०१ मंसिर , काठमाण्डौ । मस्तिष्क, मेरुदण्ड र स्नायु प्रणालीमा देखिने समस्या सामान्य टाउको दुखाइ वा शरीर झमझमाउने अवस्थामै सीमित नहुन सक्छन्। कतिपय अवस्थामा यस्ता लक्षण गम्भीर न्युरोलोजिकल रोगका संकेतसमेत हुन सक्छन्। अझ पक्षघात अर्थात् स्ट्रोकजस्ता समस्यामा उपचारमा हुने सामान्य ढिलाइले समेत जीवनभर अपाङ्गता वा ज्यान जाने जोखिम निम्त्याउन सक्छ।
शरीरको चालढाल, बोली, स्मरणशक्ति, सोच्ने क्षमता र विभिन्न अंगबीचको समन्वय नियन्त्रण गर्ने मस्तिष्क तथा स्नायु प्रणालीमा समस्या आउँदा शरीरका विभिन्न कार्य प्रभावित हुन्छन्। पक्षघात, मिर्गी, माइग्रेन, मस्तिष्कको ट्युमर, मेरुदण्डसम्बन्धी समस्या, पार्किन्सन तथा नसासम्बन्धी रोग न्युरोलोजिकल समस्याका प्रमुख उदाहरण हुन्। अचानक अनुहार बाङ्गिनु, शरीरको एक भाग कमजोर हुनु, बोली अस्पष्ट हुनु, असह्य टाउको दुख्नु, बेहोस हुनु वा हातखुट्टा असामान्य रूपमा झमझमाउनु यस्ता रोगका सम्भावित संकेत हुन्। विशेषगरी अनुहार बाङ्गिने, हात कमजोर हुने र बोली बिग्रिने लक्षण देखिएमा समय नखेर फाली तत्काल अस्पताल पुग्नुपर्छ।
न्युरोसम्बन्धी सबै रोग निको नहुने भन्ने धारणा पनि सही होइन। रोगको प्रकृति, गम्भीरता र उपचार सुरु गरिएको समयअनुसार धेरै समस्यालाई नियन्त्रण गर्न तथा प्रभावकारी उपचार गर्न सकिन्छ। तर लक्षणलाई सामान्य ठानेर बस्ने, आफैँ औषधि सेवन गर्ने वा घरेलु उपचारमा निर्भर रहने प्रवृत्तिले जोखिम बढाउन सक्छ।

यही विषयमा जनचेतना अभिवृद्धि गर्दै न्युरोलोजिकल रोगको पहिचान र उपचारलाई सहज बनाउने उद्देश्यसहित विराटनगरको कञ्चनबारीस्थित आर्या न्युरो अस्पतालले सेवा प्रदान गर्दै आएको छ। न्युरो सर्जन डा. पंकज राज नेपालको नेतृत्वमा सञ्चालित अस्पतालले मस्तिष्क तथा मेरुदण्डसम्बन्धी जटिल समस्या, पक्षघात, मिर्गी, टाउको दुखाइ तथा अन्य स्नायु प्रणालीसम्बन्धी रोगको उपचार र आवश्यक शल्यक्रियामा केन्द्रित सेवा दिँदै आएको जनाएको छ।
न्युरो रोग उमेरसँग मात्र सम्बन्धित हुँदैन। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म जोकोहीलाई यस्तो समस्या हुन सक्छ। उच्च रक्तचाप, मधुमेह, धूमपान, अस्वस्थ खानपान र शारीरिक निष्क्रियताले पनि केही न्युरोलोजिकल रोगको जोखिम बढाउन सक्छन्। त्यसैले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, शारीरिक सक्रियता र दीर्घरोगको उचित नियन्त्रणमा ध्यान दिनु आवश्यक छ।
मस्तिष्क र स्नायु प्रणालीको स्वास्थ्यलाई बेवास्ता नगरौँ। लक्षण चाँडै चिनौँ, विशेषज्ञ चिकित्सकको परामर्श लिऔँ र आवश्यक उपचार समयमै सुरु गरौँ।



