९ वर्षमा इस्लाम विश्वको सबैभन्दा ठूलो धर्म बन्ने, हिन्दु जनसंख्या बढेपनि हिस्सा घट्ने

३ मंसिर २०८३, बिहीबार
Share this
797shares

३ मंसिर , काठमाण्डौ।    प्यू रिसर्च सेन्टरले आगामी वर्षहरुमा विश्व र नेपाल–भारतमा पनि धर्म आधारित जनसंख्यामा निकै बदलाव हुने रिपोर्ट जारी गरेको छ । बुधवार जारी रिपोर्टमा अफ्रिका, एशिया, यूरोप र बाँकी विश्वमा पनि सन् २०३५ र २०७० सम्म कसरी परिवर्तन हुन्छ भन्ने देखाएको छ । भारतका बारेमा २०७० सम्मको अनुमान रिपोर्टमा गरिएको छ । रिपोर्टअनुसार भारतको धार्मिक जनसंख्यामा खासै परिवर्तन आउँदैन, तर मुस्लिमहरु र अन्य धर्मको तुलनामा हिन्दुहरुको जनसंख्या कम बढ्दा जनसांख्यिक समीकरणमा भने केही परिवर्तन आउने छ । यता विश्वको धार्मिक जनसांख्यिक संरचनामा भने उल्लेखनीय परिवर्तन आउन सक्ने प्यू रिसर्च सेन्टरको नयाँ अध्ययनले देखाएको हो । अध्ययनअनुसार, मुस्लिम जनसंख्याको तीव्र वृद्धिका कारण सन् २०३५ सम्म इस्लाम विश्वको सबैभन्दा ठूलो धर्म बन्न सक्छ । हाल सबैभन्दा धेरै अनुयायी इसाई धर्मका छन् । दोस्रो स्थानमा इस्लाम छ ।

Advertisement

प्यू रिसर्च सेन्टरले नोभेम्बर १८ मा सार्वजनिक गरेको ‘द फ्युचर अफ वल्र्ड रिलिजन्स ः पपुलेसन ग्रोथ प्रोजेक्सन्स, २०२०–२०७०’ प्रतिवेदनमा २०१ देश तथा क्षेत्रमा धार्मिक जनसंख्याको आगामी प्रवृत्ति विश्लेषण गरिएको छ । अध्ययनमा जन्मदर, मृत्युदर, उमेर संरचना, बसाइँसराइ र धर्म परिवर्तनलाई आधार बनाइएको छ । प्रतिवेदनअनुसार, सन् २०२० मा विश्वमा इसाई जनसंख्या करिब दुई अर्ब २७ करोड र मुस्लिम जनसंख्या दुई अर्ब दुई करोड थियो । तर, हालको जनसांख्यिक प्रवृत्ति कायम रहे सन् २०३५ सम्म मुस्लिम जनसंख्या इसाईभन्दा करिब पाँच करोड बढी हुन सक्छ । सन् २०७० सम्म मुस्लिम जनसंख्या तीन अर्ब ६० करोडभन्दा बढी हुने अनुमान छ । त्यस्तै, इसाई जनसंख्या करिब तीन अर्ब पुग्ने अनुमान छ । प्रतिवेदनले हिन्दु जनसंख्या आगामी दशकहरूमा बढ्ने देखाएको छ । तर, विश्वको कुल जनसंख्यामा यसको हिस्सा घट्न सक्ने अनुमान गरेको छ ।मुस्लिम र इसाई जनसंख्या तुलनात्मक रूपमा तीव्र गतिमा बढ्ने भएकाले यस्तो हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । भारतमा हिन्दु जनसंख्या बढिरहने अनुमान छ । तर, भारतबाहिरका केही देशमा हिन्दु जनसंख्या वृद्धिदर भारतको भन्दा बढी हुन सक्छ । सन् २०७० सम्म अमेरिकामा हिन्दु जनसंख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान पनि प्रतिवेदनमा गरिएको छ । हाल विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देश इन्डोनेसिया हो । तर, सन् २०७० सम्म पाकिस्तान यस विषयमा पहिलो स्थानमा पुग्न सक्ने प्यूको अनुमान छ । त्यसपछि भारत, नाइजेरिया र इन्डोनेसिया रहनेछन् ।

यसले दक्षिण एसिया र अफ्रिकालाई आगामी दशकहरूमा विश्व मुस्लिम जनसंख्याका प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सक्ने बताइएको छ । प्रतिवेदनले मुस्लिम जनसंख्या वृद्धिको मुख्य कारण धर्म परिवर्तन नभई तुलनात्मक रूपमा उच्च जन्मदर र युवा उमेर संरचना रहेको जनाएको छ ।सन् २०२० देखि २०२५ सम्मको औसत प्रजननदरअनुसार मुस्लिम महिलाबाट प्रतिमहिला ३.१, इसाई महिलाबाट २.५ र अन्य धर्मका महिलाबाट १.६ बच्चा जन्मिने अनुमान गरिएको छ । जनसंख्या स्थिर राख्न सामान्यतः प्रतिमहिला २.१ बच्चाको प्रजननदर आवश्यक मानिन्छ ।

Advertisement

प्रतिवेदनअनुसार, सन् २०२० देखि २०२५ सम्म मुस्लिम महिलाबाट करिब २५ करोड २० लाख र इसाई महिलाबाट २० करोड ८० लाख बच्चा जन्मिएका थिए । प्यूका वरिष्ठ जनसांख्यिकी विशेषज्ञ कोनराड ह्याकेटले मुस्लिम जनसंख्या वृद्धिको प्रमुख कारण उच्च जन्मदर रहेको बताएका छन् । प्रतिवेदनअनुसार, आगामी दशकहरूमा इसाई जनसंख्याको भौगोलिक केन्द्र युरोप र अमेरिकाबाट अफ्रिकातर्फ सर्नेछ । सन् २०७० सम्म विश्वका आधाभन्दा बढी इसाई उपसहारा अफ्रिकामा बस्ने अनुमान छ ।प्रजातान्त्रिक गणतन्त्र कंगोमा इसाई जनसंख्या झन्डै तीन गुणा बढेर २७ करोड पुग्न सक्नेछ । यससँगै कंगो विश्वकै सबैभन्दा धेरै इसाई जनसंख्या भएको देश बन्न सक्छ ।

अर्कोतर्फ, अमेरिकामा इसाई जनसंख्या सन् २०२० को करिब २१ करोड ७० लाखबाट घटेर सन् २०७० सम्म १७ करोड ४० लाखमा झर्न सक्ने अनुमान छ । अमेरिकामा हाल करिब ६२ प्रतिशत जनसंख्या इसाई छन् । सन् २०६५ सम्म यो अनुपात ५० प्रतिशतभन्दा तल झर्न सक्ने प्रतिवेदनको प्रक्षेपण छ । क्यानडामा पनि सन् २०३० सम्म इसाई जनसंख्या कुल जनसंख्याको आधाभन्दा कम हुन सक्ने अनुमान गरिएको छ ।प्यू रिसर्चले आगामी दशकहरूमा बौद्ध धर्मावलम्बीको संख्या र विश्व जनसंख्यामा उनीहरूको हिस्सा दुवै घट्न सक्ने अनुमान गरेको छ ।

विशेषगरी चीन, जापान, दक्षिण कोरिया र थाइल्यान्डजस्ता पूर्वी एसियाली देशमा जनसंख्या घट्ने र वृद्ध हुँदै जाने प्रवृत्तिले यसमा प्रभाव पार्नेछ । चीनमा बौद्ध जनसंख्या सन् २०२० को करिब ५ करोड ३० लाखबाट घटेर सन् २०७० सम्म दुई करोड ६० लाखमा झर्न सक्ने अनुमान छ । जापान र दक्षिण कोरियामा पनि बौद्ध जनसंख्या आधाभन्दा बढीले घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ । विश्वका विभिन्न देशमा आफूलाई कुनै धर्मसँग आबद्ध नरहेको बताउने मानिसको संख्या बढ्दो छ । तर, विश्व जनसंख्यामा यो समूहको हिस्सा घट्न सक्ने अनुमान छ ।

सन् २०२० मा २४ प्रतिशत रहेको यस्तो जनसंख्याको हिस्सा सन् २०७० सम्म १७ प्रतिशतमा झर्न सक्छ । आगामी केही दशकहरुमा विश्वको अधिकांश जनसंख्या वृद्धि अफ्रिकाको दक्षिणी क्षेत्रमा हुने पनि विश्वास गरिएको छ । सन २०७० सम्म यूरोपको जनसंख्या १७% ले गिरावट आउने प्रक्षेपण छ । त्यहाँ ईसाइहरुको संख्या घटेर ३२४ मिलियन हुने अनुमान छ । विश्वमा २०७० सम्म कुनै पनि धर्म नमान्ने अर्थात नास्तिकहरुको संख्यामा १८ करोडभन्दा धेरैले वृद्धि हुने अनुमान गरिएको छ । सन् २०७० सम्म नेपालको हिन्दू जनसङ्ख्या अध्ययन गरिएका सबै २०१ देश तथा क्षेत्रहरूमध्ये दोस्रो ठूलो हुने अनुमान गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top