रोनाल्डोको सम्मानमा ‘रोनाल्डो गोट’, सबै खेलाडी ७ नम्बरे जर्सीमा

२९ कात्तिक २०८३, आइतबार
Share this
743shares

२९ कार्तिक , काठमाण्डौ ।    अन्तर्राष्ट्रिय फुटबलबाट रोनाल्डोले संन्यास घोषणा गरेपछिको पहिलो खेलमै पोर्चुगलले घरेलु मैदानमा डेनमार्कसँग ४–१ गोलको फराकिलो हार बेहोरेको छ । शनिबार राति ब्रागास्थित एस्तादियो म्युनिसिपलमा भएको यूईएफए नेसन्स लिगको खेलमा डेनमार्कले पोर्चुगललाई उसकै समर्थकमाझ स्तब्ध बनाएको हो । रोनाल्डोको बिदाइलाई विशेष बनाउन पोर्चुगलले कुनै कसर बाँकी राखेको थिएन । तर, मैदानमा भने उनको अनुपस्थितिपछि नयाँ अध्याय सुरु गर्न खोजेको पोर्चुगलले सुखद सुरुवात गर्न सकेन । बरु डेनमार्कले आक्रामक र प्रभावशाली खेल देखाउँदै पोर्चुगलको रक्षापंक्तिको कमजोरी उदाङ्गो पारिदियो ।

Advertisement

यो हार केवल तीन अंक गुमाउनु मात्र थिएन, रोनाल्डोबिनाको पोर्चुगलले अब कस्तो चुनौती सामना गर्नुपर्नेछ भन्ने संकेत पनि थियो । ४१ वर्षीय रोनाल्डोले नोभेम्बर ५ मा सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका थिए । सन् २००३ अगस्ट २० मा काजकिस्तानविरुद्धको खेलबाट पोर्चुगलको राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रालाई टुङ्ग्याएका हुन् । यो यात्रामा रोनाल्डोले केवल गोल र कीर्तिमान मात्र बनाएनन्, पोर्चुगल फुटबलको इतिहास नै बदलिदिएका थिए ।
उनले राष्ट्रिय टोलीका लागि २३४ खेल खेल्दै विश्व कीर्तिमानी १४६ गोल गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान रोनाल्डोकै नाममा छन् । रोनाल्डोको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।त्यसैगरी सन् २०१९ र २०२५ मा यूईएफए नेसन्स लिगको उपाधि जित्दा पनि उनी टोलीका महत्वपूर्ण सदस्य थिए । त्यति मात्र होइन रोनाल्डोले लगातार ६ वटा विश्वकपमा गोल गर्ने दुर्लभ कीर्तिमानसमेत बनाएका छन् । सन् २००६ देखि २०२६ सम्मका विश्वकपमा सहभागी भएका रोनाल्डोले विश्वकपमा ११ गोल गरेका छन् । तर, उनको करिअरमा विश्वकपको उपाधि जित्ने सपना भने अधुरै रह्यो ।यस्तोमा रोनाल्डोको योगदानलाई सम्मान गर्न डेनमार्कविरुद्धको खेलअघि पोर्चुगलले विशेष कार्यक्रम आयोजना ग¥यो । वार्मअपका क्रममा सबै खेलाडीले रोनाल्डोको नाम र चर्चित ७ नम्बर अङ्कित जर्सी लगाए । खेलाडीहरू पनि उनको सम्मानमा विशेष जर्सी लगाएर मैदान प्रवेश गरे । रङ्गशालामा समर्थकले ‘रोनाल्डो गोट’ लेखिएको विशेष टिफो प्रदर्शन गरे । ‘थ्याङ्क यू क्याप्टेन’ अर्थात् कप्तानलाई धन्यवाद भन्ने सन्देशसहितका ब्यानर पनि देखिए । खेलको सातौँ मिनेटमा रङ्गशालाको ठूलो पर्दामा रोनाल्डोको तस्बिर र सम्मान सन्देशसहित खेल पनि केही समय रोकियो । त्यसपछि हजारौँ समर्थक आफ्नो स्थानबाट उठेर ताली बजाउन थाले । रोनाल्डोको नाममा नाराबाजी गर्दै उनीहरूले आफ्नो प्रिय कप्तानप्रतिको सम्मान व्यक्त गरे । रङ्गशालामा रोनाल्डोको चर्चा चलिरहँदा मैदानमा भने डेनमार्कले पोर्चुगललाई दबाबमा राख्दै पहिलो हाफको ४३औँ मिनेटमा अग्रता लियो । डेनमार्कका स्ट्राइकर रासमुस होयलुन्डको हेडर रोक्ने क्रममा पोर्चुगलका डिफेन्डर रुबेन डियासको हातमा बल लागेपछि डेनमार्कले पेनाल्टी पायो । प्राप्त अवसरलाई पियरे एमिल होयबर्गले सदुपयोग गर्दै गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको डेनमार्कले दोस्रो हाफमा पनि पोर्चुगललाई सम्हालिने मौका नै दिएन ।

खेलको ५१औँ मिनेटमा मिकेल डाम्सगार्डको उत्कृष्ट पासमा होयलुन्डले भलीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको सात मिनेटपछि अर्थात् ५८औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपे । यसपटक होयबर्गको पासलाई सदुपयोग गर्दै उनले पोर्चुगलको रक्षापंक्तिलाई पुनः निराश बनाए । डेनमार्कको आक्रमण यतिमै रोकिएन । खेलको ७५औँ मिनेटमा माथियस जेन्सनको क्रसमा जोआखिम एन्डरसनले शक्तिशाली हेडरमार्फत गोल गरे । त्यससँगै डेनमार्क ४–० को अवस्थामा पुग्यो । खेलको इन्जुरी समयको चौथो मिनेटमा जोआओ नेभेसको प्रहार गोलकिपरले रोकेपछि प्राप्त रिबाउन्डमा बर्नार्डो सिल्भाले गोल गरे । तर, उनको गोल पोर्चुगलका लागि सान्त्वनाभन्दा बढी हुन सकेन । अन्ततः पोर्चुगलले घरेलु समर्थकमाझ ४–१ को हार बेहोर्नुप¥यो ।पोर्चुगलको हारको चर्चामध्ये एउटा रोनाल्डोको अनुपस्थिति पनि रह्यो।

Advertisement

यद्यपि, हारको सम्पूर्ण दोष उनको अनुपस्थितिलाई दिन मिल्दैन, तर टोलीको आक्रमण र समग्र खेलमा देखिएको कमजोरीले उनको प्रभाव कति ठूलो थियो भन्ने बहसलाई फेरि सतहमा ल्याएको छ । रोनाल्डोको स्थानमा अग्रपङ्क्तिको जिम्मेवारी पाएका गोन्सालो रामोसले अपेक्षित प्रभाव पार्न सकेनन् । जोआओ फेलिक्स, पेड्रो नेटो र ब्रुनो फर्नान्डेसले पनि डेनमार्कको रक्षापंक्तिलाई ठूलो चुनौती दिन सकेनन् । पोर्चुगलले खेलमा अवसर सिर्जना गर्ने प्रयास गरे पनि गोलमा परिणत गर्न भने सकेन । अर्कोतर्फ डेनमार्कले प्राप्त अवसरलाई प्रभावकारी रूपमा सदुपयोग ग¥यो ।डेनमार्कका होयलुन्ड यस खेलका सबैभन्दा प्रभावशाली खेलाडी बने । दुई गोल गरेका उनले पोर्चुगलको रक्षापंक्तिलाई लगातार समस्यामा पारे ।

रोनाल्डोको स्थानमा ७ नम्बरको जर्सी पाएका कार्लोस फोब्र्सले पनि मैदानमा अपेक्षित प्रभाव देखाउन सकेनन् । यसले पोर्चुगलले अब रोनाल्डोको उत्तराधिकारी खोज्ने चुनौती सामना गर्नुपर्ने देखाएको छ ।समग्रमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए पनि रोनाल्डोले क्लब फुटबल भने जारी राख्नेछन् । उनी हाल साउदी अरबको अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । अर्कोतर्फ डेनमार्कसँग पराजित भए पनि पोर्चुगल नेसन्स लिगको समूह ए–४ को शीर्ष स्थानमै छ । किनकी पाँच खेलबाट १२ अंक जोडेको पोर्चुगलले यसअघि नै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै डेनमार्क पाँच खेलबाट नौ अंकसहित दोस्रो स्थानमा छ । अब समूह चरणको अन्तिम खेलमा डेनमार्कले नर्वेको सामना गर्नेछ भने पोर्चुगलले वेल्ससँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top