खगेन्द्र सुनारविरुद्धको मुद्दामा काभ्रे जिल्ला अदालतले के भन्यो ?

१० मंसिर २०८३, बिहीबार
Share this
719shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारविरुद्धको विद्युतीय कारोबारसम्बन्धी मुद्धामा जिल्ला अदालत काभ्रेपलान्चोकले नयाँ आदेश जारी गरेको साथै सुनारविरुद्धका प्रमाण फेरि अदालतमा संकलन भएको छ। जिल्ला अदालत, काभ्रेपलाञ्चोकमा दायर मुद्दामा सुनारविरुद्धका प्रमाण यसअघि अदालतबाटै गायव गरिएको थियो ।

ती प्रमाण हराएपछि जाहेरवालाले अडिओसहित संकलन गरी प्रहरी र सरकारी वकिल कार्यालयमार्फत बुझाएकी थिइन् । पुनः विवरण प्राप्त भएपछि बुधबार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजालसले यसबारे प्रतिवादी सुनारलाई जानकारी दिन आदेश दिएको छ ।

Advertisement

जिल्ला अदालतले प्रमाण बुझेको कागज पेस गर्न आदेश दिएको हो । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले निवेदकले पेस गरेको प्रमाणको सम्बन्धमा सुनारलाई जानकारी गराउन आज आदेश दिएको हो। यसअघि अदालतको अवहेलना तथा सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा सुनारलाई ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।

‘मैले अदालतमा तीन घण्टा लामो अडियो प्रमाणको रूपमा पेनड्राइभ पेस गरेको थिए,’ निवेदक मनीषा गौतमले भनिन् । पछि बुझ्दा अदालतका कर्मचारीले तीन मिनेटको मात्रै अडियो भएको बताएपछि आफूले पुनः अडियो सहित निवेदन रिट पेस गरेको गौतमले जानकारी दिएकी छन् ।

सोही निवेदनमा अदालतमा सुनुवाइ गर्दै पेस गरिएका प्रमाणबारे आरोपित सुनारलाई जानकारी गराएर अदालतमा कागज पेस गर्न आदेश दिएको उनले पनि पुष्टि गरिन् । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बुधबार अधिवक्ता मनिषा गौतमको मुद्दामा सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो ।

यसअघि जाहेरवाला पक्षबाट प्रहरी र सरकारी वकिलमार्फत अदालतमा पेस गरिएका अडियो लगायतका प्रमाणहरू अदालतबाटै हराएका थिए । सुरुवाती प्रमाण हराएपछि जाहेरवाला गौतमले गत असोज १५ गते (पुनः निवेदनसहित अडियो तथा अन्य प्रमाणहरू सरकारी वकिल कार्यालयमार्फत पेस गरेकी थिइन् ।

सोही निवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयको पत्रको जानकारी प्रतिवादी पक्ष (खगेन्द्र सुनार) लाई गराई नियमानुसार पेस गर्न न्यायाधीश मैनालीको इजलासले आदेश दिएको छ । अधिवक्ता मनिषा गौतमले आफूलाई खगेन्द्र सुनारले सामाजिक सञ्जाल फेसबुकमा अपशब्द प्रयोग गरी गालीगलौज गरेको तथा व्यक्तिगत विवरण (फोटो र मोबाइल नम्बर) सार्वजनिक गरिदिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा काभ्रे प्रहरीले अनुसन्धान गरी जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । यसअघि सोही मुद्दामा अदालतले सुनारविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो । पछि अदालतमा हाजिर भएका सुनार बयान र थुनछेक बहसपछि ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा अदालतको मिसिलबाट मुख्य अडियो प्रमाण गायब भएपछि जाहेरवाला पक्षले पुनः प्रमाण प्रमाणीकरण तथा अभिलेखीकरणका लागि निवेदन दिएको हो । यता आईजीपी रहँदा सांसद सुनारले नै तीव्र आलोचना गरेका र अनियमितताको आरोपसमेत लगाएका दानबहादुर कार्कीले दायर गरेको रिटमा पनि अदालत अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदमा डा.मनोजकुमार के.सी.को बढुवा तथा नियुक्तिविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै निवेदक दानबहादुर कार्कीले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो ।

इजलासले दिएको आदेशमा प्रत्यर्थीमध्येका डा. केसी नेपाल सरकारको गत कात्तिक १८ को निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी पदको कार्यभारसमेत सम्हालिसकेको मिसिलबाट देखिएको उल्लेख छ ।

साथै, निवेदकले अन्तरिम आदेश माग गरेको विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी सङ्गठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्त्वको संवेदनशील विषय भएको आदेशमा भनिएको छ । रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तर्निहित कानुनी प्रश्नहरू रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत निरूपण र सम्बोधन हुने प्रकृतिको देखिएको तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको अदालतको ठहर छ ।

अन्तरिम आदेश जारी नभए पनि अदालतले प्रस्तुत मुद्दालाई उच्च प्राथमिकतामा राख्दै छिटो सुनुवाइको बाटो खोलेको छ । राज्यको शान्ति सुरक्षा तथा प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित भई रिटमा उठाइएका विषयवस्तुको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएको आदेशमा उल्लेख छ ।

सोहीबमोजिम प्रत्यर्थीहरूबाट लिखित जवाफ परेपछि वा लिखित जवाफ पेस गर्ने अवधि व्यतीत भएपछि ७ दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्व सूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ ।

निवेदक कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, प्रहरी प्रधान कार्यालय र डा.मनोजकुमार के.सी.समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

अन्तरिम आदेश छलफलका क्रममा निवेदक कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिषकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणि पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत र केदारप्रसाद कोइराला तथा अधिवक्ताहरू माधवकुमार बस्नेत, टिकाबहादुर कुँवर, सुजाता केसी र आभास रेग्मीले बहस गरेका थिए ।

त्यसैगरी, प्रत्यर्थी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेल, नायव महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहान तथा सहन्यायाधिवक्ताहरू दिनेशप्रसाद घिमिरे र सोमकान्ता भण्डारीले बहस गरेका थिए ।

डा. केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अधिवक्ताहरू डा. सुभाष आचार्य, अपूर्व खतिवडा र सञ्जीवराज रेग्मी र प्रहरी प्रधान कार्यालयको तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top