कञ्चनपुर, मंसिर ९
बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवामा मानसिक समस्या देखिदै गएपछि उपचारका लागि काठमाडौँ पठाइएको छ । चिकित्सकहरुको सल्लाहमा शनिवार निर्मलाका बुवा यज्ञराज पन्तलाई थप उपचारका लागि काठमाडौँको पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।
उनका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । छोरीको बलात्कार र हत्या पछि पछिल्लो समय यज्ञराज डिप्रशेनमा गएकाले मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । चिकित्सकहरुले सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्नु पर्ने सुझाव दिएपछि काठमाडौँ लगिएको हो । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट पनि काठमाडौं गएका छन् ।
विमानले लैजान मानेन
निर्मलाका बुवा यज्ञराज लाई धनगढीबाट काठमाडौं जाने विमानले लौजान मानेन् । धनगढीबाट साढे ६ बजे बुद्ध एयरको फ्लाइटमा निर्मलाका बुवासहितको टोलि काठमाडौँ जाने तयारी थियो । तर यज्ञराजले विभिन्न किसिमका हर्कत गर्न थाले पछि जहाजमा लैजान नसकिने स्रोतले बताएको छ ।
कहिले झ्यालका सिसामा मुक्का बजार्ने गरेको त कतिखेर अन्य यात्रुहरुलाई विभिन्न किसिमका असहज व्यवहार गर्ने गरेकोले जहाजमा लैजान नसकिएको बताइएको छ । धनगढीबाट काठमाडौं जहाजले लिन नमाने पनि शनिवार राति नै एम्बुलेन्समा राखेर निर्मलाका बुवालाई काठमाडौं पठाएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए ।
‘प्लेनमा गर्न नहुने व्यवहारहरु उनले गरिरहेकाले प्लेनवालाहरुले लिन मानेनन् । यात्रुलाई हतकडी लगाएर लैजान मिल्दैन । त्यसो भएको हुनाले धनगढीबाट एम्बुलेन्स खोजेर काठमाडौं पठाइयो ।’ पछिल्लो समय यज्ञराजले अस्वभाविक व्यवहार देखाउने गरेका छन् । रातमा नसुत्ने, बर्बराउने र निर्मलाको नाम लिदै रुने, गालीगलौज गर्दै बजारमा हिँड्न थालेका छन् ।
पछिल्लो समय यज्ञराजको मानसिक अवस्था अस्वभाविक रुपमा बिग्रिँदै गएपछि परिवार थप चिन्तामा परेका छन् । गत कार्तिक २५ गतेदेखि निर्मलाको परिवार न्यायको खोजीमा जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धारमा धर्नामा बसेका थिए ।
निर्मलाको बलात्कार तथा हत्या भएको झण्डै चार महिना पुग्नै लाग्दा समेत निर्मलाले न्याय पाउन सकेको छैन् । गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
घटना घटेको चार महिना पुग्नै लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । अझै न्यायको खोजीमा धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्थामा समस्या देखिएकाले परिवार निकै चिन्तामा परेको छ ।