एजेन्सी, मंसिर ८
फिल्म ‘२.०’ बलिउड फिल्म उद्योगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ । रजनीकान्त र अक्षयकुमार स्टारर पाँच सय ४३ करोड भारतीय रुपैयाँ लगानीमा निर्माण भएको यो फिल्म मंसिर १४ (नोभेम्बर २९) मा विश्वव्यापी रिलिज हुँदैछ।
फिल्म रजनीकान्त अभिनीत बलिउड फिल्म रोबोटको सिक्वेल हो। अक्षयकुमार ‘२.०’ मा नकारात्मक भूमिकामा छन्। यो भूमिकाका लागि उनले ५२ करोड पारि श्रमिक लिएका थिए। ‘२.०’को निर्मातामा ए सुभासकरन, राजु महालिंगम रहेका छन् भने चलचित्रका निर्देशक एस शंकर हुन् ।
एआर रहमानको संगीत रहेको फिल्ममा रजनीकान्त, अक्षयकुमारका साथमा, एमी ज्याकसन, सुधांशु पाण्डे, आदिल हुसेनलगायतका कलाकार छन्। ‘२.०’ कोे पहिलो भाग ‘रोबोट’ को अन्तिममा ‘चिठी’लाई संग्रहालयमा राखिन्छ। केही वर्षपछि एक रहस्यमयी र शक्तिशाली सुपरभिलेन (अक्षय कुमार)ले सर्वसाधारणमाथि आतंक मच्चाउँछ। ऊ आफ्नो नोक्सानको बदला पूरा दुनियाँसँग लिन थाल्छ।
यो सुपर भिलेनको गतिविधि मोबाइलको माध्यमबाट चल्छ। यसैको माध्यमबाट उसले संसार हल्लाउन खोज्छ। यस्तो अवस्थामा त्यही संग्रहालयमा राखिएको ‘चिठी’ को याद आउँछ जसले यो आतंक मच्चाउने सुपर भिलेनसँग भिड्न सकोस्। तर यो लडाइँ सहज छैन। फिल्ममा अहिले मानिस कसरी मोबाइलको गुलाम बन्दैछ भन्ने पनि देखाइएको छ।
तमिल भाषामा बनाइएको यो फिल्म १४ भाषामा डबिङ गरेर फिल्म रिलिज गरिँदैछ। ‘२.०’ को ट्रेलर सार्वजनिक भएपछि यसको प्रतीक्षा बढेको हो। फिल्ममा अक्षयकुमार फरक रूपमा देखिनेछन्। फिल्ममा भीएफएक्सको प्रयोग धेरै गरिएको छ।
रिलिजभन्दा पहिले नै ‘२.०’ ले प्रभासको ‘बाहुबली २’ को रेकर्ड तोडेको छ। २०१७ को सबैभन्दा हिट फिल्म प्रभासको ‘बाहुबली २ द कन्क्लुजन’ मा पनि भीएफएक्सको अत्यधिक प्रयोग गरिएको थियो। फिल्मले बक्स अफिसमा कयौं रेकर्ड तोडेको थियो।
‘बाहुबली २’ सबैभन्दा ज्यादा स्क्रिनमा रिलिज हुने पहिलो फिल्म बनेको थिया भने रजनीकान्तको ‘२.०’ बाहुबलीको रेकर्ड तोड्दै ६ हजार ६ सयदेखि ६ हजार आठ सय स्क्रिनमा रिलिज हुँदैछ। जहाँ ‘बाहुबली २’ भारतमा लगभग ६ हजार पाँच सय स्क्रिनमा रिलिज गरिएको थियो।









