विराटनगर, कात्तिक ३०
नेपाल शिक्षक महासंघ आबद्ध शिक्षकहरुले पेशागत हकहित र शैक्षिक सुधारको माग गर्दै विराटनगरमा धर्ना दिएका छन् । महासंघको मोरङ कार्यसमितिको अगुवाई उनीहरुले शिक्षा विकास तथा समन्वय इकाई विराटनगरमा धर्ना दिएका हुन् ।
उनीहरुले शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिएका थिए । धर्नामा मोरङको १७ वटै स्थानीय तहका अस्थायी, स्थायी र राहत शिक्षकसहित बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरु सहभागी भएको नेपाल शिक्षक महासंघ मोरङका सहसचिव अरबिन्द यादवले जानकारी दिए ।
महासंघबाट घोषित तेस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार देशभरिका समन्वय इकाईहरुमा धर्ना तथा विरोधका कार्यक्रमहरु गरिएको नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले जानकारी दिए ।
उनले महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । महासंघले गुणस्तरीय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धताअनुसार शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत र कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत बिनियोजन गर्न माग गरेका छन् ।