विराटनगर, मंसिर २०
यही शनिवारदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा १६ विदेशी खेलाडीले सहभागी हुने भएका छन् । प्रतियोगितामा सहभागी ६ ओटा टीमहरुमा भारत, इङल्यान्ड, आयरल्यान्ड, युएई, नेदरल्यान्ड्सलगायत मुलुकका गरी १६ खेलाडी अनुबन्ध भएका हुन् ।
प्रत्येक टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार चार क्लबले तीनरतीन तथा दुई क्लबले दुई , दुई विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।
शनिवारको उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ ।
राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुईरदुई खेल हुने ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिएका छन् ।
मङ्सिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किङ्ग्स ११, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले समेत मान्यता दिएको छ ।