विराटनगर, पुस २७
विराटनगरमा सम्पन्न प्रेसिडेन्ट कप जूनियर अन्र्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १५ र १९ वर्षमूनिको उमेर समूहमा प्रिन्स दाहालले उपाधि हात पारेका छन् । त्यसैगरि, महिलातर्फ १५ वर्षमूनि रशिला महर्जन र १९ वर्षमूनि जेसिका गुरुङले उपाधि हात पारेका छन् । विराटनगरको सहिद रङशालास्थित कभर्डहलमा शुक्रबार सम्पन्न प्रतियोगितामा प्रिन्स दाहालले १९ वर्षमूनिको समूहमा समकक्षी प्रफुल्ल महर्जनलाई दुइ शुन्यको सेटमा पराजित गरेका थिए ।
पहिलो सेट २१–८ ले जित हात पारेका दाहालले दोश्रो सेटपनि सहज २१–१० ले महर्जनलाई स्तब्ध बनाउन सफल भएका छन् । जित हात पारेका दाहालले ट्रफीसहित २२ हजार ४ सय रुपैया हात पारे । त्यसैगरि, महिलातर्फको १९ वर्षमूनि जेसिकाले रशिला महर्जनलाई दुइ शुन्यको सेटमा स्तब्ध बनाएकी थिइन् । ट्रफीसहित २२ हजार ४ सय रुपैया“ नगद हात पारेकी जेसिकाले खेल २४–२२ र २१–१४ ले जितेकी थिइन् । प्रतियोगिता अन्र्तगत सोही उमेर समूहको डबल्समा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले म्यानमारका ज लिन ह्युटु र थु रिइनलाई दुइ एकको सेटमा हराएको थियो। डबल्सको उपाधि हात पार्ने क्रममा महर्जन जोडीले खेल १९–२१, २१–१७ र २१–१८ ले जित हात पारेको थियो।
त्यसैगरि महिलातर्फ जेसिका गुरुङ र रशिला महर्जनको जोडीले नेपालकै सीमा राजवंशी र नीता लम्सासको जोडीलाई २१–१२ र २१–३ ले हराएको थियो । त्यसैगरि, पुरुष १५ वर्षमूनिको खेलमा प्रिन्स दाहालले म्यानमारका ज लिन ह्युटुलाई दुइ एकको सेटमा हराए। उपाधि हात पारेका दाहालले पहिलो सेट २१–१५ ले जितेका थिए । यद्यपि दोश्रो सेटमा ह्युटुले २१–१७ ले आफ्नो पक्षमा पारे।
अन्तत रोमान्चक बनेको अन्तिम खेलमा दाहालले ह्युटुलाई २१–९ले स्तब्ध बनाए । त्यसैगरि, सोही उमेर समूह अन्र्तगत महिलातर्फ रशिला महर्जनले स्मृति राई २१–७ र २१–३ ले हराउदै उपाधि हात पारिन् । नेपाल ब्याडमिन्टन संघको मुख्य आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधि विजेता खेलाडीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा नेपालसहित भारत र म्यानमारबाट गरि कुल ७६ खेलाडीको सहभागिता रहेको रेफ्री किरण कारन्जीतले जानकारी दिए । प्रतियोगिताका लागि म्यानमारबाट ३ र भारतबाट २ खेलाडीको सहभागिता रहेको कारन्जीतले बताए ।