्स गाइडु शीर्षकको एउटा पुस्तक लेखेका छन्। यस पुस्तकमा अमेरिकाले आफ्ना सबै नागरिकलाई कसरी किफायती स्वास्थ्य सेवा उपलब्ध गराउन सक्छ भन्नेबारे व्याख्या गरिएको छ।
सन् २०२० मा, एल–सयदलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य सेवा सम्बन्धी ’युनिटी टास्क फोर्स’का लागि समेत छनोट गरिएको थियो। सन् २००७ मा चिकित्सा शिक्षा अध्ययन गर्ने तयारीमा रहेका अब्दुल एल–सैयद मिचिगन विश्वविद्यालयको दीक्षान्त समारोहमा विद्यार्थी प्रतिनिधिका रूपमा भाषण दिन छनोट भएका थिए ।
उनको भाषणले सोही समारोहमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न पुगेका अर्का व्यक्तिको ध्यान खिच्यो । उनले एल–सैयदमा बोल्ने जन्मजात प्रतिभा रहेको भन्दै उनलाई चिकित्सा क्षेत्रको सट्टा राजनीतिमा लाग्नेबारे सोच्न प्रोत्साहित गरेका थिए । ती व्यक्ति अरू कोही नभई अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन थिए ।
तिनै सैयदले १९ वर्षपछि अमेरिकी राजनीतिमा इतिहास रचेका छन् । सैयद मिशिगनबाट अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम मात्र बनेका छैनन्, पहिलो इजिप्टेली मूलका अमेरिकीसमेत बनेका छन् । अमेरिकी राजनीतिमा मुस्लिम समुदायको प्रतिनिधित्वका दृष्टिले उनको जितलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।
सैयदको जन्म सन् १९८४ अक्टोबर ३१ मा अमेरिकाको मिशिगन राज्यस्थित रोचेस्टर हिल्समा भएको थियो । उनका बुबा मोहम्मद एल–सैयद र आमा फत्तेन एल्कोमी इजिप्टबाट अमेरिका आएका आप्रवासी हुन् । उनका बुबा इजिप्टको अलेक्जान्ड्रियाका बासिन्दा थिए । सन् १९७० को दशकको अन्त्यतिर इजिप्टमा सरकारको विरोध गर्ने विद्यार्थी तथा प्राध्यापकहरूमाथि दमन बढिरहेका बेला सैयदका पिता अमेरिका पुगेका थिए ।
अब्दुल एल–सैयद पेसाले महामारी विज्ञानमा प्रशिक्षित तथा जनस्वास्थ्य क्षेत्रका विज्ञ हुन् । । उनले अमेरिकामा जनस्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छन् । विशेषगरी, स्वास्थ्य सेवामा नागरिकको पहुँच, स्वास्थ्य असमानता र सरकारी नीतिले सर्वसाधारणको जीवनमा पार्ने प्रभावबारे उनको चासो रहँदै आएको छ ।
चिकित्सा क्षेत्रबाट सार्वजनिक सेवामा प्रवेश गरेका सैयदले पछि राजनीतिक यात्राको सुरुवात गरे । सन् २०१८ मा उनले मिशिगन राज्यको गभर्नर पदका लागि डेमोक्रेटिक पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उनी मिशिगनको इतिहासमै गभर्नर पदका लागि उम्मेदवारी दिने पहिलो मुस्लिम व्यक्ति हुन् ।
तर, २०१८ अगस्टमा भएको डेमोक्रेटिक पार्टीको आन्तरिक प्राथमिक चुनावमा उनी ग्रेचेन ह्विटमरसँग पराजित भए । सैयद त्यसपछि पनि सार्वजनिक नीति र राजनीतिक बहसमा सक्रिय रहिरहे । डेमोक्रेटिक पार्टीभित्र प्रगतिशील विचारधाराका नेताका रूपमा चिनिएका सैयदले आफ्नो मध्यावधि चुनावी अभियानमा सर्वसाधारणको जीवनसँग प्रत्यक्ष जोडिएका आर्थिक र सामाजिक मुद्दालाई प्राथमिकता दिएका थिए ।
उनले अमेरिकामा बढ्दो जीवनयापन खर्च, महँगो स्वास्थ्य सेवा, आर्थिक असमानता र राजनीतिमा ठूला धनाढ्य तथा व्यावसायिक समूहको प्रभावलाई प्रमुख मुद्दा बनाए । उनको चुनावी अभियानको मुख्य एजेन्डामध्ये एक थियो ‘मेडिकेयर फर अल’ अर्थात् सबै नागरिकलाई स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने व्यवस्था ।
चुनावी अभियानभरि एल–सैयदले राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीका शीर्ष नेताहरूबाट जातीय विभेदपूर्ण, मुस्लिमविरोधी र कटु आलोचनाको सामना गर्नुप¥यो । ट्रम्पले उनको नाम र मुस्लिम धर्ममाथि समेत उपहास गरेका थिए ।
चुनावी अभियानका क्रममा एल–सैयदले इजरायललाई अमेरिकाले दिँदै आएको सैन्य सहायता बन्द गर्नुपर्ने माग उठाउँदै आएका थिए । मिशिगनका नागरिकले तिरेको करबाट संकलित रकम इजरायललाई सैन्य सहयोग गर्न खर्चिनुभन्दा आफ्नै राज्यका नागरिकको हितमा खर्च गर्नु उपयुक्त हुने उनको तर्क थियो ।
विशेषगरी, गाजामा इजरायलको सैन्य कारबाही र त्यसमा अमेरिकाको भूमिकालाई लिएर उनले आलोचनात्मक धारणा राख्दै आएका छन् । उनको यस्तो अडानले एकातर्फ प्रगतिशील मतदाताको समर्थन प्राप्त ग¥यो भने अर्कोतर्फ इजरायल समर्थक समूह तथा रिपब्लिकन नेताहरूको आलोचना पनि खेप्नुप¥यो ।
धर्म, पहिचान र विदेशनीतिका विषयमा भएका विवादका बीच उनले आर्थिक मुद्दालाई चुनावी अभियानको केन्द्रमा राखेका थिए । अमेरिकाको तल्लो सदन अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्समा यसअघि पनि मुस्लिम समुदायबाट सांसद निर्वाचित भएका छन् । किथ एलिसन, इल्हान ओमर र रशिदा तलाइबजस्ता मुस्लिम नेताहरूले अमेरिकी तल्लो सदनमा प्रतिनिधित्व गरिसकेका छन् ।
तर, अमेरिकी संसद्को माथिल्लो सदन अर्थात् सिनेटमा यसअघि कुनै पनि मुस्लिम निर्वाचित भएका थिएनन् । त्यसैले सैयदको जित अमेरिकी मुस्लिम समुदायका लागि ऐतिहासिक मानिएको छ । उनको विजयले अमेरिकामा आप्रवासी पृष्ठभूमि भएका नागरिक र धार्मिक अल्पसंख्यकहरूको राजनीतिक प्रतिनिधित्वबारे नयाँ बहसको अवसर पनि दिएको छ ।
यो जित डेमोक्रेटिक पार्टीका लागि पनि महत्त्वपूर्ण छ । स्विङ स्टेटका रूपमा रहेको मिशिगनमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ । सैयदको चुनावी सफलतालाई डेमोक्रेटिक पार्टीभित्रको प्रगतिशील धारको उपलब्धिका रूपमा पनि हेरिएको छ ।
अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बनेका डा. अब्दुल एल–सैयद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको चुनावी अभिव्यक्तिको टकरावले निकै चर्चा पाएको थियो । मध्यावधि निर्वाचनमा मिशिगनबाट रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई पराजित गर्दै एल–सैयद सिनेटर निर्वाचित भए ।
तर उनको निर्वाचन यात्रा राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित रहेन। उनको मुस्लिम पहिचान र धार्मिक पृष्ठभूमिलाई लिएर ट्रम्पले पटक–पटक टिप्पणी गरेका थिए। ट्रम्पले चुनावी सभामा एल–सैयदलाई ‘जिहादी’ भन्दै आतंकवादीहरूको पक्षमा रहेको आरोप लगाएका थिए।
उनले एल–सैयद सिनेटमा निर्वाचित भए सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँच हुनुपर्ने टिप्पणीसमेत गरेका थिए। ट्रम्पले उनलाई मुस्लिम ब्रदरहुडसँग जोड्ने प्रयास गर्दै अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको आरोप पनि लगाएका थिए। यद्यपि, एल–सैयदको मुस्लिम ब्रदरहुडसँग सम्बन्ध रहेको कुनै प्रमाण सार्वजनिक भएको छैन।
यसको जवाफमा एल–सैयदले ट्रम्पलाई आफ्नो नाम उच्चारण गर्नसमेत कठिन भइरहेको भन्दै व्यंग्य गरेका थिए। उनले चुनावी सभामा भनेका थिए, ‘डोनाल्ड, मलाई थाहा छ, मेरो नाम उच्चारण गर्न तपाईंलाई कठिन भइरहेको छ। त्यसैले जनवरीमा जेडी भान्सले मलाई सिनेटरको शपथ गराएपछि तपाईंले मलाई सिनेटर भनेर बोलाउन सक्नुहुन्छ।’
ट्रम्पले पनि एल–सैयदको जवाफको प्रतिवाद गरेका थिए। केन्टकीमा आयोजित चुनावी सभामा ट्रम्पले भनेका थिए, ‘म अमेरिकाको राष्ट्रपति हुँ, म तिमीलाई जे नामले बोलाउन चाहन्छु, त्यही नामले बोलाउन सक्छु।’ उनले एल–सैयदको बीचको नाम मोहम्मद रहेको उल्लेख गर्दै आफूले उच्चारण गरेको नाम धेरै टाढा नभएको टिप्पणी गरेका थिए।
त्यस्तै, ट्रम्पले अक्टोबर २५ मा मिशिगनको पोर्ट हुरोनमा आयोजित सभामा एल–सैयदलाई सिनेट प्रवेश गर्न मेटल डिटेक्टर पार गर्नुपर्ने टिप्पणी दोहो¥याएका थिए। उनको यस्तो अभिव्यक्तिको अरब तथा मुस्लिम अमेरिकी समुदायका नेताहरूले आलोचना गरेका थिए।
अन्ततः नोभेम्बर ३ को निर्वाचनमा एल–सैयद विजयी भए। विजयपछि उनले भने, ‘तपाईंहरूले घृणा रोज्नुभयो, तर मिशिगनले आशा रोज्यो।’ उनले आफ्नो जितलाई धार्मिक पहिचानमाथि केन्द्रित आक्रमणको जवाफका रूपमा प्रस्तुत गरे। यसरी चुनावअघि ट्रम्प र एल–सैयदबीच चलेको नाम, धर्म र राजनीतिक पहिचानको विवाद निर्वाचन परिणामपछि पनि अमेरिकी राजनीतिमा चर्चाको विषय बनेको छ। जसले सैयदलाई विश्वचर्चित बनाएको छ ।



