विराटनगर जान्छु भनेर हिँडेका ठेकेदार भट्टराई बेपत्ता

विराटनगर जान्छु भनेर हिँडेका ठेकेदार भट्टराई बेपत्ता

धरान,पुस २५

यहाँका निर्माण व्यवसायी अनुज भट्टराई सोमबार बिहानदेखि बेपत्ता भएका छन् । बिहान ८ बजे विराटनगर जान्छु भनेर हिँडेका उनी हालसम्म नफर्किएको परिवारले जनाएको छ ।

विराटनगर सडक डिभिजन कार्यालयमा भुक्तानी लिन भनेर उनी घरबाट गएका थिए । भट्टराई २४ घण्टा बितिसक्दा पनि सम्पर्कमा नआएपछि अपहरण भएको आशङ्का परिवारजनले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बुबा रमेश भट्टराईले जानकारी दिए ।

परिवारले ९ बजेतिर फोन गर्दा फोन सम्पर्क भएको थिएन । बाह्र बजेतिर छोराको मोबाइलबाट ‘अनुज मसँग छ, पछि कल गरौला बाई’ भनेर म्यासेज आएको बुबा रमेशले बताए ।

उनले धरान–भेडेटार सडकखण्डमा पर्ने निसाने पहिरोको मर्मत ठेक्का लिएका थिए । सडक डिभिजन कार्यालय विराटनगरमा ४० लाखको भुक्तानी लिन गएका थिए ।

उनी सोमबार कार्यालयमा नआएको सडक डिभिजन कार्यालयले जनाएको छ । प्रहरीले मोबाइल ट्रेस गर्दा पूर्वतिर लागेर काँकडभिट्टासम्म मोबाइल टावर देखिएको जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बिहान ८ः३० बजे भानुचौकमा हिँड्दै गरेको अवस्थामा सिसी क्यामेराको फुटेजमा देखाएको बताइएको छ । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.