अमेरीकामा नर्स ममता काफ्लेको हत्या प्रकरणमा नरेश दोषी (भिडिओसहित)

२५ कात्तिक २०८३, बुधबार
Share this
766shares

२५ कार्तिक , काठमाण्डौ। 

Advertisement

अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी अदालतमा करिब छ हप्तासम्म चलेको सुनुवाइपछि मंगलबार जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, मृत शरीर लुकाएको र मृत शरीर विकृत बनाएको तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।

ममता सन् २०२४ जुलाईमा अचानक बेपत्ता भएकी थिइन्। उनको खोजीका क्रममा प्रहरीले हत्या भएको आशंका गरे पनि अहिलेसम्म शव फेला पार्न सकेको छैन। शव नभेटिएको अवस्थामा पनि प्रहरीले संकलन गरेका वैज्ञानिक प्रमाण, डिजिटल विवरण, निगरानी क्यामेराका दृश्य र नरेश आफैँले अदालतमा गरेको स्वीकारोक्तिका आधारमा जुरीले उनलाई हत्यामा दोषी ठहर गरेको हो।फैसलासँगै दुई वर्षभन्दा लामो समयदेखि चर्चामा रहेको ममता बेपत्ता प्रकरणले महत्वपूर्ण कानुनी निष्कर्ष पाएको छ। तर ममताको शव अझै फेला नपर्नु र अन्तिम संस्कारसमेत गर्न नपाउनु उनका परिवारका लागि अर्को पीडा बनेको छ। मुद्दाको सुनुवाइका क्रममा सबैभन्दा महत्वपूर्ण पक्ष नरेश आफैँले अदालतमा दिएको बयान बन्यो। यसअघि प्रहरी, परिवार, साथीभाइ र सञ्चारमाध्यमलाई ममता कहाँ छिन् भन्ने आफूलाई थाहा नभएको बताउँदै आएका नरेशले अदालतमा भने ममताको मृत्यु भएको र आफूले उनको शव लुकाएको स्वीकार गरे।

Advertisement

नरेशले सन् २०२४ जुलाई ३० को बिहान ममता घरको शयनकक्षमा अचेत अवस्थामा भेटिएको दाबी गरेका थिए। उनका अनुसार ममताको छेउमा रगत र बान्ता थियो भने विषालु कीटनाशकको खुला प्याकेट पनि रहेको थियो। उनले ममतालाई बचाउने प्रयास गरेको तर सफल नभएपछि आफू आत्तिएको र प्रहरीलाई खबर नगरेको बताए।उनले ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गर्दै आफूले हत्या नगरेको जिकिर गरेका थिए। तर शव लुकाउने क्रममा आफूले आराको प्रयोग गरी शरीर टुक्र्याएको र विभिन्न स्थानमा फोहोरसँगै फालेको स्वीकार गरेका थिए।नरेशको यो बयान उनी यसअघि प्रहरी र आफन्तलाई दिँदै आएको विवरणभन्दा फरक थियो। सुरुमा उनले जुलाई ३१ को राति ममतासँगै खाना खाएर सुतेको र भोलिपल्ट बिहान उठ्दा ममता घरमा नभएको बताएका थिए। अदालतमा भने उनले ममता जुलाई ३० मै मृत्यु भएको दाबी गरे।अदालतमा नरेशले गरेको स्वीकारोक्ति र उनले दिएको घटनाक्रमलाई अभियोजन पक्षले प्रस्तुत गरेका अन्य प्रमाणसँग तुलना गर्दै जुरीले निर्णय गरेको हो। अभियोजन पक्षले ममताको मृत्यु आकस्मिक नभई नरेशले योजनाबद्ध रूपमा हत्या गरेको दाबी गरेको थियो। त्यसका लागि उनीहरूको वैवाहिक सम्बन्ध, नरेशको इन्टरनेट खोजी, फोन विवरण, निगरानी क्यामेराका दृश्य र फरेन्सिक परीक्षणका नतिजा अदालतमा पेस गरिएको थियो।

अभियोजन पक्षले नरेशको मोबाइल फोनबाट सन् २०२४ मार्चमा श्रीमती हराएपछि के हुन्छ भन्ने विषयमा खोजी गरिएको विवरण प्रस्तुत गरेको थियो। त्यसैगरी अप्रिलमा कार्यालयको कम्प्युटर खाताबाट श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेजस्ता विषय खोजिएको विवरण पनि अदालतमा पेस गरिएको थियो। अदालतमा प्रस्तुत डिजिटल प्रमाणमा जुलाई ३० को बिहान मानव मस्तिष्कको चित्र र अन्य विषय खोजिएको विवरणसमेत थियो। अभियोजन पक्षले यी खोजीलाई घटनासँग जोडेर व्याख्या गरेको थियो। तर प्रतिरक्षा पक्षले केही डिजिटल खोजीको समय स्पष्ट नभएको भन्दै त्यसको व्याख्यामा प्रश्न उठाएको थियो। नरेशले आराको प्रयोग गरी शव लुकाएको स्वीकार गरेपछि त्यससँग सम्बन्धित फरेन्सिक प्रमाण पनि महत्वपूर्ण बने। अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको आरामा रगत हुन सक्ने दाग र कपालजस्ता वस्तु भेटिएको थियो। भर्जिनियाको फरेन्सिक विज्ञान विभागका विशेषज्ञले आराभित्रबाट लिइएको नमुनाको डीएनए ममताको डीएनएसँग मेल खाने निष्कर्ष अदालतमा प्रस्तुत गरेका थिए।

त्यसैगरी घरको शयनकक्षमा रहेको कार्पेटको दागमा गरिएको परीक्षणले पनि ममता र उनकी छोरीको डीएनए रहेको मिश्रणसँग बलियो मेल देखाएको विशेषज्ञले बयान दिएका थिए। यद्यपि डीएनएले मात्र दाग कसरी लागेको हो भन्ने कुरा प्रमाणित गर्दैन भन्ने विषय पनि प्रतिपक्षका वकिलले उठाएका थिए। अदालतमा प्रस्तुत निगरानी क्यामेराका दृश्यअनुसार नरेश सन् २०२४ जुलाई ३० मा भर्जिनियाको होम डिपोमा पुगेका थिए। त्यसैगरी विभिन्न पसलबाट फोहोरका झोला र सरसफाइका सामग्री खरिद गरेको विवरण पनि प्रस्तुत गरिएको थियो। उनले प्रयोग गरेको आराको खरिद र पछि अर्का व्यक्तिलाई दिएको घटनाक्रमसमेत अदालतमा बयानमार्फत सार्वजनिक भएको थियो। ममता र नरेशको वैवाहिक सम्बन्धमा समस्या रहेको विषय पनि सुनुवाइका क्रममा उठेको थियो। ममताका दाजु महेश काफ्लेले अदालतमा बयान दिँदै बहिनीले आफू असुरक्षित महसुस गरिरहेको बताउने गरेको जानकारी दिएका थिए। महेशका अनुसार ममताले सन् २०२४ फेब्रुअरीमा अनुहारमा चोट लागेको तस्बिर पठाउँदै आफू सुरक्षित नभएको अवस्थामा आवश्यक पर्न सक्ने भएकाले सुरक्षित राखिदिन आग्रह गरेकी थिइन्। ममताका साथी तथा आफन्तले पनि उनीहरूबीच सम्बन्धविच्छेदको विषयमा विवाद भइरहेको र ममता असुरक्षित महसुस गरिरहेको बताएका थिए। अदालतमा ममताले पठाएका चोट देखिने तस्बिर र सन् २०२३ डिसेम्बरमा भएको कुराकानीसमेत प्रस्तुत गरिएको थियो। उक्त कुराकानीमा ममताले चोट लागेको तस्बिर पठाएपछि नरेशले सम्बन्धविच्छेदका कागजमा हस्ताक्षर गर्न तयार रहेको जवाफ दिएको विवरण अदालतमा पेस भएको थियो।

नरेशले भने आफूमाथि लगाइएका शारीरिक दुव्र्यवहारका आरोप अस्वीकार गरेका थिए। उनले अदालतमा वैवाहिक सम्बन्धमा समस्या रहेको स्वीकार गरे पनि ममतालाई कुटपिट नगरेको दाबी गरेका थिए। ममता बेपत्ता भएपछि प्रहरीले नरेशको गतिविधि अनुसन्धान गरेको थियो। अदालतमा प्रस्तुत फोन, गाडी र निगरानी क्यामेरासम्बन्धी विवरणले उनी विभिन्न फोहोर संकलन तथा फाल्ने स्थानमा पुगेको देखाएको अभियोजन पक्षको दाबी थियो। नरेशले अदालतमा शवलाई फोहोरमा फाल्ने प्रयास गरेको र त्यसका लागि आराको प्रयोग गरेको स्वीकार गरेका थिए। उनले शवलाई विभिन्न झोलामा राखेर फोहोर फाल्ने स्थानमा पु¥याएको बताएका थिए। तर आफूले ममताको हत्या नगरेको दाबी भने दोहो¥याएका थिए। अनुसन्धानका क्रममा आरासहितका सामग्री अर्का व्यक्तिबाट प्रहरीले बरामद गरेको थियो। उक्त व्यक्तिले नरेशले कामको भुक्तानीस्वरूप आफूलाई आरा दिएको अदालतमा बयान दिएका थिए। ममताको शव फेला नपरे पनि अभियोजन पक्षले प्रस्तुत गरेका वैज्ञानिक र अन्य प्रमाणलाई आधार मानेर जुरीले हत्या अभियोगमा समेत नरेशलाई दोषी ठहर गरेको हो।

ममता अमेरिकाको भर्जिनियास्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा दर्ता प्राप्त नर्सका रूपमा कार्यरत थिइन्। उनी सन् २०२४ जुलाई २७ मा अस्पतालमा देखिएकी थिइन्। त्यसपछि जुलाई २८ मा एक साथीसँग फोनमा कुराकानी गरेकी र आफ्नी सानी छोरीसँगको भिडियो सामाजिक सञ्जालमा राखेको विवरण पनि सार्वजनिक भएको थियो। त्यसपछि उनी अचानक सम्पर्कविहीन भइन्। लगातार काममा नआएपछि अस्पतालका सहकर्मीले उनको अवस्थाबारे चासो देखाएका थिए। ममता बेपत्ता भएको विषयमा प्रहरीलाई जानकारी गराउन नरेशले तत्काल चासो नदेखाएको विवरण पनि अनुसन्धानमा आएको थियो। नरेशले सन् २०२४ अगस्ट ५ मा मात्रै प्रहरीमा ममता हराएको जानकारी गराएका थिए। त्यसको करिब दुई सातापछि अगस्ट २२ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा घरको शयनकक्ष र बाथरुममा रगत हुन सक्ने दाग भेटिएको थियो। त्यसपछि घटनाले हत्या अनुसन्धानको रूप लिएको थियो।

अदालतले नरेशलाई तीनवटै अभियोगमा दोषी ठहर गरे पनि सजाय भने निर्धारण गरिसकेको छैन। उनलाई सजाय सुनाउने सुनुवाइ सन् २०२७ मार्च १२ का लागि तोकिएको छ। त्यसैले अहिले नै उनले कति वर्ष जेल बस्नुपर्ने हुन्छ भन्ने निश्चित भएको छैन। भर्जिनिया राज्यको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ। मृत शरीर लुकाउने तथा मृत शरीरलाई जानाजानी विकृत बनाउने दुवै अभियोगमा छुट्टाछुट्टै एकदेखि पाँच वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ। अन्तिम सजाय अदालतले निर्धारण गर्नेछ। नरेशको धरौटीसमेत खारेज गरिएको छ। सजाय निर्धारण नभएसम्म उनी हिरासतमा रहनेछन्। ममता र नरेश दुवै नेपालमा हुर्किएका थिए। नरेश सन् २०१५ मा अमेरिका पुगेका थिए। अमेरिकी सेनाको रिजर्भमा आबद्ध भएपछि उनी अमेरिकी नागरिक बनेका थिए। सन् २०२० डिसेम्बरमा ममतासँग विवाह गरेका उनले ममताको अमेरिकी नागरिकताका लागि प्रक्रिया अघि बढाएका थिए। ममता आफ्नो आप्रवासनसम्बन्धी अन्तिम अन्तर्वार्ताको करिब एक साताअघि बेपत्ता भएकी थिइन्।

ममताको हत्या प्रकरणले नेपाली समुदायलाई पनि स्तब्ध बनाएको थियो। दुई वर्षभन्दा लामो समयसम्म बेपत्ताको रहस्य बनेको यो घटनामा अब अदालतले नरेशलाई तीनवटै अभियोगमा दोषी ठहर गरेको छ। तर ममताको शव अझै फेला परेको छैन। दोषी ठहर भएको फैसलाले कानुनी प्रक्रियामा महत्वपूर्ण निष्कर्ष दिए पनि परिवारले आफ्नी छोरी, दिदी र आमाको शवसमेत फेला पार्न नसकेको पीडा भने अझै बाँकी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top