७ मंसिर , दिल्ली । नेपाल र भारतबीच विशेष आर्थिक प्याकेजदेखि नयाँ रेल सेवासहित विभिन्न क्षेत्रमा सहयोग आदनप्रदान गर्ने, विभिन्न परियोजनाहरुको उद्घाटन तथा शिलान्यास भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षिय विदेश भ्रमण अन्तर्गत भारतको नयाँ दिल्लीमा आज भएको प्रधानमन्त्रीस्तीय वार्तापछि यसबारे संचारमाध्यमलाई जानकारी गराइएको हो । दुवै समकक्षीहरुले पत्रकार सम्मेलनमा आआफ्नो भाषामा वक्तव्य बाचन गरेका थिए । यसक्रममा दुवै नेताले भारतीय सहयोगमा बनेका र बन्न लागेका पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन् ।
नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर यस्तो परियोजनाको उद्घाटन र शिलान्यास गरिएको हो । त्यसमध्ये चार परियोजना शिलान्यास भएका छन्, एउटाको उद्घाटन भएको छ । यसमध्ये भारतको धार्चुलाबाट नेपालको दार्चुलालाई जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । त्यस्तै, बनबासा नाकामा एकीर्कत जाँच चौकीको शिलान्यास गरिएको छ । मोतीहारी अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ ।यो परियोजना अन्तर्गत भारतबाट पाइपलाइनमा पेट्रोल र मट्टितेल आउन थालेको छ । झापाको चारआलीमा बन्न लागेको ग्यास पाइपलाइनको समेत शिलान्यास गरिएको छ । ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माणको शिलान्यास समेत गरिएको छ । सो क्रममा जनकपुर–अयोध्या रेल्वे सेवा आजदेखि सञ्चालनमा आएको छ । बालेन र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर ‘जनकपुरधाम–अयोध्या साप्ताहिक एक्सप्रेस रेल सेवा’ को उद्घाटन गरेका हुन् ।भारतले ६०४ किलोमिटर लम्बाई दूरी रहेको यो रेल सेवालाई ‘सर्यु कमला एक्सप्रेस’ नाम दिएको छ । माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सीधा रेल सञ्जालले जोड्नु धार्मिक र सांस्कृतिक पर्यटनका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । लामो समयदेखि प्रत्यक्ष यातायातको पर्खाइमा रहेका तीर्थयात्रीलाई यो रेल सेवाले ठुलो राहत दिने अपेक्षा गरिएको छ । यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बाट आफूले देश विकासमा क्लियर भिजन महसुस गरेको बताएको प्रसंगले अहिले निकै चर्चा पाएको छ । केही घण्टाको कुराकानीका क्रममा बालेनबाट आफूले यस्तो महसुस गरेको उनको भनाइ थियो । नेपालमा प्रधानमन्त्री बनेपछि बालेनले युएनको समारोहमा दिएको मन्तव्यबारे समेत मोदीले प्रशंसा गरेका हुन् ।आज शाह र मोदीबीच ‘वान अन वान’ वार्ता भएपछि दुई देशबीचको प्रतिनिधि मण्डलस्तरीय बैठक भएको थियो । भेटवार्ताका क्रममा नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने, भारतीय बन्दरगाहसम्म नेपालको पहुँच विस्तार गर्ने विषयमा पनि सहमति भएको छ । भारतले नेपाललाई गुजरातस्थित कान्डला र ओडिशास्थित पारादीप बन्दरगाह प्रयोग गर्न दिने भएको छ । यसले नेपाललाई तेस्रो मुलुकबाट वस्तु आयात तथा नेपाली उत्पादन निर्यात गर्न थप सहज हुने अपेक्षा गरिएको छ । नेपालले यसअघि गुजरातस्थित मुन्द्रा बन्दरगाहसम्म पहुँच उपलब्ध गराउन भारतसँग आग्रह गरेको थियो। तर, भारतले उक्त मागलाई स्वीकृति नदिएको र त्यसको सट्टा कान्डला तथा पारादीप बन्दरगाह प्रयोगको सुविधा दिन लागेको विवरणमा उल्लेख छ।
यसैगरी मोदीले नेपाललाई दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने घोषणा गरे । संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाललाई समृद्ध र विकसित बनाउने यात्रामा भारत सधैँ साथमा रहने बताए । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै मोदीले संयुक्त राष्ट्रसंघमा शाहले गरेको सम्बोधनबाटै उनको दृष्टिकोण र सोच स्पष्ट भएको आफूले पाएको बताए । ‘विश्वकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गर्नुभएको सम्बोधनबाट नै उहाँको भिजन स्पष्ट रहेको मैले पाएको थिएँ,’ मोदीले भने । नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै मोदीले यसलाई अटुट विश्वासको सम्बन्धका रूपमा व्याख्या गरे। ‘हामी एकअर्काको प्रगतिमा साथी हौँ। दुःखको अवस्थामा एकअर्काको सहारा पनि हौँ,’ उनले भने । मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतले २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग घोषणा गरेको जानकारी दिएका हुन् ।


उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै सन् २०१८ मा जनकपुरको पवित्र भूमिमा आफूले दिएको अभिव्यक्ति पनि स्मरण गरे। ‘नेपालबिना हाम्रो धाम र हाम्रो राम अधुरो हुन्छ,’ मोदीले जनकपुर भ्रमणका क्रममा आफूले भनेको कुरा स्मरण गर्दै उल्लेख गरे । त्यसैगरी, भारतले नेपालसँगको सीमा पूर्वाधार तथा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएको उनले बताए। उत्तराखण्ड र नेपालबीच धार्चुला तथा बनबासामा पूर्वाधार विकासका काम अघि बढाइरहेको उनको भनाइ थियो । दोधारा–चाँदनी एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइरहेको मोदीले बताए। उनले बिहार, उत्तर प्रदेशलगायत भारतका विभिन्न प्रदेश र नेपालबीच सडक सम्पर्क विस्तार गर्ने योजना रहेको जानकारी दिए । यी पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका कामले नेपालको आर्थिक विकासको गति बढाउन सहयोग पुग्ने मोदीको भनाइ थियो ।
त्यसैगरी, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको विस्तार हुने भएको छ। झापामा पेट्रोलियम टर्मिनल र एकीकृत चेकपोस्टका रूपमा बनबासा–दोधारा चाँदनीको शिलान्यास गरिएको छ । यसबीच प्रधानमन्त्री बालेनले पारस्परिक सम्मान अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल भारत सम्बन्धको अविच्छिन्न अङ्ग भएको बताएका छन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । त्यसक्रममा प्रधानमन्त्री शाहले दुई देशबिचको छलफलमा दूरगामी छलफल गरेको भन्दै नेपाल भारत सहकार्यका विविध क्षेत्रका साझेदारी र शिलान्यास गरेको बताए । त्यस्तै, उनले उक्त समझदारी र अघि बढाएका परियोजनाको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्ने बताए ।
‘युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ, विद्यार्थीका सपना नयाँ सम्भावना उद्यमीले बजार र लगानी विस्तार गर्न सक्नुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले उक्त समझदारीले नेपाल भारतको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरे । शाहले दुवै देशको आर्थिक समृद्धिमा साझेदार बन्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । संयुक्त सम्बोधनका क्रममा उनले नेपाल–भारत सम्बन्धको बलियो जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नुपर्ने उल्लेख गर्दै लगानी र आर्थिक सहकार्यका लागि आह्वान गरेका हुन् । शिक्षा र सम्पर्क सञ्जाल विस्तारबारे बोल्दै प्रधानमन्त्री शाहले आगामी दिनमा नेपालमा स्थापना हुने आइआइटीमा भारतीय विद्यार्थीहरूसमेत अध्ययन गर्न आउने वातावरण तयार पार्नुपर्ने बताए ।
साथै, दुवै देशका नागरिकहरूको सुविधाका लागि नेपाल र भारतका सहरहरूबीचको सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए । इतिहासले आफूहरूलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत द्विपक्षीय सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने असाधारण जिम्मेवारी सुम्पिएको बताउँदै उनले पछिल्ला ऐतिहासिक उपलब्धिहरूले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । यसबीच बालेनलाई मोदीले भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराएका थिए । दुई प्रधानमन्त्रीबीचको वार्तापछि हैदराबाद हाउसस्थित विद्या हलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले उक्त योजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा यसको महत्त्वबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका हुन् ।
भारतको उक्त गुरुयोजना सडक, रेलमार्ग, जलमार्ग, विमानस्थल तथा अन्य यातायात पूर्वाधारलाई एकीकृत रूपमा विकास गरी वस्तु तथा यात्रुको आवागमन सहज बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले सन् २०२१ मा सुरु गरेका थिए । यसले विभिन्न मन्त्रालय तथा निकायबीच समन्वय गरी पूर्वाधार आयोजनाको योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ । यसबीच प्रधानमन्त्री बालेनले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नै प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
बालेन र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल पनि संयुक्तरूपमा उद्घाटन गरे । यो पुल दार्चुला महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी बनाइएको छ । यस्तै नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीअनुसार, फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, शहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गरिनेछ । सम्झौताअनुसार, गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्स युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच फरेन्सिक विज्ञानको अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
त्यस्तै, भारतको नेसनल डिफेन्स युनिभर्सिटी र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी तालिममा सहकार्य गर्ने समझदारी भएको छ। भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजले नेपाली सरकारी अधिकारीलाई तालिम तथा प्रशिक्षण दिनेछन् । आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको विकासमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन् । स्याटेलाइट सञ्चारतर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने समझदारी भएको छ । यसैगरी, दिगो शहरी विकासमा प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रमा सहकार्य र पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासका लागि पनि दुवै देशबीच समझदारी भएको छ । यी समझदारीले नेपाल–भारतबीच सुरक्षा, प्रविधि, स्वास्थ्य, प्रशासन र कृषि क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
यसबीच दुई समकक्षीबीच उपहार आदानप्रदान भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार उनीहरुले एक अर्कालाई उपहार प्रदान गरेका थिए । प्रधानमन्त्री मोदीले त्रिवेणीको गंगाजलसहितको कलश शाहलाई दिएका थिए भने लगत्तै प्रधानमन्त्री शाहले पशुपतिनाथ मन्दिरको पवित्र रुद्राक्ष र चन्दन मोदीलाई दिएका थिए । यसअघि भने प्रधानमन्त्रीको सचिवालयले बालेनले मोदीलाई रातो मच्छिन्द्रनाथको मूर्ति दिने जानकारी दिइएको थियो । यस्तै बालेन भारत भ्रमणका क्रममा पनि आफ्नो सिग्नेचर लुकमै देखिए । उनले कालो दौरा सुरुवाल त्यसमाथि कालै कोट, शिरमा कालो भादगाउँले टोपी, अनि कालै जुत्ता र आँखामा कालै चस्मा मोदीसंगको वार्ता पनि पहिरिएकै थिए । बालेनले आफ्नो ‘सिग्नेचर लुक’ माथि कूटनीतिलाई हाबी हुन दिएनन् । उही पुरानै शैलीमा हैदरावाद हाउसमा उपस्थित भएका हुन् । मोदी भने सेतो पहिरनमै देखिए । सैतै कपालका मोदीको जुत्ता मात्रै कालो थियो । समकक्षी मोदीसँग अंकमाल गर्दा होस् कि द्विपक्षीय भेटवार्तामा होस्, प्रधानमन्त्री शाह कालो चस्मामै देखिए ।

भेटवार्ताअघि बालेन शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। त्यसक्रममा शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे । समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइएर प्रधानमन्त्री शाहको स्वागत गरिएको हो । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ‘गार्ड अफ अनर’मा सहभागी भएका थिए । बालेनले आजै भारतीय राष्ट्रपतिसंगको शिष्टाचार भेटपछि साँझ नेपाल फर्किदैछन् । हिजो दिल्ली पुगेका बालेनको हिजै साँझ विदेशमन्त्री एस जयशंकरसंग पनि भेट भएको थियो । यस्तै आज विहान उनले राजघाट पुगेर माहात्मा गान्धीलाई श्रद्धान्जली पनि दिएका थिए ।
यसबीच प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा. वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे । ‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको पनि स्पष्ट पारे । उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताए । कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा.विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुगेका उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवम् प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।



