रविलाई जेल पठाउनेहरू रविकै प्रशंसक, बालेनसँग भिडाउने रणनीति ?

३ मंसिर २०८३, बिहीबार
Share this
727shares

३ मंसिर , काठमाण्डौ।     राजनीतिमा सबैभन्दा सजिलो काम हो—दुई नेताबीच अविश्वासको बीउ रोप्नु, सामान्य असहमतिलाई विवाद बनाउनु र हरेक गतिविधिलाई सम्बन्ध बिग्रिएको प्रमाणका रूपमा प्रस्तुत गर्नु । अहिले नेपाली राजनीतिमा रवि लामिछाने र बालेन्द्र शाह (बालेन) को सम्बन्धलाई लिएर यस्तै प्रयास भइरहेको देखिन्छ। उनीहरूबीच कहिले कुरा मिलेन, कहिले निर्णयमा मतभेद भयो, कहिले प्रधानमन्त्रीले पार्टी सभापतिको कुरा सुनेनन्, कहिले सभापतिले सरकारको काममा हस्तक्षेप गरे भन्ने चर्चा निरन्तर चलिरहेको छ। यतिसम्मकी बालेनले रविलाई चाडै थुन्ने सम्मको सार्वजनिक अभिब्यक्ति नै नेताहरुले दिन थालेका छन् ।

Advertisement

वास्तवमै उनीहरूबीच सम्बन्ध बिग्रिएको हो कि उनीहरूको सहकार्य भत्कियोस् भन्ने चाहना राख्नेहरू आफ्नो इच्छा पूरा भएको हेर्न आतुर भएका हुन् भन्ने कुरा बुझ्न जरुरी छ । हुन त नेपालमा विगत ३० वर्षदेखि सत्तामा पुगेका दिनदेखि जसको सरकार बने पनि आज ढल्छ, भोलि ढल्छ भन्दै राजनीतिको रोटी सेक्ने गरिआएको देखिन्छ । तीन दशकसम्मको राजनीतिक इतिहास हेर्ने हो भने नेपालमा हरेक वर्ष सरकार परिवर्तन भएको पाइन्छ । लामो समयदेखि एउटै कुरा देख्दै आएकाहरूले अहिले पनि हिजोकै जस्तो अनुमान लगाएका हुन सक्छन्।हुन त रवि लामिछाने र बालेन एउटै राजनीतिक पाठशालाका विद्यार्थी होइनन्। उनीहरूको राजनीतिक यात्रा पनि एउटै बाटोबाट अघि बढेको होइन। बाल्यकालदेखि वयस्क हुँदै युवावस्थासम्म उनीहरूबीच कुनै राजनीतिक सहकार्य थिएन। न उनीहरू सहपाठी थिए, न एउटै राजनीतिक संगठनमा लामो समय बिताएका सहयात्री। तर देशको राजनीतिक परिस्थितिले उनीहरूलाई एउटै ठाउँमा ल्यायो । पुराना दलप्रतिको असन्तुष्टि, राजनीतिक नेतृत्वप्रतिको निराशा, जेनजी आन्दोलन र नयाँ विकल्पको खोजीले उनीहरूलाई एकै ठाउँमा उभ्यायो । उनीहरूले छोटो समयमा सहकार्यको बाटो रोजे र देशलाई नयाँ राजनीतिक दिशा दिने दाबीका साथ अघि बढे।त्यो सहकार्यको पहिलो राजनीतिक रोडम्याप सफल भयो। रवि लामिछानेले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे। बालेनले रविलाई पार्टी सभापतिका रूपमा प्रस्ताव गरे । निर्वाचनमा पार्टीले ठूलो जनमत प्राप्त ग¥यो। त्यसपछि महाधिवेशन सम्पन्न भयो र रवि पार्टी सभापति बने। राजनीतिक रूपमा फरक पृष्ठभूमिबाट आएका दुई व्यक्तिले एकअर्काको भूमिकालाईस्वीकार गर्दै बनाएको सहकार्यले छोटो समयमै राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पा¥यो । यही सहकार्यबाट बनेको राजनीतिक शक्तिले सरकारको नेतृत्व सम्हालेको पनि नौ महिना भइसकेको छ ।तर सरकार गठन भएदेखि सुरु भएका रवि र बालेनको सम्बन्धका अनेकन चर्चा अझै सेलाएका छैनन् । उनीहरूबीच यो विषयमा कुरा मिलेन, त्यो निर्णयमा मतभेद भयो, पार्टी र सरकारबीच दूरी बढ्यो भन्ने समाचार र टिप्पणी सार्वजनिक भइरहेका छन्। कतिपयले त उनीहरूबीचको सम्बन्धमा दरार परिसकेको निष्कर्षसमेत सुनाउन थालेका छन्। तर यस्ता चर्चाको आधार के हो? कुनै औपचारिक निर्णयमा मतभेद देखिएको छ? पार्टीको नेतृत्व र सरकारबीचको सम्बन्ध औपचारिक रूपमा बिग्रिएको छ? वा सामान्य राजनीतिक संवाद र जिम्मेवारीको बाँडफाँटलाई नै विवादको विषय बनाइएको हो ? भन्ने कुरा बुझ्न जरुरी हुन्छ।लोकतान्त्रिक राजनीतिमा पार्टी र सरकार एउटै संरचना होइनन्। पार्टीको नेतृत्व गर्ने व्यक्तिको जिम्मेवारी र सरकारको नेतृत्व गर्ने व्यक्तिको जिम्मेवारी फरक हुन्छ । पार्टी सभापतिले संगठन, राजनीतिक दिशा र पार्टीको भविष्य हेर्नुपर्छ । प्रधानमन्त्रीले संविधान, कानुन र राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्नुपर्छ । यी दुई भूमिकाबीच छलफल हुनु स्वाभाविक हो ।

कहिलेकाहीँ फरक धारणा आउनु पनि अस्वाभाविक होइन। तर फरक धारणा आउनुलाई नै सम्बन्ध विच्छेदको संकेत ठान्नु राजनीतिक अपरिपक्वता हो ।रवि र बालेनको सहकार्यलाई कमजोर पार्न चाहनेहरूका लागि उनीहरूबीचको सानो असमझदारी पनि ठूलो राजनीतिक अवसर बन्न सक्छ । विशेषगरी रवि लामिछानेको राजनीतिक यात्रामा कठिन समय ल्याउन भूमिका खेलेका पुराना राजनीतिक शक्तिहरू अहिले उनीहरूबीचको सम्बन्धलाई लिएर बढी चासो राखिरहेका देखिन्छन्। सहकारी प्रकरणका आरोप र मुद्दाका कारण रविले लामो समय कानुनी तथा राजनीतिक चुनौती सामना गर्नुपरेको छ । देशका विभिन्न ठाउँमा हिरासत र जेलको अवस्थासमेत भोगेका रविका लागि प्रधानमन्त्री बालेन नेतृत्वको सरकार आफ्नै पार्टीको सरकार हो । यस्तो अवस्थामा उनीहरूबीच दूरी बढेको देख्न चाहने राजनीतिक शक्तिहरूको रुचि हुनु अस्वाभाविक होइन। हिजो रविलाई कमजोर बनाउन सक्रिय देखिएका कतिपय राजनीतिक वृत्तले आज बालेनलाई रविभन्दा राम्रो देखाउन थालेको राजनीतिक विडम्बना पनि कम रोचक छैन ।तर राजनीति भावनाले मात्र चल्दैन । हिजो कसले कसलाई दुःख दियो भन्ने कुरा एउटा पक्ष हो, आज कसले जनताको अपेक्षा पूरा गर्छ भन्ने कुरा अर्को पक्ष हो। रवि र बालेनले आफ्नो राजनीतिक सहकार्यलाई पुराना दलसँगको असन्तुष्टिको जगमा मात्र टिकाएर पुग्दैन। उनीहरूले जनतासामु गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ । उनीहरूको एकता कसैलाई मन परोस् वा नपरोस्, त्यसको अन्तिम फैसला जनताको अपेक्षा र परिणामले गर्नेछ ।

Advertisement

यसैबीच, रवि लामिछानेले छठ पर्व मनाउन मधेस पुगेका बेला पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन्। यो अभिव्यक्ति आफैँमा अर्थपूर्ण छ। यदि पार्टी सभापति र प्रधानमन्त्रीबीच गम्भीर दूरी बढेको भए त्यसलाई सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्ने आवश्यकता नै किन पथ्र्यो? रविको भनाइलाई उनीहरूबीच कुनै पनि विषयमा मतभेद छैन भन्ने अन्तिम प्रमाण मान्न मिल्दैन। तर पार्टी र सरकारबीच विवाद रहेको भन्दै भइरहेका चर्चालाई उनले अस्वीकार गरेको सन्देश भने यसले दिएको छ। राजनीतिक सम्बन्धको वास्तविकता बाहिर आउने अनुमान र हल्लाबाट होइन, उनीहरूको व्यवहार, निर्णय र सार्वजनिक जिम्मेवारीबाट बुझ्नुपर्छ।रवि र बालेनको सम्बन्धलाई लिएर भइरहेको बहसमा अर्को पक्ष पनि छ। रवि पार्टी सभापति हुन्, बालेन प्रधानमन्त्री । पार्टीको राजनीतिक निर्णय र सरकारको कार्यकारी निर्णयबीच समन्वय आवश्यक छ। तर प्रधानमन्त्रीले पार्टीको हरेक निर्णयमा मात्र भर पर्नुपर्ने वा पार्टी सभापतिले सरकारका हरेक काममा हस्तक्षेप गर्नुपर्ने होइन । दुवैले आ–आफ्नो जिम्मेवारीको सीमा बुझ्नुपर्छ। पार्टी र सरकारबीच नियमित संवाद, स्पष्ट कार्यविभाजन र साझा राजनीतिक उद्देश्य आवश्यक हुन्छ । यी कुरा कायम छन् भने बाहिरबाट फैलाइएका हल्लाले सहकार्य भत्काउन सक्दैनन् ।

तर संवाद कमजोर भयो, निर्णयमा पारदर्शिता रहेन र एकअर्काको भूमिकालाई सम्मान गरिएन भने समस्या वास्तविक बन्न सक्छ । त्यसैले उनीहरूको सहकार्यको परीक्षा फोटो सार्वजनिक भयो कि भएन भन्ने होइन, व्यवहारमा कति समन्वय छ भन्ने हो।रवि र बालेनले जनताबाट पाएको समर्थन उनीहरूको व्यक्तिगत लोकप्रियताको मात्र परिणाम थिएन । त्यो पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टि र नयाँ विकल्प प्रतिको आशा पनि थियो । उनीहरूले त्यो आशालाई मतमा बदले । अब त्यही जनमतलाई सुशासन, विकास, रोजगारी, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा रूपान्तरण गर्नुपर्ने जिम्मेवारी उनीहरूको काँधमा छ । सरकार गठन भएको नौ महिनामा जनताले उनीहरूको सम्बन्धको गहिराइ भन्दा पनि सरकारको कामको परिणाम खोजिरहेका छन् । महँगी, बेरोजगारी, सेवा प्रवाहको ढिलासुस्ती, प्रशासनिक बेथिति र भ्रष्टाचारका विषयमा जनताले ठोस परिवर्तन चाहेका छन् । राजनीतिक नेतृत्वबीचको सम्बन्ध राम्रो छ कि छैन भन्नेभन्दा पनि त्यसको प्रभाव जनताको दैनिक जीवनमा कस्तो परेको छ भन्ने महत्त्वपूर्ण हो।
रवि र बालेनले पनि आफ्नो सहकार्यलाई केवल एकअर्काको लोकप्रियतामा निर्भर राख्नु हुँदैन।

उनीहरूले साझा राजनीतिक उद्देश्य, स्पष्ट जिम्मेवारी र जनताप्रतिको जवाफदेहितालाई केन्द्रमा राख्नुपर्छ। कसले ठूलो नेता भन्ने प्रतिस्पर्धाभन्दा कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा आवश्यक छ। पार्टी सभापति र प्रधानमन्त्रीबीचको सम्बन्ध व्यक्तिगत निकटतामा मात्र होइन, संस्थागत विश्वासमा आधारित हुनुपर्छ। जनताको मतले दिएको अवसरलाई आपसी अविश्वास र शक्ति संघर्षमा खेर फाल्ने छुट उनीहरूलाई छैन।पहिलो रोडम्याप निर्वाचन थियो, त्यसमा उनीहरू सफल भए। दोस्रो रोडम्याप सुशासन र परिणाममुखी सरकार हो, त्यसको परीक्षा अझै बाँकी छ। निर्वाचन जित्नु र सरकार चलाउनु एउटै कुरा होइन। जनताको आशा जगाउनु र त्यो आशा पूरा गर्नुबीच ठूलो अन्तर छ। अब उनीहरूले त्यो अन्तर घटाउन सक्नुपर्छ।

त्यसैले अहिलेको मूल प्रश्न रवि र बालेनको झगडा कहिले सुरु हुन्छ भन्ने होइन, उनीहरूको सहकार्यले जनतालाई कस्तो परिणाम दिन्छ भन्ने हो। उनीहरूबीच विवाद खोज्नेहरूले अझै केही समय प्रतीक्षा गर्नुपर्ने हुन सक्छ। किनकि रविले पार्टी र सरकारबीच विवाद नरहेको स्पष्ट पारिसकेका छन्। तर त्यो सहकार्य कति बलियो छ भन्ने प्रमाण भाषणले होइन, कामले दिनुपर्छ। जनतालाई रवि र बालेनको झगडा हेर्नु छैन, उनीहरूले गरेको वाचा पूरा भएको हेर्नु छ। उनीहरूको फाटोभन्दा सरकारको परिणाम महत्त्वपूर्ण छ। र, उनीहरूको सम्बन्ध भत्किएको समाचारभन्दा देशको अवस्था सुध्रिएको समाचार सुन्ने चाहना जनतामा अधिक छ ।

यो देख्न नचाहनेहरू आज बालेनभन्दा रविलाई राम्रो देख्न थालेका छन्। आफ्नो पार्टीको नेतृत्वमा सरकार हुँदा रवि दुनियाँकै सबैभन्दा फटाहा देख्थे। जिल्ला–जिल्लाका जेलमा दौडाउँथे, तर तिनै रवि आज उनीहरूका लागि असल पात्र बन्न थालेका छन्। नेकपा एमालेका नेता विशाल भट्टराईले बालेनको तुलनामा रवि धेरै राम्रो भनेका छन्। उनले प्रधानमन्त्री बालेनको ठाउँमा रवि लामिछाने भएको भए बढी परिपक्व ढंगले संवाद र समन्वय गर्न सक्ने भन्दै प्रशंसा समेत गर्न भ्याएका छन्।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच शक्ति संघर्ष चलिरहेको दाबी गर्दै रास्वपाभित्रको विवाद कुनै पनि बेला टकरावमा परिणत हुन सक्ने बताएका छन् । पार्टी सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचको शक्ति संघर्षले यस्तो अवस्था सिर्जना गरेको भन्दै उनले बालेनले रविलाई थुन्ने वा रविले प्रधानमन्त्रीलाई पदबाट हटाउने परिस्थिति आउन सक्ने दाबी गरेका छन् ।

‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ,’ पुनले भनेका छन्, ‘कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य हुनेछैन।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top