विराटनगर, पुस २९
प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७५ को उपाधि नेपाल आर्मीले उचालेकोे छ । मोरङको बुढीगंगा गांउपालिका ३ स्थित जनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आइतबार सम्पन्न फाइनल खेलमा भारतको टिमलाई पराजित गर्दै नेपाल आर्मीले उपाधि चुमेको हो ।
समान ६/६ अंक हासिल गरेर फाइनलमा उत्रिएको आर्मीले भारतीय टिमलाई ४०÷१३ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा अन्तर्राष्टिय नियम अनुसार बंगलादेश र श्रीलंका तेश्रो भएका छन् । खेल समापनको अवसरमा विजेता र उपविजेता टोलीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रदेश १ का बन तथा वातावरण मन्त्री जगदिश कुसियैतले विजेता टोलीलाई शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरे । गएको पौष २७ गतेबाट मोरङ जिल्ला कबड्डी संघको आयोजनामा पहिलो पटक प्रदेश एकमा प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपाल आयोजक टिम सहित नेपाल आर्मी,भारत,बंगलादेश र श्रीलंकाको टोली सहभागि भएका थिए ।