एनभिडियाका प्रमुखको पद धरापमा, सेयर ७.५ प्रतिशत घट्यो

२६ कात्तिक २०८३, बिहीबार
Share this
756shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएका व्यक्तिगत सम्बन्धबारे नयाँ खुलासा भएपछि कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । बुधबार नियमित कारोबारका क्रममा एनभिडियाको सेयर मूल्य करिब ७.५ प्रतिशतले घटेको हो ।

यसअघि कारोबारको सुरुवातमा भने कम्पनीको सेयर मूल्य बढेको थियो । द न्युयोर्क टाइम्सका अनुसार हुआङको एनभिडियाकै एक महिला कर्मचारीसँग पनि प्रेम सम्बन्ध रहेको थियो । यसअघि चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलासँग उनको सम्बन्ध रहेको खबर सार्वजनिक भएको थियो ।

Advertisement

द वाल स्ट्रिट जर्नल र फाइनान्सियल टाइम्सका रिपोर्टअनुसार कम्पनीको सञ्चालक समिति (बोर्ड)ले हुआङलाई सीईओ पदमा निरन्तरता दिने वा नदिने विषयमा छलफल गरिरहेको छ । यसअघि उक्त प्रकरणको छानबिन गर्न एनभिडियाले मंगलबार अमेरिकाको एक प्रतिष्ठित कानुनी फर्म नियुक्त गरेको थियो।

कम्पनीको बोर्डले यसअघि हुआङको बचाउ गर्दै उक्त घटनाका कारण कम्पनीको गोप्य सूचना वा राष्ट्रिय सुरक्षामा असर परेको मान्ने कुनै आधार नरहेको बताएको थियो । बुधबार अबेरसम्म बोर्डले यस विषयमा नयाँ धारणा सार्वजनिक गरेको थिएन। कम्पनीका प्रतिनिधि तथा बोर्डका सदस्यहरूसँग प्रतिक्रिया लिन गरिएको प्रयास पनि सफल हुन सकेन ।

एनभिडियाले उत्पादन गर्ने चिप एआई प्रणाली, डेटा सेन्टर, भिडियो गेम तथा चालकविहीन सवारीसाधनलगायत प्रविधिमा प्रयोग हुँदै आएका छन्। विशेषगरी एआई प्रविधिमा चीनलाई उछिन्ने अमेरिकी प्रयासमा यी चिपको महत्त्वपूर्ण भूमिका छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले सन् २०२२ देखि एनभिडियाका सबैभन्दा उन्नत चिप चीन निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ। यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा केही प्रतिबन्ध खुकुलो पारिएको छ ।

विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाले आफ्ना सीईओसँग जोडिएको जासुसी विवादको स्वतन्त्र छानबिन गर्न अमेरिकी प्रतिष्ठित कानुनी फर्म ‘वाचटेल, लिप्टन, रोसेन एन्ड काट्ज’ नियुक्त गरेको हो । विवादबीच हुआंगले कार्यालय पुगेर कर्मचारीहरूसँग आफ्नो त्रुटि स्वीकार गर्दै माफी समेत मागेका छन् ।

कम्पनीले मंगलबार छानबिनको जिम्मेवारी उक्त कानुनी फर्मलाई दिएको घोषणा गरेको हो । पूर्वअमेरिकी महान्याधिवक्ता जुन किमले अनुसन्धानको नेतृत्व गर्ने बताइएको छ । कम्पनीको सञ्चालक समितिले स्वतन्त्र निर्देशकहरूको समितिलाई छानबिनको निगरानी गर्ने जिम्मेवारी दिएको हो ।

यस मामिलामा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले पनि अनुसन्धान गरिरहेको छ । विवादका कारण कम्पनीभित्र असन्तुष्टि र अन्योल बढेको बताइएको छ । यद्यपि, हुआंगले कम्पनीको नियमित कामकाज प्रभावित हुन नदिन प्रयास गरिरहेका छन् ।

यसैबीच, अमेरिकी सिनेटको बैंकिङ समितिका वरिष्ठ रिपब्लिकन सदस्य केभिन क्र्यामर र पूर्वआर्थिक सल्लाहकार ल्यारी कुडलोले हुआंगसँग तत्काल राजीनामा माग गरेका छन् । ‘द न्युयोर्क टाइम्स’को रिपोर्टमा हुआंगको सिंगापुरस्थित डेटा सेन्टर कम्पनीकी पूर्वअधिकारी एलिस हुआंगसँग व्यक्तिगत सम्बन्ध रहेको दाबी गरिएको थियो ।

एलिसलाई अमेरिकी अधिकारीहरूले चीनको संदिग्ध गुप्तचर एजेन्टका रूपमा हेरेका छन् । सिनेटर क्र्यामरले एनभिडियाका चिपहरू अत्यन्त संवेदनशील भएकाले यस सम्बन्धलाई ब्ल्याकमेलको माध्यम बनाउन सकिने जोखिम रहेको बताएका छन् । उनले हुआंग पदमा रहिरहनु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा हुन सक्ने बताए ।

फक्स बिजनेसका प्रस्तोता कुडलोले पनि उनको राजीनामालाई ‘सामान्य सुझबुझको कदम’ भनेका छन् । रिपोर्टहरूका अनुसार एलिस हुआंगले चिनियाँ गुप्तचरका लागि काम गर्दै उन्नत अमेरिकी एआई चिप अवैध रूपमा चीन पु¥याउन सहयोग गरेको आशंका गरिएको छ ।

अमेरिकी संसद्को ‘हाउस सेलेक्ट कमिटी अन चाइना’ले पनि यस प्रकरणले अमेरिका–चीनबीचको एआई प्रतिस्पर्धा र राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ। यसैबीच हुआङको भविष्यबारे चर्चा भइरहेका बेला अमेरिकी खर्बपति एलन मस्कले उनलाई आफ्नो कम्पनीमा काम गर्ने अवसर दिनु सम्मानको विषय हुने बताएका छन् ।

मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा वित्तीय समाचार प्रकाशन गर्ने जिरोहजको एउटा पोस्टमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । यसैबीच, एआई लगानीकर्ता गेविन बेकरले अर्को पोस्टमार्फत एनभिडियाको सञ्चालक समितिले हुआङलाई पदबाट हटाउने निर्णय गर्नुअघि स्वतन्त्र अनुसन्धानको नतिजा कुर्नुपर्ने बताएका थिए ।

उक्त पोस्टमा मस्कले पनि समर्थन जनाउँदै ‘१००’ को इमोजी राखेका थिए । हुआङको नेतृत्वमा रहेको एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको एआई कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो । यसअघि सन् २०२५ को अक्टोबरमा सीएनबीसीसँगको कुराकानीमा हुआङले एक्सएआईमा थप लगानी नगरेकोमा आफूलाई पछुतो लागेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top