विराटनगर,पुस १३
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वातावरण संरक्षणमा प्रदेश सरकार सचेत रहेको बताएका छन् । सबैका लागि घर–घरमा मानव अधिकारः शान्ति र विकासको आधार भन्ने प्रमुख नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगद्धारा शुक्रबार विराटनगरमा आयोजित वातावरण, विकास र मानव अधिकार बिषयक एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले प्रदेश सरकारले वातावरणमैत्री भएर नै आफ्ना योजना र कार्यक्रमहरु बनाएको प्रष्ट पारेका हुन् ।
मुख्यमन्त्री राईले स्वच्छ वातावरणमा बाँंच्न पाउने संविधानबाट प्रदत्त अधिकारलाई प्रदेश सरकारले पनि सुनिश्चित गर्ने बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले तयार पारिरहेको आवधिक योजनामा वातावरणमैत्री भएर योजनाहरु बनाई रहेको स्पष्ट गर्दै मुख्यमन्त्री राईले प्राकृतिक उपहारका रुपमा रहेका सम्पदालाई संरक्षण, सम्वद्र्धन र विकास गर्न वातावरणलाई पनि उत्तिकै ध्यान दिएको कुरामा जोड दिए ।
कार्यक्रमले प्रदेश सरकारलाई खबरदारी र दवाव सृजना गरेको भन्दै उनले वातावरण, विकास र मानवअधिकार बीच सन्तुलन कायम गर्न सरकार संवेदनशील भएर लाग्ने पनि बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले अहिलेकै स्थितिमै नेपाल अघि बढ्ने हो भने अबको १० वर्ष पछि वातावरणको दृष्टिले नेपालको अवस्था भयावह हुने र पानी, जमिन, हावापानी सबै प्रदूषित हुने खतरा रहेको भन्दै प्रदेश सरकारको ध्यान आकर्षण गराए ।
प्रदेश १ का मुख्यसचिव केदार न्यौपानेले प्रदेश १ मा वातावरण प्रदूषण हुने जोखिम क्षेत्रको पहिचान गरी सुरक्षा र बचावटको कार्य गर्ने वताए । मानवअधिकार अधिकृत गीताकुमारी दाहालले आयोगले बिगत तीन वर्ष देखि वातावरणको क्षेत्रमा काम गरिरहेको, मानव अधिकारको सम्मान गर्दा वातावरणलाई पनि स्वच्छ, संरक्षण एवं सम्बद्र्धन गर्नु पर्ने र यसका बिषयमा प्रभावकारी कदम चाल्ने समय आइसकेको बताइन् ।