काठमाडौं, मंसिर २१
तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । शनिबारबाट सुरु हुने सो प्रतियोगिताको ट्रफी काठमाडौंमा बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
६ फ्रेन्चाइज टोलीका ६ कप्तानको सहभागीतामा ट्रफी सार्वजनिक गरिएको थियो । ईपीएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारीयर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरि ६ टिम रहेका छन् । राउण्ड रोविनका आधरमा हुने खेलमा शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् ।
यस पटक पोखरा राइनोजको कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गर्ने भएका छन् । काठमाडौंको कप्तानी सोमपाल कामी र चितवनको पृथु बास्कोटाले गर्ने छन् ।त्यस्तै विराटनगरको कप्तानी पारस खड्काले गर्नेछन् भने ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । प्रतियोगितामा भैरहवाको कप्तानी शरद भेषवाकरले गर्नेछन् ।
गत वर्ष पोखराको कप्तानमा शक्ति गौचन, चितवनमा दिपेन्द्रसिंह ऐरी र काठमाडौंमा श्रीलंकाका फरवेज महारूफ रहेका थिए । ईपीएलको विजेताले पाउने पुरस्कार रकम भने घोषणा गरिएको छैन । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले पुरस्कार राशी केहि दिनमै घोषणा गर्ने जानकारी दिए ।
ईपीएलमा शनिबार ललितपुर र विराटनगरबीच खेल हुने छ । खेल दिउँसो १ बजे किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । गत संस्करणमा विराटनगरले भैरवाहलाई १ रनले हराउँदै उपाधि जितेको थियो ।