मोदी–बालेन ‘वन अन वन’ वार्ताः सीमा विवाद उठ्ला कि ’आर्थिक प्याकेज’को ओझेलमा पर्ला?

७ मंसिर २०८३, सोमबार
Share this
692shares

७ मंसिर , काठमाण्डौ ।

Advertisement

दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अहिले भेटवार्ता हुँदै छ । हैदरावाद हाउसमा उनीहरुबीच ‘वन अन वन’ भेटवार्ता हुँदैछ । त्यसपछि दुवै देशका प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।

प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सकिएपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार, विपद्पछिको पुनर्निर्माण तथा पुनस्र्थापनालगायत क्षेत्रमा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

Advertisement

एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर सकिएपछि दुवै देशका प्रधानमन्त्री संयुक्त प्रेस ब्रिफिङ कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि प्रधानमन्त्री बालेन भारतीय प्रधानमन्त्री मोदीले उनको सम्मानमा आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन् ।

दिवा भोजमा सहभागी भएपछि प्रधानन्त्री बालेनले सोमबार दिउँसो ३ः३० बजे भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भारतका राष्ट्रपतिलाई भेटेपछि प्रधानमन्त्री बालेन नयाँ दिल्लीबाट दिउँसो ४ः५० बजे काठमाडौं प्रस्थान गर्नेछन् ।

उनी आजै साँझ ६ः४५ बजेतिर काठमाडौं पुग्नेछन् । काठमाडौं आएपछि परराष्ट्रमन्त्री शिशिर खनालले साँझ एयरपोर्टमै पत्रकार सम्मेलन गर्दै यो भ्रमणको व्रिफिंग गर्नेछन् । अब यो भ्रमणमा धेरैको चासो भनेको मोदीसंगको एक्लाएक्लैको वार्तामा वा प्रतिनिधिमण्डलसहितको द्विपक्षिय वार्तामा बालेनले सीमाका विषयमा रहेको विवाद उठाउँछन् कि उठाउँदैनन्, यो विषय एजेण्डा बन्न कि बन्दैन भन्नेमा छ ।

तर अहिलेसम्म जे जति कुराहरु बाहिर आएका छन, त्यसमा भने ऊर्जा, रेल र आर्थिक प्याकेज लगायतका कुराहरु एजेण्डाका बुँदामा समेटिएका छन् भने लिपुलेख–कालापानी सीमा विवाद छाँयामा परेको देखिन्छ । परराष्ट्र मन्त्रालयका एक उच्च तहका कर्मचारीका अनुसार सीमा विवादको विषय सुरुदेखि नै उठाउने कुरा चलिरहेको थियो ।

तर आज अचानक सबै विषय लगभग तय भइसके पनि सीमा विवादको विषय नसमेटिएको उनी बताउँछन् । बालेनको भारत भ्रमणमा सीमा विवादको एजेन्डा नभएको प्रधानमन्त्री कार्यालयको एक उच्च स्रोतले पनि पुष्टि गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री बालेनले आफ्नो भारत भ्रमणमा कुनै विवादित विषय नराख्न स्पष्ट रूपमै भनेका थिए ।

तर भारतका लागि नेपालका पूर्वराजदूतहरु एजेन्डामा नभए पनि सीमा विवादको विषय उठ्नुपर्ने बताउँछन् । किनभने सीमा विवादबारे कुरा नगरी दुवै देशलाई सुख छैन । तर केहीले भने यो बालेनको पहिलो भेट भएको र सबैकुरा एकै पटक सम्भव नहुने त्यो पनि सीमाजस्तो संवेदनशील विषय सुरुमै राख्दा माहोल थप बिग्रिने बताउँछन् ।

तर बालेनको पार्टी सत्तारुढ रास्वपाले २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी ‘वाचापत्र’ मै सीमा विवाद समाधानका लागि भावनामा नभई तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहल गर्ने उल्लेख छ ।

यसकारण पनि यो विषयमा सरकार प्रमुखकारुपमा बालेन अझ बढी सजक हुनुपर्ने देखिन्छ । किनभने यो दुवै देशलाई घोचिरहने विषय हो । एकैचोटी निकास ननिस्किए पनि संवादको ढोका खोल्नुपर्छ । यो विषयलाई गुम्स्याएर राख्दा कसैलाई फाइदा छैन ।

फेरि सीमाको विषय दुवै देशका लागि विवादित विषय भएका कारण यसमा दुवै देशबीच पर्याप्त कुराकानी हुन जरुरी भइसकेको छ । त्यसकारण समस्या समाधानका लागि एजेन्डा बन्नै पथ्र्यो । दुवै देशले यो विषयलाई प्राथमिकता दिनुपर्ने पनि हो ।

यता बालेनको राजनीतिक पहिचानमा सीमा प्रश्न पुरानै हो । सन् २०२३ मा भारतीय संसद् भवनमा ’अखण्ड भारत’ भित्तेचित्र राखिएपछि काठमाडौंका तत्कालीन मेयर शाहले आफ्नो कार्यकक्षमा ’ग्रेटर नेपाल’ को नक्सा झुन्ड्याएका थिए ।

उनले नयाँ नक्सा मान्यता नपाएको भन्दै चीन भ्रमण स्थगित गरेको र तत्कालिन प्रधानमन्त्री ओली भारत जाँदा नयाँ नक्साबारे कुरा उठाउन सामाजिक सञ्जालबाटै सुझाव पनि दिएका थिए । त्यतिबेला उनले देखाएको राष्ट्रवादी भावना अहिले पनि धेरैले खोजिरहेका छन् ।

तर प्रधानमन्त्री भएपछिको उनको भाषा भने केही फरक देखियो । संसदमै सांसदको प्रश्नको जवाफ दिँदै उनले भनेका थिए कि प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ, भारतले मात्र होइन नेपालले पनि धेरै ठाउँमा भारतीय भूभाग अतिक्रमण गरेको छ ।

यसले विपक्षी सांसदले संसद् अवरोध गर्ने र राजधानीमा सडक प्रदर्शन हुने अवस्था ल्यायो । केही घण्टापछि परराष्ट्र मन्त्रालयले स्पष्ट पा¥यो कि प्रधानमन्त्रीको भनाइ सीमापारिको जग्गा प्रयोग र कब्जासम्बन्धी थियो, कालापानी, लिपुलेख र लिम्पियाधुरामाथिको नेपालको दीर्घकालीन अडानमा परिवर्तन होइन ।

यहाँ एउटा अन्तर्विरोध देखिएको भन्दै उनको आलोचना पनि भइरहेको छ । प्रतीकात्मक मञ्चमा आक्रामक देखिएका नेता सरकारमा आएपछि विषय प्रवेश गर्न हिच्किचाएको भन्दै विपक्षीहरुले प्रश्न गरिरहेका छन् । अब यो परिवर्तन व्यावहारिक कूटनीति हो वा अडानको कमजोरी भन्ने कुरा मोदीसँगको भेटपछि मात्र बढी स्पष्ट हुनेछ ।

अनि अर्को बालेनले बेलायतलाई मध्यस्थताका लागि आग्रह गर्ने पनि भनेका थिए । सुगौली सन्धिको ऐतिहासिक पृष्ठभूमि बेलायती औपनिवेशिक शासनसँग जोडिएकाले उनले बेलायतलाई मध्यस्थता गर्न आह्वान गरेका थिए, तर विवाद चर्किएपछि सरकारले तेस्रो पक्षभन्दा द्विपक्षीय संवादलाई प्राथमिकता दिएको स्पष्ट पार्नु परेको थियो ।

किनभने भारतले तेस्रो पक्षको संलग्नता दृढतापूर्वक अस्वीकार गर्दै सबै विषय स्थापित द्विपक्षीय संयन्त्रमार्फत मात्र सम्बोधन भइरहेको जनाएको थियो । यो पृष्ठभूमीमा सीमा विवादको कुरा उठिहाल्यो भने पनि ’विद्यमान संयन्त्रमार्फत संवाद’ जस्ता तटस्थ वाक्यांश आउन सक्छन् ।

तर अहिलेसम्म एजेण्डामै नपरेको भन्दै चर्चा भइरहेको छ । यसअघि सन् २०२१ मा भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा विवाद दुवैतर्फ ’अति राजनीतिकरण’ भएको भनेका थिए, र मोदीको प्रस्तावित नेपाल भ्रमणमा प्रधानमन्त्री तहमा विषय उठाउने सहमति भएको थियो । य

सअनुसार बालेनले बन्द कोठामा उठाए पनि संयुक्त वक्तव्यमा ’विद्यमान संयन्त्र’ भन्ने भाषा आउन सक्छ । अर्को एउटा पूर्व उदाहरण छ। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले मोदीसँग सीमा विषय उठाएको बताएका थिए, तर मोदीले पत्रकार सम्मेलनमा सीमाको कुनै उल्लेख गरेनन्, र भारतको वक्तव्य पनि यस विषयमा मौन थियो । फेरि पनि यो कथा दोहोरिन सक्छ ।

तर आर्थिक र अन्य प्याकेज र ऊर्जा सम्झौताको ओझेलमा सीमाको प्रश्न सामेल नभए संसद् र सडकमा बालेनमाथि दबाब बढ्ने निश्चित छ, किनकि उनका सीमा सम्बन्धी भनाइकै कारण विपक्षीले राजीनामा माग्दै प्रदर्शन गरिसकेका छन् । बालेनसामु तीन अपेक्षा एकसाथ छन् ।

घरेलु जनमत चाहन्छ कि उनले दृढ अडान देखाऊन् । आर्थिक पक्षले चाहन्छ कि प्याकेज र ऊर्जा सहकार्य जोखिममा नपरोस् । र भूराजनीतिक यथार्थले देखाउँछ कि चीन तटस्थ मोडमै रहने सम्भावना बढी छ । यी तीनबीच सन्तुलन मिलाउन उनले सीमा विषयलाई ’उठाउने, तर टकराव नबनाउने’ शैलीमा प्रस्तुत गर्नुपर्ने देखिन्छ ।

अब वार्ताको संयुक्त वक्तव्य र दुवै प्रधानमन्त्रीको पत्रकार सम्मेलनपछि धेरै कुराहरु थाहा पाइने छ । हिजो भने भारतीय विदेशमन्त्री एस जयशंकरसँग प्रधानमन्त्री बालेनले साँझै दिल्लीमा आधा घण्टाजति कुरा गरेका थिए । भारतीय विदेशमन्त्रीसँग उनले दुईपक्षीय सम्बन्ध र परस्पर सहयोगमा आधारित सौहार्द छलफल गरेको बताइएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारतका निजी क्षेत्र लगायतसँग संवादमा रहेका छन । यसअघि प्रधानमन्त्रीसमेत सहभागी हुने परम्परा रहेकामा बालेनले त्यो प्रचलन तोडेका छन् । यसबीच नेपालमा प्रधानमन्त्री भएपछि अहिलेसम्म एकपटक पनि पत्रकार सम्मेलन नगरेका बालेनले भारतमा पहिलोपल्ट मोदीसँगै संयुक्त पत्रकार सम्मेलनमा देखिनेछन् ।

उनी मोदीले आयोजना गर्ने दिवाभोजमा पनि सरिक रहनेछन् । नेपालमा राष्ट्रपति रामचन्द्र पौडेललाई नभेटी गए पनि भारतमा भने उनले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । त्यसपछि उनी नेपाल फर्कनेछन् ।भ्रमण कति सार्थक र उपलब्धिमूलक भयो भन्ने प्रश्नको जवाफ भने अहिले केही बेरमा थाहा हुने छ, जब दुई देशका प्रधानमन्त्रीहरुबीचको संवाद र सहमति हुने छ ।

बालेन र मोदीबीचको छलफल नै नेपालमा जेनजी आन्दोलनपछिको शक्तिशाली निर्वाचित सरकारलाई हेर्ने भारतीय दृष्टिकोणको पर्याय बन्ने कुटनीतिज्ञहरुले बताएका छन् । यसअघिका प्रधानमन्त्रीले नियुक्तिलगत्तै भारत भ्रमणका लागि धेरथोर चासो देखाउने गरेकामा प्रधानमन्त्री बालेन करिब ७ महिना अनिर्णित बसेका थिए ।

आठौं महिनामा भने उनको दिल्ली भ्रमण भएको छ । उनी गएकै दिन नेदरल्यान्ड्सका विदेशमन्त्री दिल्ली आउँदा पाएको स्वागतलाई भने नेपाली पक्षले नोटिसमा राखेको देखिएको छ । यसबीच आज बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

अबको केहीबेरमा प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने छ । समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइएको थियो । सुरक्षा प्रबन्ध पनि कडा बनाइएको थियो । बालेनले केही बेर अघि राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।

दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् ।

दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top