काठमाडौं,पुस १४
काठमाडौंको दक्षिणकालीमा ६ सय रोपनी क्षेत्रफलमा फैलिएको बिशाल फुटवेयर जोन निर्माण हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसन र उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको अगुवाईमा जुत्ता चप्पल उद्योग मात्रै रहने फुटवेयर जोन निर्माणको काम अघि बढेको हो ।
फुटवेयर जोन निर्माणका लागि एसोसियसनले दक्षिणकाली नगरपालिकामा ६ सय रोपनी जमिन खरिद गरिसकेको छ । पुस महिनाभित्रै फुटवेयर जोनको शिलान्यस हुने एसोसियसनका पुर्व अध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिए । ‘यहि महिना शिलान्यस गरेर डोजर चलाउन सुरु गर्छाै, सरकारले पूर्वाधार बनाईदिन्छ, हामी उद्योग खोल्छौं’, श्रेष्ठले भने । आगामी ३ बर्षभित्र काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योगहरु फुटवेयर जोनमा सर्नेछन् ।
जोनमा १७० वटा उद्योग स्थापना हुनेछ जसमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना हुनेछन् । जग्गा खरिदको काम सम्पन्न भैसकेको श्रेष्ठले जानकारी दिए ।
तत्कालिन उद्योग मन्त्री महेश बस्नेतको योजनामा फुटवेयर जोनको अवधारणा अघि बढेको थियो । त्यसलाई नविन्द्रराज जोशी र सुनिल बहादुर थापाले समेत अपनत्व लिएर अघि बढाएका थिए । फुटवेयर जोनका लागि सरकारले बहुवर्षिय योजनामा राखेर बजेट विनियोजन गरिरहेको छ । फुटवेयर जोन स्थापनाका लागि एक सय भन्दा बढी जुत्ता चप्पल उद्योगी सहभागी भएका छन् । दक्षिणकालीको फुटवेयर जोन हटौँडापछिको दोश्रो उद्योग ग्राम हुनेछ । (विकास न्युजबाट)