एजेन्सी, मंसिर १९
इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली दिल्ली डेयर डेभिल्सले आफ्नो नाम परिवर्तन गरेको छ ।दिल्लीले मंगलबार एक समारोहका बीच नयाँ नाम र लोगो समेत सार्वजनिक गरेको हो । दिल्लीले नयाँ नाम दिल्ली क्यापिटल्स राखेको छ ।
दिल्ली अहिले सम्म आईपीएलमा फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । जसकारण पनि नाम परिवर्तन गरेको हुन सक्ने बुझिएको छ ।
दिल्लीबाट यसपटक पनि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने खेल्ने छन् । अघिल्लो संस्करणमा पनि दिल्लीबाट आईपीएल खेलेका सन्दीपले अन्तिम ३ खेलमा मौका पाउँदा ५ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरेका थिए ।
दिल्लीले यस सिजनका लागि ठूला नामहरुलाई टोलीबाट बाहिर राख्दा सन्दीप भने फेरीपनि दिल्लीमै रहने भएका हुन् ।दिल्लीले सनराइजर्स हैदराबादबाट ओपनर शिखर धवनलाई यसपटक टोलीमा ल्याएको छ ।
यसपटक आईपीएल नियमित हुँदै आएको मितिभन्दा केहि अगाडी सर्ने सम्भावना छ । मे महिनामा विश्वकप भएका कारण अप्रिलमा आयोजना हुँदै आएको आईपीएल यसपटक मार्चमा नै सुरु हुने प्रबल सम्भावना छ । क्रिकेट अष्ट्रेलियाले भने विश्वकपलाई मध्यनजर गर्दै यस सिजन विश्वकपमा सम्भावना भएका खेलाडीलाई आईपीएल खेल्न नदिने निर्णय लिएको छ ।