जेलेन्स्कीले कि नेटो चुन्नु पर्ने कि डोनबास छाड्नुपर्ने

२९ कात्तिक २०८३, आइतबार
Share this
741shares

२९ कार्तिक , काठमाण्डौ ।       रुस र युक्रेनबीचको जारी युद्ध अन्त्य गर्ने पहल भइरहेका बेला अमेरिकाले युक्रनेलाई नयाँ प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनका अनुसार युक्रेनले डोनबास छाडे नेटो सदस्यता दिने प्रस्ताव अमेरिकाले गरेको छ । युक्रेनले पूर्वी क्षेत्र डोनबासमा आफ्नो नियन्त्रणमा रहेको भूभागबाट सेना फिर्ता बोलाउने र त्यसको बदलामा नेटोको सदस्यता पाउने प्रस्ताव अमेरिकी वार्ताकारहरूले अघि सारेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् । अमेरिकाले भने जेलेन्स्कीको यो भनाइको पुष्टि गरेको छैन । एक अमेरिकी अधिकारीले विभिन्न प्रस्तावमाथि छलफल जारी रहेको तर अन्तिम सम्झौता दुवै पक्षको सहमतिमा मात्र हुने बताएका छन् । जेलेन्स्कीको यो भनाइ अमेरिका र रुसबीच युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी प्रतिनिधिहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेपछि आएको हो ।

Advertisement

युक्रेनले लामो समयदेखि नेटो सैन्य गठबन्धनको सदस्य बन्ने इच्छा राख्दै आएको छ । तर अमेरिका लगायतका केही सदस्य राष्ट्रले यसअघि नै त्यसप्रति अनिच्छा देखाउँदै आएका छन् । रुसले पनि आफ्नो सीमामा नेटोको अर्को सदस्य राष्ट्र थपिनु अस्वीकार्य हुने बताउँदै आएको छ । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । अहिले रुसले औद्योगिक क्षेत्रका रूपमा परिचित डोनबासको अधिकांश भूभाग नियन्त्रणमा लिएको छ । तर जेलेन्स्कीले युक्रेन आफ्नो सार्वभौम भूभाग त्याग्न तयार नरहेको धारणा निरन्तर राख्दै आएका छन् । ‘अमेरिकीहरूले एउटा प्रश्न उठाए यदि युक्रेन नेटोको सदस्य बन्यो भने के युक्रेन डोनबासबाट पछि हट्न तयार हुन्छ? यसअघि पहिलोपटक यस्तो प्रश्न उठाइएको हो,’ जेलेन्स्कीले शनिबार आफ्नो कार्यालयमार्फत सार्वजनिक गरिएको भनाइमा उल्लेख गरेका छन् ।उनले सुरक्षा प्रत्याभूति, युक्रेनी सेनाको क्षमतामाथि कुनै बन्देज नलगाइने सुनिश्चितता र देशको पुनर्निर्माणका लागि आर्थिक सहयोगसहितको ठोस प्रस्ताव आए त्यसलाई जनमतसङ्ग्रहमार्फत निर्णयका लागि जनतासमक्ष लैजाने बताएका छन् । अमेरिकी प्रतिनिधि जारेड कुश्नर र स्टिभ विटकफले रुसी राष्ट्रपति पुटिनसँग मस्कोमा वार्ता गरेपछि बिहीबार आयरल्यान्डको राजधानी डब्लिन पुगेर जेलेन्स्कीसँग भेट गरेका थिए । रुसी राष्ट्रपति पुटिन र क्रेमलिनका अधिकारीहरूको पछिल्लो अभिव्यक्तिले युद्धबारे मस्कोको अडानमा कुनै परिवर्तन नआएको सङ्केत गर्छ । रुसले यसअघि पनि शान्ति सम्झौताका लागि युक्रेनी सेनाको आकारमा सीमा तोकिनुपर्ने, भूभाग त्याग्नुपर्ने र युक्रेनले भविष्यमा नेटोमा आबद्ध नहुने सुनिश्चित गर्नुपर्ने सर्त राख्दै आएको छ ।अमेरिकाबाहेक नेटोका अन्य सदस्य राष्ट्रहरू पनि युक्रेनलाई गठबन्धनमा समेट्ने विषयमा सतर्क देखिएका छन् । युक्रेनले स्वयं पनि तत्काल नेटो सदस्यता पाउने सम्भावना न्यून रहेको बुझेको छ । क्रेमलिनले पनि युक्रेनको नेटो सदस्यताको सम्भावनालाई सधैँ कडा रूपमा विरोध गर्दै आएको छ। रुसले युद्ध सुरु गर्नुको एउटा प्रमुख कारण यही विषयलाई बनाउँदै आएको छ । डोनबासको कब्जामा रहेको भूभागबारे युक्रेनको अडान बुझ्न अमेरिकी प्रतिनिधिहरूले यस्तो प्रस्ताव अघि सारेको हुन सक्ने विश्लेषण गरिएको छ । जेलेन्स्कीले यसअघि पनि अमेरिकी मध्यस्थकर्ताहरूले शान्ति स्थापनाका लागि युक्रेनले मात्रै भूभाग त्याग्नुपर्ने धारणा राख्दै दबाब दिइरहेको बताएका थिए । उनीहरू सकेसम्म छिटो सम्झौतामा पुग्न चाहेको जेलेन्स्कीको भनाइ थियो ।

यसबीच रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । अमेरिकी विशेष दूत जेरेड कुसनरले रुस र युरोपेली देशहरूबिच प्रत्यक्ष संवाद गराउने तथा रुस, युक्रेन र अमेरिकाबिच त्रिपक्षीय वार्ताको अर्को चरणको तयारी भइरहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी विशेष दूत स्टिभ विटकफसँग मिलेर रुस, युक्रेन र युरोपेली साझेदारहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार पछिल्ला वार्तामा शान्ति स्थापनाका लागि केही नयाँ प्रस्तावसमेत अघि सारिएका छन् । कुसनरले स्थायी शान्तिका लागि युक्रेनलाई विश्वसनीय सुरक्षा प्रत्याभूति आवश्यक रहेको बताएका छन् । युद्धपछि पुनः सैन्य टकराब हुन नदिन व्यावहारिक सुरक्षा व्यवस्था र सैन्य समन्वयको आवश्यकता रहेको उनको भनाइ छ । उनले युरोपको सुरक्षाका लागि नेटोको भूमिका पनि महत्त्वपूर्ण रहने उल्लेख गरे ।

Advertisement

शान्ति वार्तामा युरोपेली सहभागिता बढाउने प्रयाससमेत भइरहेको छ । बेलायत, फ्रान्स, जर्मनी, इटाली र पोल्यान्डले आगामी वार्तामा आफ्ना प्रतिनिधि पठाउने भएका छन् । युद्धविराम भए युक्रेनको सुरक्षा सुनिश्चित गर्न प्रस्तावित ‘कोलिसन अफ द विलिङ’ अन्तर्गत सैनिक योगदान गर्ने इच्छासमेत यी देशले देखाएका छन् । यसअघि अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबिच त्रिपक्षीय वार्ता भएको थियो । उक्त वार्ताले युद्ध अन्त्य गर्ने विषयमा ठोस सहमति जुटाउन नसके पनि युद्ध सुरु भएयताकै ठूलो बन्दी आदान प्रदानको तयारी भने अघि बढाएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली देशहरूलाई शान्ति वार्तामा समान हैसियतसहित सहभागी गराउनुपर्ने बताएका छन् । युरोपको सुरक्षासम्बन्धी विषयमा युरोपेली देशहरूको सहभागिताबिना निर्णय गर्न नसकिने उनको भनाइ छ ।

तर रुसले सम्भावित शान्ति सम्झौतापछि युक्रेनमा विदेशी सैनिक तैनाथ गर्ने प्रस्तावको विरोध गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी भूमिमा कुनै पनि विदेशी सैनिकको उपस्थिति रुसका लागि स्वीकार्य नहुने स्पष्ट पारेका छन् । अमेरिकाको मध्यस्थतामा कूटनीतिक प्रयास अघि बढे पनि युक्रेनको क्षेत्रीय अखण्डता, युद्धपछिको सुरक्षा व्यवस्था र विदेशी सैनिकको तैनाथीजस्ता विषयमा रुस र युक्रेनबिच गम्भीर मतभेद कायम छन् । त्यसैले शान्ति वार्ताले ठोस परिणाम दिने विषय अझै अनिश्चित छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top