काठमाडौँ, कात्तिक ३०
विश्व चर्चित तथा रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’ का गायक पार्क जेई साङ ‘साई’ नेपाल आउने भएका छन् ।
डिसेम्बर १५ तारिखमा खुमलटार, सातदोबाटोमा रहेको रेडियो नेपालको ग्राउण्डमा हुने ‘साई विथ के पप लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागी हुने भएका हुन् ।
नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा उनलाई सहभागी गराईनेभएको हो ।
५ घण्टासम्म चल्ने कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसँगै गायिका मिलन अमात्य, हास्यकलाकार राजा राजेन्द्र पोखरेल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी लगायतले प्रस्तुति दिनेछन् ।
कन्सर्टमा गायक बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्डसहितको प्रस्तुति दिनेछन् । त्यस्तै कोरियाका बिएपी, एसएफ नाइन, एओए, मोमोल्यान्ड, बेरी गुड, बड्किज लगायत चर्चित ब्याण्डले आफ्नो प्रस्तुति राख्नेछन् ।
‘साई’ दक्षिण कोरियाका गायक, ¥यापर र रचनाकार हुन् । उनी कोरियामा कमेडी स्टेज प्रस्तुति र भिडियोमार्फत चर्चित छन् । उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गीत भने गङनम स्टाइल नै हो । गङनम स्टाइलको भ्युजसँगै उनी पनि संसारभर चिनिएका हुन् ।
१५ जुलाई २०१२ मा सार्वजनिक भएको गङनम स्टाइल गीतको भिडियो २१ डिसेम्बर २०१२ सम्म यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज पाउने गीत बनेको थियो । अहिलेसम्म यो गीतलाई ३ अर्ब भन्दा बढी पटक हेरिसकिएको छ ।