विराटनगर,मंसिर २०
विराटनगरको प्रतिष्ठित तथा पहिलो सुपर मार्केट ‘नेपाल बजार’ नयाँ खुलेका सपिङ महलहरुसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुगेको छ । एक पछि अर्को सपिङ महल खुल्दै जाँदा ग्राहकको मन अन्तै मोडिन थालेपछि विराटनगरको महेन्द्र चौकमा विगत ८ वर्षदेखि सञ्चालनमा रहेको नेपाल बजार बन्द हुने अवस्थामा पुगेको हो ।
बन्द हुने अवस्थामा पुगेको सो नेपाल बजारले अहिले भारी छुट दिएर बाँकी स्टकका सामाग्रीहरु बेच्ने गरेको पाईएको छ । नेपाल बजारले अहिले खाद्यान्न सामाग्रीबाहेक अन्य समाग्रीमा ४० प्रतिशत सम्म छुट दिएको छ । बिक्रीको हल्लाका साथै भारी छुट दिएपछि नेपाल बजारमा ग्राहकहरुको थामीनसक्नु भीँड बढेको छ ।
नेपाल बजारमा सामाग्री किन्न आएका मोहम्मद जिब्रीलले नेपाल बजार बिक्री हुने हल्ला चलेको र स्टक सकाउन ५० प्रतिशत छुट दिएको सुनेर सामान किन्न आएको बताए । उनले भने‘नेपाल बजार बिक्रीमा छ भन्ने हल्ला थाहा भयो, त्यही भएर ५० प्रतिशत छुट दिएर बेचिरहेका छन् भन्ने सुनेको तर ४० प्रतिशत चैँ छुट दिएको रहेछ । हामी आउँदा धेरै सामान किन्नेको ठूलो भिँड थियो ।’ अर्का ग्राहक शान्ति दाहालले पनि नेपाल बजारले भारी छुट दिएको सुनेर सामान किन्न आएको बताईन् ।
२०६७ साल भदौ ७ गतेबाट सञ्चालनमा आएको नेपाल बजार एक समय निकै राम्रोसँग चलेको थियो तर अहिले आएर यसका अन्य ४ शाखाहरु समेत बन्द भईसकेका छन । टंकीसिनवारी,कञ्चनबारी,पुष्पलाल चौक र तीनपैनीमा सञ्चालनमा आएका नेपाल बजारका शाखाहरु यसअघि नै बन्द भईसकेका थिए । बजारमा नयाँ सुपरमार्केट खुलेपछि घाटा लागेकोले कर्मचारी पनि कटौती गरिएको बुझिएको छ ।
बजारमा बिक्रीको हल्ला चलिरहेका बेला नेपाल बजारका म्यानेजिङ डायरेक्टर कविन श्रेष्ठले भारी छुट दिएर सम्पुर्ण समानहरु सकभर बेच्ने आफुहरुको योजना रहेको र भबिष्यमा नचलेको खण्डमा बेच्न सकिने बताए । उनले छुटको कुरा सुनाएपछि ग्राहकहरु बढ्ने खालको समाज भएकोले भारी छुट दिएको पनि प्रष्ट पारे ।
नेपाल बजार बन्द हुने हल्ला चलेको भन्ने प्रश्नमा उनले भने ‘बजारमा के हल्ला छ भन्ने बिषय मलाई केही थाहा छैन । तर भविष्यमा के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन विराटनगरको नाङ्लो पनि बन्द हुन्छ भन्ने कसैलाई थाहा थिएन ।’
उनले भने ‘भोलि नाफा मुलक भएन भने जुनसुकै धन्दा पनि बन्द हुन्छ, नेपाल बजारमात्र नभनौँ यसै हिसाबमा हामीले चै बेचिसेकेको नेपाल बजारलाई जोगाउन खोजेका हौँ ।भविष्यमा चलेन भने भन्न सकिँदैन ।’ र्गामेन्टस्, फुटवेयर, भाँडाकुँडा, ईलेक्ट्रोनिक्स गुडहरुमा ४० प्रतिशत छुट दिएको र ग्राहकको भिँड बढेका कारण यसमा तलमाथि हुनसक्ने उनको भनाई छ ।