युरोपा लिगः चेल्सी भिडी एफसीसँग रोकियो

युरोपा लिगः चेल्सी भिडी एफसीसँग रोकियो

एजेन्सी,मंसिर २८
जारी युरोपा लिग फुटबल अन्तरगत इंग्लिस क्लब चेल्स हंगेरीको भिडी एफसीसँग बराबरीमा रोकिएको छ । बिहीबार भिडीको घरेलु मैदानमा भएको खेलमा चेल्सी भिडीसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिनुपरेको हो । ३०औं मिनेटमा विलियनको गोल मद्दतमा चेल्सीले खेलमा १–० को अग्रता बनाएको थियो । तर, त्यसको २ मिनेटपछि चेल्सीका इथान अमपाडुले आत्मघाती गोल गरेपछि भिडी खेलमा फर्किएको थियो ।

कर्नरबाट आएको बलमा रोलान्ड जुहास्जको वान टच फ्लिक प्रहार चेल्सीका इथान अमपाडुलाई लाग्दै गोलमा परिणत भएको थियो । ५६औं मिनेटमा लोइक नेगोले गोल गरेपछि चेल्सी खेलमा २–१ ले पछि परेको थियो । काउन्टर एट्याकमा जर्जी मिलानोभले उपलब्ध गराएको पासलाई लोइकले भली प्रहारमा गोल गरे ।

७५औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओलिभर जिरुडले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको चेल्सी समुह ‘एल’ बाट समुह विजेता बन्यो । समुहमा एक खेलमा हार बेहोरेको चेल्सीले १६ अंक जोड्यो भने ७ अंक जोडेको भिडी समूह चरणबाटै बाहिरियो ।

यही समूहको अर्काे खेलमा बेट बोरिसोभले पाओक फुटबल क्लबमाथि ३–१ को जित निकाल्दै समुह उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो । बोरिसोभको जितमा निकोलाए सिङभिचले २ तथा माकिसमले एक गोल गरे । पाओकका एलेक्ससन्डर प्रिजोभिकले सान्त्वना गोल गरे ।

जितपछि बोरिसोभको ६ खेलबाट ९ अंक जोड्यो भने पाओक ३ अंक जोडेर पुछारमा रह्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.