युरोपमा बेहालः स्पेनको आमहडतालमा लाखौँको प्रदर्शन, बार्सिलोनामा आगजनी, प्रहरी–नकाबधारीबीच झडप

२६ कात्तिक २०८३, बिहीबार
Share this
695shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

युरोप अहिले युवाहरुको आक्रोश र आन्दोलनको चपेटामा परेको छ । कयौं युरोपेली मुलुकका सरकारहरुलाई अहिले सडकमा उत्रिएको आन्दोलन र उग्र बन्दै गएको प्रदर्शनलाई शान्त पार्न धौ धौ परेको छ । यसैक्रममा स्पेनमा पनि आवास सङ्कट र बढ्दो महँगीविरुद्ध १४ वर्षयताकै पहिलो आमहडताल आह्वान गरिएको छ ।

यसक्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबिच झडप भएको छ । देशका मुख्य मजदुर सङ्गठनहरूले आह्वान गरेको हडतालमा दशौँ हजार मानिस सहभागी भएपछि तनाव उत्पन्न भएको हो । राजधानी मड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा उत्रिएका थिए ।

Advertisement

बार्सिलोनामा नकाबधारी समूहले फोहोर फाल्ने भाँडामा आगो लगाउनुका साथै पसलका सिसा तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । हडतालका कारण स्पेनभर यातायात र सार्वजनिक सेवाहरू नराम्ररी प्रभावित भएका छन् ।

स्पेनमा आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुँदैछ । प्रमुख मजदुर सङ्गठन ‘युजीटी’ का प्रमुख पेपे अल्भारेजले हडतालमा ‘विशाल’ सहभागिता रहेको भन्दै यो सफल भएको बताए । यस्तै, ‘सीसी ओओ’ सङ्गठनका उनाइ सोर्डोले प्रदर्शनमा भएको उपस्थिति ‘निकै महत्त्वपूर्ण’ रहेको उल्लेख गरे ।

बुधबार साँझ बार्सिलोनाको मध्यभागमा हेल्मेट र दङ्गा नियन्त्रण ढालसहित प्रहरीको बाक्लो उपस्थिति थियो। सहरको मुख्य केन्द्र ‘प्लासा दे कातालुन्या’ नजिकैको ‘पासेइग दे ग्रासिया’ क्षेत्रमा केही झडप भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार एक समूहले प्रहरीतर्फ आतिशबाजी प्रहार गर्नुका साथै ‘लेगो’ स्टोरलगायतका पसलमा लुटपाट मच्चाएका थिए।

प्रदर्शनकारीहरूले ‘एप्पल स्टोर’ भित्र पस्ने प्रयाससमेत गरेका थिए । बार्सिलोनाको प्रदर्शनमा सहभागी एक महिलाले संचारमाध्यमसँग कुरा गर्दै प्रदर्शन मुख्यतः शान्तिपूर्ण र ‘उत्साहपूर्ण’ रहेको बताइन्। आवास खर्चको विरोधमा प्रदर्शनमा उत्रिएकी उनले भनिन्, ‘त्यहाँ धेरै बालबालिका र वृद्धवृद्धा पनि सहभागी थिए।’

साँझ ‘लास राम्बलास’ क्षेत्रमा रहेकी उनले सडकमा आगो बलेको देखेको बताउँदै भनिन्, ‘चारैतिर आगो बलेको थियो, अवस्था निकै तनावपूर्ण बन्यो।’ यसअघि दिनको समयमा मड्रिड र बार्सिलोना आसपासका मुख्य सडकहरूमा यातायात ठप्प हुँदा जनजीवन अस्तव्यस्त बनेको थियो।

गृहमन्त्रालयले विभिन्न घटनामा संलग्न दर्जनौँ व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ।  स्पेनी सञ्चारमाध्यमका अनुसार घरजग्गा कारोबार गर्ने कार्यालयहरूमा समेत आक्रमण भएको छ । मड्रिडका एक प्रदर्शनकारीले समाचार संस्था रोयटर्ससँग भने, ‘हामीले सहरलाई पूर्ण रूपमा ठप्प पारेका छौँ।’ आमहडतालमा व्यापक समर्थन रहेको उल्लेख गर्दै उनले थपे, ‘वर्षाको मौसमका बाबजुद सबैजना सडकमा उत्रिएका छन्।’

अर्की प्रदर्शनकारी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आवासको अवस्था अत्यन्तै भयावह रहेको बताइन् । उनले भनिन्, ‘आम्दानीको तुलनामा हालको जीवनयापन खर्च धान्नै नसक्ने अवस्थाको छ।’ सात दशकदेखि मड्रिडको एक फ्ल्याटमा बस्दै आएकी ८७ वर्षीया मारिकार्मेन अबास्कललाई कोठाबाट निकालिएपछि र केही हप्तापछि अस्पतालमा उनको मृत्यु भएपछि सुलभ आवास र महँगीविरुद्ध व्यापक विरोध सुरु भएको थियो।

सोही विरोधले आमहडतालको रूप लिएको हो । पछिल्ला वर्षहरूमा राजधानी मड्रिडमा घरभाडा निकै बढेको छ। घरजग्गासम्बन्धी पोर्टल ‘आइडियालिस्टा’ का अनुसार अक्टोबर महिनामा मड्रिडमा ५० वर्गमिटरको अपार्टमेन्टको औसत मासिक भाडा १ हजार १ सय ७० युरो पुगेको थियो।

जबकि स्पेनको औसत मासिक कुल तलब करिब २ हजार ४ सय ६० युरो मात्र छ। यो भाडा औसत तलबको झन्डै आधा हो, जुन आवास विज्ञ र सार्वजनिक संस्थाहरूले सिफारिस गर्ने ३० प्रतिशतको सीमाभन्दा निकै बढी हो । संसद्ले आवास सुधारसम्बन्धी योजना पारित गर्न अस्वीकार गरेपछि समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना मध्यावधि निर्वाचनको घोषणा गरेका थिए।

सन् २०१२ मा मारियानो राजोयको रूढीवादी सरकारको पालामा भएयता स्पेनमा आमहडताल भएको थिएन । विगतका हडतालहरू तत्कालीन सरकारका लागि टाउको दुखाइ बन्ने गरे पनि यसपटकको अवस्था फरक देखिएको छ। प्रधानमन्त्री सान्चेज र उनका मन्त्रीहरूले समेत कामदारहरूलाई काम रोकेर सुलभ आवासको माग गर्न प्रोत्साहन गरेका छन् ।

यता इटालीका करिब ६ हजार ३०० सरकारी विद्यालयहरूमा इमेलमार्फत बम पड्काउने धम्की आएको छ । यद्यपि, त्यहाँका शिक्षामन्त्री ग्युसेपे वाल्दिताराले यो कुनै वास्तविक खतरा नभई ‘साइबर आक्रमण’ जस्तो देखिएको बताएका छन् ।

अधिकारीहरूका अनुसार बुधबार देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० वटाको आधिकारिक इमेलमा एकै प्रकारको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयहरूलाई भने यस्तो कुनै धम्की आएको छैन ।

राजधानी रोम, नेपल्स, मिलान, जेनोआ, भिसेन्जा, फ्लोरेन्स, पिसा र ट्रिएस्टेसहित देशका थुप्रै प्रमुख शहरका विद्यालयहरूमा उक्त धम्की आएको थियो। सावधानीका रूपमा धेरै विद्यालय भवनहरू खाली गराइएको थियो । शिक्षामन्त्री वाल्दिताराले स्थानीय एक टेलिभिजन च्यानलसँग कुरा गर्दै इटाली र युरोपका अन्य देशहरूमा देखिइरहेका यस्ता गतिविधिपछाडि एउटा स्पष्ट रणनीति हुनसक्ने बताए ।

यसअघि यस्ता धम्कीहरूमा विमान, सुपरमार्केट तथा अस्पतालहरूलाई समेत निशाना बनाइएको उनले स्मरण गराए । यस घटनालाई गम्भीर रूपमा लिँदै प्रधानमन्त्री जर्जिया मेलोनीले वरिष्ठ मन्त्रीहरू र गुप्तचर निकायका प्रमुखहरूसँग उच्चस्तरीय बैठक डाकेकी छन् ।

यस विषयमा उनले विपक्षी दलका नेताहरूसँग पनि छलफल गर्ने तय भएको छ । प्रधानमन्त्री मेलोनीले सरकारले शैक्षिक संस्थाहरूलाई आएको धम्कीलाई नजिकबाट नियालिरहेको बताउँदै हालसम्मको अनुसन्धानमा कुनै पनि ‘ठोस खतरा’ को प्रमाण नभेटिएको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री मेलोनीले भनेकी छन्, ‘यी धम्कीहरू सर्वसाधारणमा डर र त्रास फैलाउने रणनीतिको हिस्साजस्तो देखिन्छन् ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top