विराटनगर, पुस १२
प्रदेश नम्बर एकका प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले दाइजो प्रथा उन्मुलनगर्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् । इस्लामिक संघ नेपाल प्रदेश १ समितिले बिहीबार विराटनगरमा आयोजना गरेको दाइजो प्रथा,समाजमा यसको प्रभाव तथा कारण र निवारण बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् ।
उनले दाइजो प्रथाकै कारण महिलाहरुमाथि हिंसा हुनुका साथै समाजमा भ्रष्टाचार र अनियमितता लगायतका विकृति समेत बढेको बताए । प्रदेश प्रमुख तुम्बाहाङले कानुन बनाएर मात्र दाइजो प्रथालाई उन्मुलन गर्न नसकिने देखिएको बताउँदै उनले त्यसकालागि सामाजिक जागरण अभियान चलाउनुपर्ने आवश्यकता देखिएको विचार पनि ब्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पछिल्लो समय अन्य समुदायजस्तै मुस्लिम समुदायमा समेत दाइजोको कुप्रभाव बढदै गएको बताउदै दाइजो न्युनिकरणगर्न समाजलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले उचित शिक्षा बिना दाइजो प्रथा न्युनिकरण सम्भव नरहेको बताए । महानगरपालिकाले छोरी शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
पूर्व गृहराज्यमन्त्री रिजवान अंसारी युवाहरु प्रतिबद्ध भएर अघि बढे यो प्रथा न्युनिकरण गर्न सकिने बताए । आयोजक संस्थाका केन्द्रीय अध्यक्ष खुर्शीद आलम र कांग्रेस नेता हसन अंसारी लगायतका वक्ताहरुले समेत दाइजो प्रथा न्युनिकरणगर्न महिला शिक्षामा जोड दिनुपर्ने विचार ब्यक्त गरेका थिए । कार्यक्रममा सहभागि समुदायका युवायुवतीले दाइजो विरुद्धको सातबुंदे प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।