१३ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारतको २ दिने सफल भ्रमणपछि अब चीन जाने भएका छन् । यसको तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ । भारतको २ दिने भ्रमण सकेर फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे काठमाडौं र बेइजिङबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री शाहको चीन भ्रमण फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि जनवरीमा नै नै हुने सम्भावना रहेको खबर बाहिरिएको छ। नेपालको परराष्ट्र सम्बन्धमा लामो समयदेखि अभ्यास हुँदै आएको भारत र चीनसँगको उच्चस्तरीय भ्रमणको क्रमलाई प्रधानमन्त्री शाहले पनि निरन्तरता दिन लागेका हुन् ।
यसअघि नेपालका विभिन्न प्रधानमन्त्रीले भारत भ्रमणपछि चीन भ्रमण गर्ने अभ्यासलाई प्राथमिकता दिँदै आएका छन् । नजिकका दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई सन्तुलित र समान प्राथमिकताका साथ अघि बढाउनु नेपालको कूटनीतिको महत्त्वपूर्ण पक्ष मानिँदै आएको छ ।प्रधानमन्त्री शाहको भारत भ्रमणपछि हुन लागेको सम्भावित चीन भ्रमणलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । विशेषगरी भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै चीनसँगको सहकार्यलाई पनि अघि बढाउने विषयमा यो भ्रमण अर्थपूर्ण हुन सक्नेछ । नेपालका लागि भारत र चीन दुवै छिमेकी मुलुक आर्थिक, व्यापारिक, पूर्वाधार तथा विकास साझेदारीका दृष्टिले महत्त्वपूर्ण छन् । भारतसँग नेपालको खुला सीमा, व्यापार, पारवहन र जनस्तरको सम्बन्ध छ भने चीनसँग पूर्वाधार, उत्तरी नाका, पर्यटन, व्यापार तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्यका सम्भावना छन् । भारतसँग रहेको सीमा विवाद सुल्झाउन सचिवस्तरलाई नै निर्देशन दिइएको अवस्थामा लिपुलेक बाट चीनले भारतसँगको मार्ग खोलेको अवस्थामा बालेनको भ्रमण तप महत्वपूर्ण हुन्छ । यसअघि मेयर रहदा चीनले भारतसँग सीमा व्यापार सम्झौता गरेको अवस्थामा बालेनले आफ्नो संभावित चीन भ्रमण स्थगित गरेका थिए । साथै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमाका विषयमा चीनसँग धारणा राख्न उनले सुझाएका थिए । अब आसन्न चीन भ्रमणमा बालेनले भारतसँग सीमा विवाद सुल्झाउन चीनको भूमिका बारे समेत भलफल केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।प्रधानमन्त्री शाहको चीन भ्रमणमा द्विपक्षीय सम्बन्ध विस्तार, व्यापार तथा लगानी, पूर्वाधार विकास, ऊर्जा, पर्यटन, सीमा नाका सञ्चालन र कनेक्टिभिटीका विषय प्राथमिकतामा पर्न सक्ने अपेक्षा गरिएको छ ।
उनको भ्रमणमा चिनियाँ राष्ट्रपति सीमा जिनपिङसहित समकक्षी चिनियाँ प्रधानमन्त्री ली छयाङ लगायत उच्च अधिकारीहरुसँग भेटवार्ता हुनेछ । यद्यपि यी विषय औपचारिक भ्रमणका एजेन्डाका रूपमा पुष्टि हुन बाँकी छन् । भारत भ्रमणपछि चीन भ्रमणको तयारीले नेपालको परराष्ट्र नीतिमा दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्ने विषयलाई फेरि चर्चामा ल्याएको छ । नेपालले कुनै एक मुलुकसँगको सम्बन्धलाई अर्को मुलुकसँगको सम्बन्धको विकल्पका रूपमा नभई राष्ट्रिय हित र पारस्परिक लाभका आधारमा अघि बढाउनुपर्ने कूटनीतिक मान्यता रहँदै आएको छ । प्रधानमन्त्री शाहको चीन भ्रमणको औपचारिक मिति, भेटघाटका कार्यक्रम र भ्रमणको विस्तृत एजेन्डा भने सार्वजनिक हुन बाँकी छ । भ्रमणको तयारीले अन्तिम रूप पाएसँगै दुई देशबीच हुने छलफल र सम्भावित समझदारीबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारी र मन्त्रीहरूले बेइजिङले प्रस्ताव गर्ने मितिअनुसार भ्रमण जनवरीमै हुन सक्ने संकेत गरेका छन्। प्रधानमन्त्रीको भारत भ्रमणअघि लामो समय चीन बसेर फर्किएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। ती भेटमा उनले प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडै स्वागत गर्न चीन तयार रहेको सन्देश दिएका थिए। राजदूत माओमिङले वाग्ले, खनाल, राईलगायत अधिकारीसँगको भेटमा भ्रमणको निश्चित मिति भने प्रस्ताव गरेका थिएनन्। तर, फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै प्रधानमन्त्रीलाई स्वागत गर्न बेइजिङ तयार रहेको संकेत गरेका थिए। भारत भ्रमण सफल भएको सरकारी अधिकारीहरूको बुझाइपछि प्रधानमन्त्री पनि चीन भ्रमणका लागि इच्छुक रहेको एक मन्त्रीले बताएका छन् ।

नेपाल अहिले चीनबाट आउने भ्रमण मितिको प्रतीक्षामा रहेको छ । अब प्रधानमन्त्री शाहको चीन भ्रमणले छिमेकीसँगको सम्बन्धलाई कस्तो दिशा दिन्छ र नेपालले आफ्नो राष्ट्रिय हितअनुसार कस्ता उपलब्धि हासिल गर्न सक्छ भन्ने विषय चासोको केन्द्रमा रहनेछ । भर्खरैमात्रै रास्वपाका २० सदस्यीय टोली चीन भ्रमणबाट फर्किएको छ । सो टोलीले चीन भ्रमणमा जानु अघि प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेको थियो । भेटमा बालेनले भ्रमणलाई उपलब्धि सिकाइका रुपमा केन्द्रित गर्न सुझाव दिएका थिए । यसअघि रास्वपा सभापति रवि लामिछाने पनि चीन भ्रमणमा जाने तयारी गरेपछि उनको भ्रमण स्थगित भएको थियो । रविले पनि भारतको भ्रमण भने गरिसकेका छन् ।प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर ६ र ७ गते गरेको दुईदिने भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्र (एमओयू) आदानप्रदान भएका छन् । यसलाई सरकारले सफल भ्रमणका रुपमा ब्याख्यउा गरेको छ ।
भ्रमणका क्रममा दुई देशबीच ऊर्जा, पूर्वाधार, व्यापार, पारवहन, स्वास्थ्य, शिक्षा, सुरक्षा तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि संयुक्त दृष्टिपत्रसमेत जारी गरिएको थियो । दुई देशबीच भएका आठ समझदारीमा फरेन्सिक विज्ञान तथा अपराध अनुसन्धान, प्रहरी प्रशिक्षण, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्वास्थ्य तथा औषधि विज्ञान, पशुपन्छी तथा मत्स्य विकास, दिगो सहरी विकास र स्याटेलाइट सञ्चारसम्बन्धी सहकार्य समेटिएका छन् ।
भ्रमणका क्रममा तीनवटा आयोजना उद्घाटन र तीनवटाको शिलान्यास गरिएको छ । जनकपुर–अयोध्या रेलसेवा, दार्चुला–धार्चुला मोटरेबल पुल र मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको हो । त्यस्तै, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना, बनबासा एकीकृत जाँचचौकी र झापामा पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको छ । यस्तै भ्रमणको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
यसमध्ये ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणका लागि अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा आयोजनाका लागि सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुनेछ ।नेपालले लामो समयदेखि माग गर्दै आएको काठमाडौं–भैरहवा–लखनउ बी३४५ हवाई रुटलाई दुईतर्फी बनाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन् । यसले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा छ । यसलाई भ्रमणमा भएको ऐतिहासिक ब्रेक थु्रका रुपमा ब्याख्या गरिएको छ ।
त्यस्तै, नेपालको तेस्रो मुलुकसँगको व्यापार सहज बनाउन भारतका दीनदयाल बन्दरगाह (कान्डला) र पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच दिने सहमति भएको छ । ऊर्जा क्षेत्रमा इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ । पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा पनि छलफल भएको छ । साथै, दुई देशबीच जारी संयुक्त दृष्टिपत्रले सन् १९५० को सन्धिलगायत पुराना सम्झौता पुनरावलोकन गर्ने सम्भावनासमेत खुला गरेको छ । अब आसन्न चीनको भ्रमणमा विकास कुटनीतिलाई प्राथमिकता दिँदै यही स्तरको उपलब्धिमूलक भ्रमण हुने विश्लेषण गरिएको छ।



