एजेन्सी, पुस ५
जापानी क्लब काशीमा एन्टलर्सलाई पराजित गर्दै रियल म्याड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फरवार्ड ग्यारेथ बेलले ह्याट्रिक गरेपछि युरोपेली च्याम्पियन रियल क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
बुधबार सम्पन्न खेलमा काशीमालाई रियलले ३–१ ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो ।रियलले पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा बेलको गोल मार्फत अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुवातमै दुई गोल थप्दै बेलले ह्याट्रिक पूरा गरे । ५३ औं मिनेटमा अग्रता दोब्बर पारेका बेलले दुई मिनेटमै ह्याट्रिक प्रहार गरे ।
काशीमाका लागि शोमा डोईले ७८ औं मिनेटमा गोल फर्काएपनि उक्त गोल सान्त्वनामा नै सिमित भयो । रियलले अब फाइनलमा स्थानीय क्लब अल आइनको सामना गर्नेछ । अल आइनले रिभर प्लेटलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । शनिबार हुने फाइनलमा विजयी भए रियलले उपाधिमा ह्याट्रिक गर्नेछ ।